जनकपुरधाम । जनकपुरधाममा आयोजना हुने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको निमन्त्रणा दिन जनकपुरधामबाट एक टोली भारतको अयोध्या प्रस्थान गरेको छ । जानकी मन्दिर, जनकपुरधाम उपमहानगरपालिका, विश्व हिन्दु परिषद् तथा जनकपुरधामको नागरिक समाजका प्रतिनिधिहरू सम्मिलित टोली रामजन्मभूमि अयोध्याका लागि प्रस्थान गरेको हो । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले विवाहपञ्चमी महोत्सव जनकपुरधाम र अयोध्याबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने अवसर भएको बताउनु भयो । त्रेतायुगमा राजा जनकले सीता-राम विवाहका लागि अयोध्याका राजा दशरथलाई निमन्त्रणा पठाएको प्रसङ्ग स्मरण गर्दै उहाँले सोही परम्परालाई पुनः जीवन्त बनाउन आफूहरू अयोध्या जान लागेको बताउनु भयो । विवाहपञ्चमीको निमन्त्रणा दिन अयोध्या जाने टोलीले आजदेखि औपचारिक रूपमा यात्रु सेवा सुरु गरेको सरयू-कमला एक्सप्रेस रेलमार्फत यात्रा गरेको हो । टोलीले अयोध्याका लागि निमन्त्रणासँगै लत्ताकपडा, गरगहना, भाँडाकुँडालगायतका सामग्री समावेश गरिएको भारसमेत लगेको छ । जनकपुरधाममा प्रत्येक वर्ष साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सवमा सीता-राम विवाहको धार्मिक परम्परालाई विशेष उत्सवका रूपमा मनाउने गरिन्छ ।
विवाहपञ्चमीको निम्तो दिन जनकपुरधामबाट टोली अयोध्या प्रस्थान

Read Complete Original Article
Published originally on हिमालय टाइम्स




.jpeg)

