रसुवा बाढीका बेपत्तालाई मृत घोषणा गर्ने प्रक्रिया सुरु, मकवानपुरका ५८ जना सूचीमा

हेटौँडा । रसुवाको भोटेकोशीमा आएको बाढीमा परी बेपत्ता भएका व्यक्तिलाई कानुनी रूपमा मृत घोषणा गर्ने प्रक्रिया मकवानपुरमा पनि सुरु गर्ने तयारी भएको छ । सरकारले बेपत्ता व्यक्तिलाई मृत घोषणा गर्न लाग्ने कानुनी अवधि घटाएपछि मकवानपुरमा रहेका ५८ जना बेपत्ताको विवरण संकलन तथा आवश्यक प्रक्रिया अघि बढाउन लागिएको हो । गत असोज २३ गते जारी ‘विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ ले बेपत्ता व्यक्तिलाई कानुनी रूपमा मृत घोषणा गर्न लाग्ने अवधि १२ वर्षबाट घटाएर ४५ दिन कायम गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार अध्यादेश कार्यान्वयनका लागि प्राप्त परिपत्रपछि असोज २७ र २८ गते जिल्लाका सबै स्थानीय तहलाई आवश्यक निर्देशन तथा कार्यविधिसहित पत्राचार गरिएको थियो । दसैँ बिदाका कारण प्रक्रिया अघि बढाउन ढिलाइ भएको र कार्यालय सञ्चालनमा आएपछि स्थानीय तहका वडा कार्यालयहरूले बेपत्ता व्यक्तिका परिवारबाट निवेदन माग गर्न सूचना जारी गर्न थालेका छन् । यस्तो छ मृत घोषणा गर्ने प्रक्रिया कार्यविधिअनुसार सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा रहेको वडा विपद् व्यवस्थापन समितिले निर्णय गरी पाँच दिनको सूचना जारी गर्नुपर्नेछ । सूचनापछि बेपत्ता व्यक्तिका एकाघरका सदस्यले तोकिएको अवधिभित्र आवश्यक कागजात र विवरणसहित स्थायी वा अस्थायी ठेगाना रहेको वडा कार्यालयमा निवेदन दिन सक्नेछन् । एकाघरका सदस्य कोही नभएको अवस्थामा वडा सचिव र स्थानीय प्रहरीको रोहबरमा स्थलगत मुचुल्का अर्थात् सर्जमिन तयार गरी बेपत्ता व्यक्तिको विवरण पेस गर्नुपर्ने व्यवस्था गरिएको छ । वडा कार्यालयमा प्राप्त निवेदन र विवरणमाथि आवश्यक जाँचबुझ गरेपछि स्थानीय तहले जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउनेछ । जिल्ला समितिले व्यक्ति बेपत्ता भएको प्रमाणित गरी गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सिफारिस गर्नेछ । प्राधिकरणको कार्यकारी समितिले प्राप्त विवरण अध्ययन गरी नेपाल सरकारसमक्ष अन्तिम सिफारिस गर्ने कार्यविधिमा उल्लेख छ । सोही सिफारिसका आधारमा सरकारले सामूहिक रूपमा बेपत्ता व्यक्तिलाई कानुनी रूपमा मृत घोषणा गर्न सक्ने व्यवस्था अध्यादेशले गरेको छ । सरकारबाट मृत घोषणा भएपछि सम्बन्धित परिवारले वडा कार्यालयबाट निःशुल्क मृत्युदर्ता प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् । त्यसपछि राहत, क्षतिपूर्ति, बीमा, पेन्सन तथा सम्पत्ति हस्तान्तरणलगायतका कानुनी प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ । मकवानपुरका ५८ जना अझै बेपत्ता जिल्ला प्रशासन कार्यालय मकवानपुरको एकीकृत प्रतिवेदनअनुसार गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परी मकवानपुरका चार जनाको मृत्यु भएको थियो भने ५८ जना अझै बेपत्ता छन् । प्रतिवेदनअनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित हेटौँडा उपमहानगरपालिकामा तीन जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता छन् । थाहा नगरपालिकाका २० जना बेपत्ता भएका छन् । त्यस्तै, भीमफेदी गाउँपालिकामा एक जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । मनहरी गाउँपालिकाका चार जना, मकवानपुरगढी गाउँपालिकाका तीन जना, बकैया गाउँपालिकाका तीन जना, कैलाश गाउँपालिकाका दुई जना र राक्सिराङ गाउँपालिकाका एक जना बेपत्ता रहेको प्रतिवेदनमा उल्लेख छ । मकवानपुरका बागमती गाउँपालिकाबाहेक नौवटा स्थानीय तहका नागरिक बाढीमा परी मृत्यु वा बेपत्ता भएका थिए । यसअघि बेपत्ता व्यक्तिलाई कानुनी रूपमा मृत घोषणा गर्न लामो समय लाग्ने व्यवस्थाका कारण प्रभावित परिवारले राहत, क्षतिपूर्ति तथा अन्य कानुनी सुविधा प्राप्त गर्न कठिनाइ भोग्दै आएका थिए । नयाँ व्यवस्थाले त्यस्ता परिवारलाई कानुनी प्रक्रिया पूरा गरी आवश्यक सुविधा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

प्रस्तावित राजदूत थापाको विवरण जापानले दिएन, निर्णयको तयारीमा सुनुवाइ समिति
जिग्यानकुमार थापाले जापानको स्थायी आवासीय अनुमतिपत्र त्यागेको/नत्यागेको र त्यहाँको सरकारी कोषबाट रकम लिए/नलिएको लगायत विवरण नआएपछि बैठक बसेर सिफारिसबारे निर्णय गर्ने संसदीय सुनुवाइ समितिको तयारी ...

बझाङको प्रमुख जिल्ला अधिकारीमा निराजन श्रेष्ठ
काठमाडौँ । गृह मन्त्रालयले बझाङको प्रमुख जिल्ला अधिकारीमा निराजन श्रेष्ठलाई खटाएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी मुकेश केशरीको प्रशासकीय अधिकृतमा सरुवा भएपछि रिक्त भएको उक्त पदमा श्रेष्ठलाई पठाइएको हो... ...

रुसमाथि दबाब बढाउन इयूको आग्रह
काठमाडौँ । युरोपेली संघका उच्च अधिकारी एन्टोनियो कोस्टाले बिहीबार सहयोगीहरूलाई मस्कोमाथि ‘दबाब बढाउन’ आग्रह गरेका छन् । युक्रेनको एउटा व्यस्त रेलवे स्टेसनको प्लेटफर्ममा रुसी ड्रोन ठोक्किएर कम्तीमा १४ जनाको मृत्यु भएपछि... ...

१५ वर्षपछि दमौलीमा ‘इलेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै
तनहुँ । पन्ध्र वर्षपछि तनहुँको व्यास नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा दमौलीमा इलेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । शुक्रबारदेखि व्यास नगरपालिका-३ स्थित बिपी वनवाटिकामा वडास्तरीय फुटबल... ...


