काठमाडौँ। प्रतिनिधिसभाका सांसदहरूले यौन हिंसासम्बन्धी प्रस्तावित विधेयक अधुरो रहेकाले आवश्यक संशोधन गरी पूर्णता दिनुपर्नेमा जोड दिएका छन्। उनीहरूले विधेयकमा पाँचवटा विषय सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका हुन्। ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता : पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ नारासहित आजदेखि सुरु भएको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत आयोजित अन्तर्क्रियामा सांसदहरूले यस्तो धारणा राखेका हुन्। महिला, कानुन र विकास मञ्च तथा इक्वलिटी नाउले आयोजना गरेको कार्यक्रममा प्रस्तावित विधेयकलाई आवश्यक सुधार गरी गुणस्तरीय बनाउन नसकिए भविष्यमा बन्ने कानुन पनि अधुरो हुने सांसदहरूको भनाइ थियो। नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सचेतक नीता घतानीले बदलिँदो परिस्थितिलाई समेट्ने गरी कानुन निर्माण गर्नुपर्नेमा जोड दिइन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद सरस्वती लामाले यौन हिंसाका पीडकलाई अन्य अपराधीसरह सजाय दिएर मात्र नपुग्ने भन्दै विशेष सजायको व्यवस्था गर्नुपर्ने धारणा राखिन्। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद बलावती शर्माले यौन हिंसासम्बन्धी अपराधमा कठोर सजायको व्यवस्था गर्नुपर्ने बताइन्। छलफलमा सहभागी अन्य सांसदहरूले पनि यौन तथा लैङ्गिक हिंसा अन्त्यका लागि प्रभावकारी कानुन बनाउन ढिलाइ गर्न नहुनेमा जोड दिए। यौन हिंसासम्बन्धी विषय गम्भीर भएकाले हतारमा कानुन बनाएर पछि पछुताउनुभन्दा व्यापक छलफलपछि प्रक्रिया अघि बढाउनु उचित हुने उनीहरूको भनाइ थियो। मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले मन्त्रालयले तयार पारेको विधेयकमा जबर्जस्ती करणी, वैवाहिक बलात्कार र हदम्यादसम्बन्धी व्यवस्था सुधार गर्न आवश्यक रहेको बताए।
यौन हिंसासम्बन्धी विधेयक संशोधन गर्न जोड

Read Complete Original Article
Published originally on नेपालन्युज






