काठमाडौं । पत्रकार भूपाल लुइँटेललाई ‘गिद्दे प्रेस राष्ट्रिय पत्रकारिता पुरस्कार २०८३’ प्रदान गरिएको छ । गिद्दे प्रेस एचडीको दोस्रो वार्षिकोत्सवका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा लुइँटेललाई २५ हजार रूपैयाँ राशिसहित उक्त पुरस्कार प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता क्षेत्रमा विकसित नयाँ प्रविधिलाई व्यवस्थित गर्दै यसको विकास र विस्तार गर्नुपर्ने बताउनुभयो । पत्रकारिता क्षेत्रबाटै प्रतिनिधित्व गर्दै कार्यकारी भूमिकामा पुगेकाले सञ्चार क्षेत्रको विकास र विस्तारका विषयमा आफूले निरन्तर चिन्तन गरिरहेको उहाँको भनाइ थियो । मन्त्री तिमिल्सिनाले सरकारले आमसञ्चार विधेयक र प्रेस काउन्सिल विधेयकमार्फत पत्रकारिता क्षेत्रलाई कानुनी आधार प्रदान गर्ने काम गरिरहेको जानकारी दिनुभयो । राज्यले सञ्चार क्षेत्रलाई नियमन गर्नुपर्ने सरोकारवालाको सुझाव सकारात्मक रहेको उल्लेख गर्दै उहाँले पत्रकारिता क्षेत्रले पनि राज्यलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा प्राडा. सुरेन्द्र केसीले प्रविधिको तीव्र विकासलाई राज्यले प्रणालीगत रूपमा व्यवस्थित गर्नुपर्नेमा जोड दिनुभयो । आफूलाई ‘युट्युबे विश्लेषक’ भन्ने गरिएको उल्लेख गर्दै उहाँले ठूला मिडिया हाउससमेत युट्युबमा केन्द्रित हुँदै गएको बताउनुभयो । युट्युबलाई सञ्चारमाध्यमका रूपमा विकास गर्न राज्यले स्पष्ट प्रणाली र नीतिगत व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो । गिद्दे प्रेस एचडीका सम्पादक ठाकुर बेलवासेले पत्रकारिताको परम्परागत माध्यम र शैलीमा परिवर्तन ल्याउने सोचका साथ गिद्दे प्रेस सुरु गरिएको बताउनुभयो । वार्षिकोत्सवका अवसरमा पत्रकारितामा क्रियाशील व्यक्तिलाई प्रोत्साहन गर्दै पेसाप्रति निरन्तर लागिरहन प्रेरित गर्ने उद्देश्यले पुरस्कार स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । बेलवासेले युट्युबलाई सञ्चारमाध्यमका रूपमा स्वीकार गरी सञ्चालन गर्न आवश्यक नीति बनाउन ढिलाइ भइरहेको भन्दै यस विषयमा राज्यले गम्भीरतापूर्वक सोच्नुपर्ने बताउनुभयो । पुरस्कार ग्रहणपछि पत्रकार लुइँटेलले सम्मानले खुसीसँगै थप जिम्मेवारीबोध गराएको बताउनुभयो । पत्रकारितामा प्राप्त सम्मानलाई आफ्नो कामप्रतिको दायित्व थपिएको रूपमा लिएको उहाँको भनाइ थियो । पत्रकारिता क्षेत्रमा चर्चाको शिखरमा पुगेका र बदनामीको गहिराइमा झरेका दुवैथरी व्यक्तिका अनुभव आफूले नजिकबाट देखेको उल्लेख गर्दै उहाँले ती दुवै अवस्थाबाट जोगिएर निरन्तर कर्ममा लागिरहने चाहना व्यक्त गर्नुभयो । ‘मेरै जीवनकालमा मैले चर्चाको शिखर चुमेका मानिसहरूदेखि लिएर यही क्षेत्रमा लागेर बदनामीको गहिराइसम्म पुगेका मानिसहरूको पनि अनुभूति गरेको छु । म यी दुवै चिजबाट जोगिन चाहन्छु । न त्यो उचाइमा पुग्न चाहन्छु, न बदनामीको गहिराइसम्मै पुग्न चाहन्छु । म जे छु, ठीक अवस्थामा छु,’ उहाँले भन्नुभयो । आफूलाई आवश्यकताभन्दा बढी प्रशंसा नगर्न आग्रह गर्दै लुइँटेलले विगतका अनुभवबाट सिकेर आफ्नो काममा निरन्तर लागिरहनुपर्ने धारणा राख्नुभयो । उहाँले पत्रकारितामा प्रविधिको विकाससँगै कृत्रिम बुद्धिमत्ता (एआई)ले थपेका चुनौतीबारे पनि चर्चा गर्नुभयो । गुटेनबर्गको छापाखानादेखि आधुनिक छपाइ प्रविधि हुँदै मोबाइल पत्रकारितासम्म आइपुग्दा पत्रकारिताको स्वरूपमा व्यापक परिवर्तन आएको उल्लेख गर्दै उहाँले एआईको तीव्र विकासले पत्रकारिताको मानवीय पक्षमा असर पार्न सक्ने बताउनुभयो । एआईको अत्यधिक प्रयोगले पत्रकारको बौद्धिक क्षमता, सिर्जनशीलता र अन्तर्वार्ता गर्ने सीपसमेत कमजोर बनाउँदै विस्थापनको जोखिम बढाउन सक्ने उहाँको चिन्ता थियो । एआईको प्रयोग र दुरुपयोगबारे समयमै बहस गर्दै यसको उचित प्रयोगका लागि आवश्यक नियमन गर्नुपर्नेमा उहाँले जोडदिनुभयो । पुरस्कृत पत्रकार लुइँटेल हिमालयन टेलिभिजनमा कार्यक्रम प्रस्तोता तथा रेडियो अन्नपूर्णमा समाचार प्रमुखका रूपमा कार्यरत हुनुहुन्छ ।
युट्युब र एआईलाई नियमन गर्न सरकारलाई सुझाव, लुइँटेल पुरस्कृत

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






