एजेन्सी । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा संयुक्त अरब इमिरेट्स (युएई) को अबु धाबीमा भएको दुई दिने वार्तामा रुस र युक्रेन ठूलो संख्यामा बन्दी साटासाट गर्न सिद्धान्ततः सहमत भएका छन् । तर, युद्धविराम र क्षेत्रीय विवाद जस्ता मुख्य विषयमा भने कुनै सहमति वा प्रगति हुन सकेन ।

अमेरिकी दूत ज्यारेड कुश्नरले अबु धाबीमा बुधबार यस सम्झौताको घोषणा गर्दै बन्दीहरूको अन्तिम संख्या बिहीबार टुंगो लगाइने जानकारी दिए । उनले यसलाई हालसम्मकै ठूलो मानवीय बन्दी रिहाइको सहमति भनेका छन् । युक्रेनका मुख्य वार्ताकार रुस्तेम उमरोभ र रुसी वार्ताकार भ्लादिमिर मेडिन्स्कीले पनि बन्दी साटासाटको योजनालाई पुष्टि गरेका छन् ।

यसअघि मङ्गलबार युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले दुवै तर्फबाट १ हजार/१ हजार जना बन्दी साटासाट गर्ने विषयमा छलफल भइरहेको र यो संख्या बढेर १ हजार ५ सय सम्म पुग्न सक्ने बताएका थिए ।

गत फेब्रुअरीमा जेनेभामा भएको वार्ता असफल भएपछि, नौ महिनायता किभ र मस्कोबीच भएको यो पहिलो प्रत्यक्ष वार्ता हो । यसअघि मे २०२५ मा इस्तानबुलमा भएको वार्तामा पनि युद्धविराम नभए तापनि दुवै देशले १ हजार/१ हजार बन्दी साटासाट गर्न सहमति जनाएका थिए ।

वार्तापछि अमेरिकी दूत ज्यारेड कुश्नर र स्टिभ विटकफ बिहीबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न मस्को जाने कार्यक्रम छ । त्यसपछि उनीहरू युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग छलफलका लागि डब्लिन प्रस्थान गर्नेछन् ।

वार्तामा युद्धविराम र भूभागको मुद्दामा भने दुवै पक्ष आफ्नै अडानमा कायम रहे । रुसले किभको नियन्त्रणमा रहेको पूर्वी डोनबास क्षेत्रबाट युक्रेनी सेना फिर्ता हुनुपर्ने अडान दोहोर्याएको छ भने जेलेन्स्कीले सीमा र भूभागसम्बन्धी निर्णय दुई देशका शीर्ष नेताहरूको तहबाट मात्र हुनुपर्ने बताउँदै आएका छन् । यस्तै, मस्कोले व्यापक सुरक्षा व्यवस्थापन नभएसम्म तत्काल युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गरेको छ ।

अबु धाबीमा युरोपेली प्रतिनिधिहरू पनि उपस्थित रहे तापनि उनीहरूले युक्रेन र अमेरिकासँग मात्र छुट्टै परामर्श गरेका थिए र त्रिपक्षीय वार्तामा प्रत्यक्ष भाग लिएनन् । रुसी मुख्य वार्ताकार मेडिन्स्कीले आफ्नो टोलीले युरोपेली प्रतिनिधिहरूसँग कुनै संवाद नगरेको र उनीहरूको उपस्थितिको औचित्यमाथि प्रश्न उठाएको बताए ।

उनले युरोपेली देशहरूबाट कुनै ठोस शान्ति प्रस्ताव वा पहल नआएको टिप्पणी समेत गरे । यद्यपि, अमेरिकाले भविष्यमा युरोपको सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल विस्तार हुँदा युरोपेली देशहरू पनि वार्तामा सहभागी हुनुपर्ने सङ्केत गरेको छ ।

रुस र युक्रेनबीच ठूलो संख्यामा बन्दी साटासाट गर्ने सहमति, युद्धविराम भने हुन सकेन

Read Complete Original Article
Published originally on विश्वखबर