काठमाडौं। रुसका लागि जासुसी गरेको आशङ्कामा बेलायतमा अमेरिकी सेनाका एक २१ वर्षीय सैनिक पक्राउ परेका छन्। बेलायती आतङ्कवादविरोधी प्रहरीले मङ्गलबार ग्लुचेस्टर नजिकैबाट उनलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनलाई राष्ट्रिय सुरक्षा ऐन २०२३ को दफा १ र दफा ३ अन्तर्गत पक्राउ गरिएको छ। ऐनको दफा १ ले सुरक्षित सूचना सङ्कलन वा खुलासा गर्नेसँग सम्बन्धित विषय समेट्छ भने दफा ३ ले विदेशी गुप्तचर सेवालाई सहयोग गर्नेसँग जोडिएको छ। यस अनुसन्धानको सिलसिलामा अधिकारीहरूले ग्लुचेस्टरशायरका दुई स्थानमा खोजी गरिरहेका छन्। बीबीसीका अनुसार ती सैनिक ग्लुचेस्टरशायरको इन्स्वर्थस्थित इम्जिन ब्यारेक्समा कार्यरत थिए। उक्त ब्यारेक्स नाटोको एलाइड र्यापिड रियाक्सन कोरको मुख्यालयका रूपमा रहेको छ, जुन नाटो गठबन्धनका लागि एक रणनीतिक परिचालन आधार मानिन्छ। आतङ्कवादविरोधी प्रहरीले यो घटना अन्य कुनै पनि जारी अनुसन्धानसँग सम्बन्धित नरहेको स्पष्ट पारेको छ। एफबीआईका निर्देशक काश पटेलले एक विज्ञप्ति जारी गर्दै यो गिरफ्तारीलाई गम्भीर रूपमा लिएका छन्। उनले भने, ‘यो महत्त्वपूर्ण गिरफ्तारीमा जासुसीका आरोपहरू सामेल छन्। यो संयुक्त राज्य अमेरिका र हाम्रा सहयोगीहरूका लागि अत्यन्तै चिन्ताको विषय हो।’
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ

Read Complete Original Article
Published originally on नेपालन्युज





