काठमाडौँ । अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले बेहोरेको ठुलो पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानप्रतिको नीति क्रमशः नरम बन्दै गएको विश्लेषण सार्वजनिक भएको छ । अमेरिकी विदेश नीति विश्लेषक तथा सेन्टर फर इन्टरनेसनल पोलिसीका वरिष्ठ फेलो नेगार मोर्टाजाभीले ट्रम्प प्रशासनमाथि घरेलु राजनीतिक दबाब बढेको र क्षेत्रीय शक्ति सन्तुलन परिवर्तन हुँदै गएकाले इरानसँग थप सैन्य तनाव चर्काउने सम्भावना घट्दै गएको बताएकी छन् । ट्रम्प स्वयंले पनि इरान युद्ध अब आवश्यक नभएको तथा लगभग अन्त्य भएको धारणा सार्वजनिक गरिसकेका छन् । मोर्टाजाभीका अनुसार रिपब्लिकन पार्टीको निर्वाचनमा पराजयले युद्धलाई निरन्तरता दिने राजनीतिक लागत उल्लेखनीय रूपमा बढाएको छ । उनले अमेरिकी उपराष्ट्रपति जेडी भान्सले समेत उक्त पराजयको एक कारण युद्धलाई मानेको उल्लेख गर्दै थप सैन्य आक्रामकता अब राजनीतिक रूपमा महँगो बन्दै गएको टिप्पणी गरिन् । उनले मध्यावधि निर्वाचनमा डेमोक्र्याटहरूको सफलताले युद्धविरोधी धारलाई थप बलियो बनाएको बताइन् । उनका अनुसार प्रगतिशील तथा युद्धविरोधी उम्मेदवारहरूको प्रभावशाली प्रदर्शनले डेमोक्र्याटिक पार्टीभित्र युद्ध अन्त्यको पक्षमा एकीकृत दबाब सिर्जना गरेको छ । यसले पार्टीका मध्यमार्गी नेतृत्वसमेत युद्ध अन्त्यका प्रयासको पक्षमा उभिन थालेको उनको भनाइ छ । मोर्टाजाभीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको राजनीतिक स्थिति कमजोर बन्दै जानुलाई पनि महत्वपूर्ण कारक मानेकी छन् । उनले नेतान्याहुलाई ट्रम्पको युद्ध रणनीतिका मुख्य साझेदारका रूपमा चित्रण गर्दै उनको कमजोर अवस्थाले पनि सैन्य विकल्पको सम्भावना घटाएको बताइन् । यद्यपि तत्काल कुनै कूटनीतिक उपलब्धि सुनिश्चित नभएको उनको भनाइ छ । तर युद्ध चर्काउने राजनीतिक तथा रणनीतिक लागत बढ्दै गएकाले अमेरिका–इरान तनाव पुनः व्यापक सैन्य सङ्घर्षमा रूपान्तरण हुने जोखिम भने कम भएको उनको निष्कर्ष छ । विश्लेषकहरूका अनुसार अमेरिकी निर्वाचन परिणाम, डेमोक्र्याटिक पार्टीभित्र बढ्दो युद्धविरोधी धार र इजरायलको बदलिँदो राजनीतिक समीकरणले वासिङ्टनको मध्यपूर्व नीति पुनः कूटनीतिक दिशातर्फ मोडिन सक्ने सङ्केत देखिएको छ ।
रिपब्लिकन पार्टीको पराजयपछि ट्रम्पको इरान नीति नरम बन्दै, युद्ध थप लम्बिने सम्भावना कमजोर

Read Complete Original Article
Published originally on टक्सार


.jpg)



