काठमाडौं । रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास तीव्र पारिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार युक्रेन, अमेरिका र रुसका अधिकारीहरूबीच एक साताभित्र त्रिपक्षीय वार्ता हुन सक्ने बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जेरेड कुशनरसँगको भेटपछि जेलेन्स्कीले यस्तो जानकारी दिएका हुन् । दुवै अमेरिकी प्रतिनिधिसँग करिब डेढ घण्टा विस्तृत छलफल भएको उनले बताएका छन् । एक साताभित्र त्रिपक्षीय वार्ताको तयारी सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै जेलेन्स्कीले युक्रेन, अमेरिका र रुसका प्रतिनिधिमण्डलबीच त्रिपक्षीय वार्ताको तयारी भइरहेको बताएका छन् । उक्त वार्ता एक साताभन्दा कम समयभित्र हुन सक्ने उनको भनाइ छ । ब्रसेल्समा युक्रेनको पुनर्निर्माणबारे छलफल जेलेन्स्कीका अनुसार ब्रसेल्समा युक्रेनको युद्धपछिको पुनर्निर्माणबारे पनि महत्त्वपूर्ण बैठक भएको छ । बैठकमा युक्रेन, अमेरिका, युरोपेली संघ (ईयू), फ्रान्स, बेलायत, जर्मनी, नेटो, विश्व बैंक र अन्तर्राष्ट्रिय व्यावसायिक क्षेत्रका प्रतिनिधि सहभागी थिए । उनले शुक्रबार ब्रसेल्समा अर्को बैठक प्रस्ताव गरिएको जानकारी दिँदै त्यसमा युक्रेनको सुरक्षा प्रत्याभूतिसम्बन्धी विषयमा छलफल हुने बताए । युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र बनाउनुपर्नेमा जोड दिँदै जेलेन्स्कीले युक्रेन वार्तामार्फत समाधान खोज्न तयार रहेको र आफ्ना प्रस्ताव अमेरिकी पक्षलाई स्पष्ट रूपमा प्रस्तुत गरिसकेको बताएका छन् । प्याट्रियट मिसाइल प्रणालीका इन्टरसेप्टर आवश्यक जेलेन्स्कीले अमेरिकासँगको छलफलमा हवाई सुरक्षालाई प्रमुख प्राथमिकताका रूपमा उठाएका छन् । रुसी आक्रमणबाट नागरिकको ज्यान जोगाउन प्याट्रियट हवाई रक्षा प्रणालीका इन्टरसेप्टर मिसाइल तत्काल आवश्यक रहेको उनले बताएका छन् । उनले अमेरिकासँग द्विपक्षीय सहकार्य निरन्तर अघि बढाउने र प्रस्तावित ड्रोन सम्झौताअन्तर्गत सहयोग विस्तार गर्ने विषयमा पनि जोड दिएका छन् । युक्रेनको सार्वभौमिकता र कूटनीतिक प्रयासमा अमेरिकी समर्थनप्रति उनले आभार व्यक्त गरेका छन् । युद्ध अन्त्यसँगै त्यसपछि युक्रेनको सुरक्षा सुनिश्चित गर्ने बलियो प्रत्याभूति आवश्यक रहेको उनको भनाइ छ । यद्यपी, कूटनीतिक प्रयास भइरहँदा युक्रेनका विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी छ । नोभेम्बर ३ मा राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले रातभर गरेको ठूलो आक्रमणमा कम्तीमा २९ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको दाबी गरेका थिए । उनका अनुसार रुसी सेनाले २८९ आक्रमणकारी ड्रोन, १७ ब्यालिस्टिक मिसाइल र ५९ क्रुज मिसाइल प्रहार गरेको थियो । आक्रमणको मुख्य निशाना ऊर्जा पूर्वाधार थिए । विद्युत् उत्पादन केन्द्र र सबस्टेसनमा समेत क्षति पुगेको थियो । यसअघि अमेरिकी विशेष दूत स्टिभ विटकफले वासिङ्टनले रुस र युक्रेनबीच अधिकारीस्तरको वार्ता गराउन मध्यस्थता गर्ने बताएका थिए । त्यसका लागि नोभेम्बर १० र ११ मा संयुक्त अरब इमिरेट्सको आबुधाबीमा वार्ता गर्ने प्रस्ताव अघि सारिएको छ । प्रस्तावित वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्यूनीकरण, मानवीय सहायता र शान्ति सम्झौताका लागि चाल्नुपर्ने कदमबारे छलफल हुने अपेक्षा गरिएको छ । यद्यपि, त्रिपक्षीय वार्ताको तयारी र आबुधाबीमा प्रस्तावित बैठकले युद्ध अन्त्य गर्ने ठोस सहमति जुटाउने निश्चित भइसकेको छैन । एएनआई
रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न तीव्र प्रयास

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु


_CtEpYGPjdK.webp)



