काठमाडौं । सन् २०२६ को पहिलो १० महिनामा हवाई मार्गबाट नेपाल भित्रिने विदेशी पर्यटकको संख्या १० लाख नाघेको छ। नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीदेखि अक्टोबरसम्म १० लाख ८ हजार ६ सय १६ जना विदेशी पर्यटक हवाई मार्गबाट नेपाल आएका छन्। तथ्यांकअनुसार अक्टोबरमा मात्रै १ लाख ३२ हजार ८ सय १४ जना पर्यटक नेपाल भित्रिएका छन्। यो सन् २०२६ का १० महिनामध्ये सबैभन्दा बढी पर्यटक आगमन भएको महिना हो। यसअघि मार्चमा १ लाख २० हजार ५ सय १६ जना पर्यटक आएका थिए। पर्यटक आगमनको मासिक प्रवृत्ति हेर्दा जनवरीमा ९२ हजार ५ सय ७३, फेब्रुअरीमा १ लाख ५ हजार ४ सय ४१, मार्चमा १ लाख २० हजार ५ सय १६ र अप्रिलमा १ लाख ७ हजार ९ सय ३४ जना पर्यटक आएका थिए। त्यस्तै, मेमा १ लाख २ हजार ६ सय २६ र जुनमा ९१ हजार ३ सय ६३ जना पर्यटक नेपाल भित्रिएका थिए। वर्षायाम सुरु भएसँगै जुलाईमा पर्यटक आगमन घटेर ७६ हजार ३७ मा झरेको थियो। अगस्टमा ९१ हजार ५६ र सेप्टेम्बरमा ८८ हजार २ सय ५६ जना पर्यटक आएका थिए। त्यसपछि अक्टोबरमा आगमन उल्लेख्य बढेर १ लाख ३२ हजार नाघेको हो। पर्यटक आगमनको प्रमुख स्रोत मुलुकमा भारत पहिलो स्थानमा छ। पहिलो १० महिनामा भारतबाट १ लाख ८७ हजार १ सय ७२ जना पर्यटक नेपाल आएका छन्। त्यस्तै, चीनबाट ७७ हजार ५ सय ४१ र अमेरिकाबाट ६९ हजार ३ सय ४४ जना आएका छन्। यस अवधिमा बंगलादेशबाट ३२ हजार ३ सय ७४, बेलायतबाट ३१ हजार १ सय २० र अस्ट्रेलियाबाट ३० हजार ५० जना पर्यटक नेपाल आएका छन्। श्रीलंकाबाट १९ हजार ८३, मलेसियाबाट १५ हजार १ सय १७, जर्मनीबाट १५ हजार ६८ र जापानबाट १२ हजार ६ सय ६९ जना पर्यटक आएका छन्। अक्टोबर महिनाको पर्यटक आगमनमा भने अमेरिकाको हिस्सा सबैभन्दा ठूलो देखिएको छ। यस महिनामा अमेरिकाबाट १७ हजार ४ सय ३७ जना पर्यटक नेपाल आएका छन्। भारतबाट १२ हजार ९७ र चीनबाट ११ हजार ६ सय ९५ जना आएका छन्। त्यस्तै, बेलायतबाट ९ हजार ३ सय ८५ र अस्ट्रेलियाबाट ९ हजार ३ सय ५२ जना पर्यटक नेपाल आएका छन्। जर्मनीबाट ६ हजार १ सय १४, माल्दिभ्सबाट ५ हजार ५ सय ६०, बंगलादेशबाट ४ हजार ८ सय ९३ र फ्रान्सबाट ४ हजार १ सय ६४ जना पर्यटक आएका छन्। नेपालको मुख्य पर्यटकीय सिजन मानिने शरद् ऋतुमा पदयात्रा, पर्वतारोहण तथा अन्य पर्यटकीय गतिविधि बढ्ने भएकाले अक्टोबरमा पर्यटक आगमन उच्च भएको हो। विशेषगरी हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणका लागि अनुकूल मौसम हुने भएकाले यो अवधिमा विदेशी पर्यटकको चाप बढ्ने गर्छ। दस महिनाको तथ्यांकले नेपालमा विदेशी पर्यटक आगमन पुनः १० लाखको आँकडा पार गरेको देखाएको छ। अब बाँकी दुई महिनाको आगमनले सन् २०२६ को वार्षिक पर्यटक संख्या निर्धारण गर्नेछ।
यो वर्ष नेपालमा १० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए, भारत र चीनबाट सबैभन्दा धेरै

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






