काठमाडौं।राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच आज राष्ट्रपति भवनमा भेटवार्ता भएको छ। भेटका क्रममा सभामुख अर्यालले संघीय संसद्ले आयोजना गर्न लागेको अन्तर व्यवस्थापिका संघ (आईपीयू) अन्तर्गतको दिगो विकाससम्बन्धी स्थायी समितिको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलनबारे राष्ट्रपतिलाई जानकारी गराएका थिए। त्यसैगरी, तान्जानियाको अरुसामा सम्पन्न आईपीयूको १५३औं महासभामा नेपालले प्रस्तुत गरेको जलवायुजन्य विपद्सम्बन्धी आपतकालीन प्रस्ताव दुईतिहाइ भन्दा बढी मतले पारित भएको विषयमा पनि जानकारी गराएका थिए। भेटमा संसद्को अधिवेशन आह्वान, संसद्लाई नियमित तथा प्रभावकारी रूपमा सञ्चालन गर्ने र राजनीतिक दलहरूसँगको छलफलका विषयमा कुराकानी भएको थियो। सभामुख अर्यालले सात वटै प्रदेशका सभामुख तथा उपसभामुखसहित प्रदेशसभा पदाधिकारीहरूसँग राष्ट्रपति र सभामुखको सामूहिक भेटघाट तथा छलफल गर्ने योजनाबारे पनि जानकारी गराएका थिए। सो अवसरमा राष्ट्रपति पौडेलले संसदमा जति धेरै बहस र छलफल हुन्छ, त्यति नै लोकतन्त्र बलियो हुने बताएका थिए। संसदमा हुने विचारविमर्शले लोकतान्त्रिक अभ्यासलाई थप सुदृढ बनाउने उल्लेख गर्दै उनले सरकारका काम कारबाहीबारे समेत चासो राखेका थिए। भेटमा अन्य समसामयिक विषयमा पनि छलफल भएको थियो।
राष्ट्रपति पौडेल र सभामुख अर्यालबीच भेटवार्ता

Read Complete Original Article
Published originally on नेपालन्युज






