काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका प्रशिक्षण, अधिवेशन तथा अन्य कार्यक्रममा प्रयोग हुँदै आएका झोलाको विकल्पमा फाइल र स्मार्ट डायरी प्रयोग गर्ने अभियान सुरु गर्नुभएको छ । शनिबार कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभापति लामिछानेले राजनीतिक दलका कार्यकर्तालाई ‘झोले’ भनेर आलोचना गर्ने प्रवृत्तिबाट बाहिर निस्कन पार्टीले नयाँ अभ्यास सुरु गर्न लागेको बताउनुभयो । उहाँले राजनीतिक दलको विचार, सिद्धान्त, आदर्श र नेतृत्व मन पराएर राजनीतिमा लाग्ने व्यक्तिलाई ‘झोले’ भनेर अपमानित गर्ने गरिएको उल्लेख गर्दै रास्वपालाई यस्तो पहिचानबाट बाहिर निकाल्नुपर्ने धारणा राख्नुभयो । लामिछानेले प्रशिक्षण कार्यक्रमबाटै रास्वपालाई ‘झोले युग’ बाट बाहिर निकाल्ने सोच बनाएको बताउनुभयो । उहाँले पार्टीका कार्यक्रमहरूमा सहभागीलाई वितरण गरिँदै आएको झोलाको विकल्पमा जनताका मुद्दा, गुनासा र सुझाव राख्न मिल्ने फाइल प्रयोग गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । उक्त फाइलमा आवश्यक कागजातसँगै ल्यापटप, आईप्याड तथा अन्य सामग्रीसमेत राख्न सकिने उहाँको भनाइ थियो । ‘हामी झोला बोक्ने होइनौँ, हामी पछि लाग्ने होइनौँ, सँगै हिँड्ने हो । झोलालाई छोडेर अब यस्तो एक किसिमको स्मार्ट डायरी सुरु गरौँ,’ उहाँले भन्नुभयो । सभापति लामिछानेले पार्टीलाई विभिन्न संस्था, गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको आर्थिक सहयोग र प्रायोजनबाट मुक्त राख्नुपर्नेमा समेत जोड दिनुभयो । पार्टीले आफ्नै स्रोतबाट कार्यक्रम सञ्चालन गर्ने र सहभागीले आफ्नो क्षमताअनुसार आवश्यक सामग्री खरिद गर्ने व्यवस्था मिलाउनुपर्ने उहाँको भनाइ थियो । ‘कसैलाई कुनै आयोजक, प्रायोजक हाम्रा लागि चाहिँदैन । अब झोलाको युगबाट निस्केर फाइलको युगमा आइसकेपछि हामी आफैँ गर्ने, हुनेले किन्ने, नहुनेको हुने साथीले किनिदिने अभियान सुरु गरौँ,’ उहाँले भन्नुभयो । लामिछानेले प्रशिक्षण कार्यक्रममा सहभागी हुन मुगु, कालिकोट, हुम्ला र जुम्लालगायतका जिल्लाबाट आएका कार्यकर्तालाई आर्थिक भार नपरोस् भन्ने उद्देश्यले व्यक्तिगत रूपमा कम्तीमा १० जना सहभागीका लागि फाइल खरिद गरिदिने घोषणा पनि गर्नुभयो । उहाँले आर्थिक अवस्था कमजोर भएका कार्यकर्ताले सामग्री खरिद गर्न नसकेमा पार्टीभित्रकै आर्थिक रूपमा सक्षम साथीहरूले सहयोग गर्नुपर्ने बताउनुभयो । सहभागीलाई झोला वितरण नगर्न आग्रह गर्दै उहाँले अबदेखि पार्टीका प्रशिक्षण, अभियान, अधिवेशन तथा महाधिवेशनमा फाइल प्रयोग गर्ने अभ्यासलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।
रास्वपाले झोला त्यागेर फाइल र डायरी प्रयोग गर्छ : सभापति लामिछाने

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






