Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

युक्रेन युद्ध अन्त्य गर्ने वार्तामा पूर्वी युरोपमा नेटोको विस्तार उल्ट्याउन रुसको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
युक्रेन युद्ध अन्त्य गर्ने वार्तामा पूर्वी युरोपमा नेटोको विस्तार उल्ट्याउन रुसको माग
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । युक्रेन युद्ध अन्त्य गर्ने विषयमा अबुधाबीमा भएको वार्ताका क्रममा रुसले नेटोको पूर्वी विस्तार उल्ट्याउँदै सन् १९९७ अघिको अवस्थामा फर्काउनुपर्ने माग गरेको छ । रुसी प्रतिनिधिहरूले नोभेम्बर १० को मिति उल्लेख गरिएको दस्तावेजमार्फत यस्तो प्रस्ताव राखेको ‘द न्युयोर्क टाइम्स’ले जनाएको छ । रुसको माग युक्रेनमा पश्चिमा हतियार आपूर्ति रोक्नमा मात्र सीमित नभएर नेटोले सन् १९९७ पछि पूर्वी युरोपमा विस्तार गरेको सैन्य उपस्थिति, सेना र सैन्य अखडा समेत फिर्ता गर्नुपर्ने उसको प्रस्ताव छ । रुसले सन् १९९७ लाई नेटोको पहिलो पूर्वी विस्तारअघिको अवस्थाका रूपमा व्याख्या गर्दै आएको छ । त्यतिबेला गठबन्धनमा १६ सदस्य राष्ट्र थिए । पोल्यान्ड, चेक गणतन्त्र र हंगेरी सन् १९९९ मा नेटोमा आबद्ध भएपछि पूर्वी विस्तार सुरु भएको थियो । त्यसपछि मध्य, पूर्वी र दक्षिणपूर्वी युरोपका थप देशहरू नेटोमा सामेल भए । पछिल्लो समय स्विडेन र फिनल्यान्ड पनि गठबन्धनमा जोडिए । हाल नेटोमा युरोप र उत्तर अमेरिकाका ३२ सदस्य छन् । रुसको प्रस्ताव कार्यान्वयन भए बाल्टिक राष्ट्रहरूमा नेटोको हवाई सुरक्षा व्यवस्था प्रभावित हुनेछ । ती देशसँग आफ्नै लडाकु विमान नभएकाले नेटोले हवाई गस्ती गर्दै आएको छ । सन् २०२७ को अन्त्यसम्म पूर्ण सञ्चालनमा ल्याउने लक्ष्य राखिएको जर्मनीको लिथुआनिया ब्रिगेडको तैनाथी पनि प्रभावित हुन सक्ने बताइएको छ । साथै रोमानियाको ब्ल्याक सी नजिकै कोन्स्टान्टास्थित मिहाइल कोगाल्निसियानु हवाई अखडाको विस्तारसमेत प्रभावित हुन सक्छ । रुसको प्रस्तावलाई पूर्वी युरोपेली राष्ट्रहरूले अस्वीकार गरेका छन् । नेटोको धारा ५ अनुसार कुनै सदस्य राष्ट्रमाथि सशस्त्र आक्रमण भए त्यसलाई सबै सदस्यमाथिको आक्रमण मानिन्छ र अन्य सदस्यले सहयोग गर्नुपर्ने हुन्छ । नेटोले पूर्वतर्फ विस्तार नगर्ने रुससँग वाचा गरेको थियो ? सन् १९९७ को नेटो–रुस संस्थापक ऐनमा दुवै पक्षले एकअर्कालाई शत्रुका रूपमा नहेर्ने घोषणा गरेका थिए । नेटोले तत्कालीन र निकट भविष्यको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै ठूलो संख्यामा लडाकु सेना स्थायी रूपमा तैनाथ नगरी आवश्यकताअनुसार सेना परिचालन र सुदृढीकरणमार्फत सामूहिक रक्षा सुनिश्चित गर्ने नीति लिएको थियो । तर, उक्त ऐनले रुसलाई नेटोका निर्णयमा भिटो अधिकार दिएको थिएन । यसअघिको वार्सा प्याक्टका देशहरूलाई नेटोमा समावेश नगर्ने कुनै लिखित तथा कानुनी रूपमा बाध्यकारी सम्झौता पनि नभएको बताइएको छ । यसअघि सन् १९९० को नोभेम्बरमा सोभियत संघसहित युरोपमा सुरक्षा तथा सहकार्य सम्मेलन (सीएससीई)का सदस्य राष्ट्रहरूले ‘पेरिस बडापत्र’मा हस्ताक्षर गरेका थिए । त्यसमा प्रत्येक देशले आफ्नो सुरक्षा व्यवस्था आफैँ छनोट गर्न पाउने स्वतन्त्रताको सम्मान गर्ने प्रतिबद्धता जनाइएको थियो । सन् १९९४ को बुडापेस्ट ज्ञापनपत्रमा रुस, अमेरिका र बेलायतले युक्रेनको स्वतन्त्रता, सार्वभौमिकता र विद्यमान सिमानाको सम्मान गर्ने तथा बल प्रयोग नगर्ने प्रतिबद्धता जनाएका थिए । युक्रेनले सोभियत संघबाट प्राप्त आणविक हतियार त्याग्ने निर्णयसँग जोडिएको उक्त ज्ञापनपत्रले आक्रमण भएमा युक्रेनको सैन्य प्रतिरक्षा गर्न अमेरिका वा बेलायतलाई बाध्य भने बनाएको थिएन । त्यतिबेला युक्रेनको नेटो सदस्यताको विषय पनि उठाइएको थिएन । रुसले पुरानै माग किन दोहोर्‍यायो ? युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गर्नुभन्दा दुई महिनाअघि नै रुसले अमेरिका र नेटोसमक्ष दुईवटा मस्यौदा सम्झौता प्रस्तुत गरेको थियो । ती दस्तावेजमा नेटोको थप पूर्वी विस्तार रोक्न माग गरिएको थियो । नेटोसँग प्रस्तावित सम्झौतामा रुस र सन् १९९७ मे २७ सम्म गठबन्धनमा आबद्ध भएका सदस्य राष्ट्रहरूले त्यस मितिमा कायम सैन्य तैनाथीभन्दा बढी सेना वा हतियार अन्य युरोपेली देशमा नराख्ने प्रस्तावसमेत गरिएको थियो । अबुधाबी वार्तामा युद्धपछिको सुरक्षा प्रत्याभूति र युरोपको भावी सुरक्षा संरचनाबारे पनि छलफल भएको छ । युक्रेन युद्ध अन्त्य गर्ने वार्तासँगै नेटोको विस्तार र पूर्वी युरोपमा सैन्य उपस्थितिको विषय जोडेर रुसले आफ्नो वार्ताको दबाब बढाउन खोजेको देखिन्छ । रुसले लामो समयदेखि युद्धका ‘मूल कारण’ सम्बोधन गर्नुपर्ने अडान राख्दै आएको छ । उसले नेटोको विस्तार र पूर्वी युरोपमा गठबन्धनको सैन्य उपस्थितिलाई युद्धका प्रमुख कारणमध्ये एक मान्दै आएको छ । हालसम्म कुनै पनि प्रमुख पश्चिमा शक्तिले रुसका यी माग स्वीकार गर्ने संकेत दिएका छैनन् । डीडब्ल्यू

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिउँदलाई भारतबाट विद्युत् आयातको अनुमति
Latest NewsJust now

हिउँदलाई भारतबाट विद्युत् आयातको अनुमति

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २ गते । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति पाएको छ । भारतको विद्युत् मन्त्रालय अन्तर्गत... ...

गोरखापत्र
पर्वतीय जलवायु कार्यक्रम ०२७ देखि शुरू गर्न कोप–३१ मा नेपालको प्रस्ताव
Latest NewsJust now

पर्वतीय जलवायु कार्यक्रम ०२७ देखि शुरू गर्न कोप–३१ मा नेपालको प्रस्ताव

कार्यक्षेत्र र कार्यान्वयन विधि स्पष्ट पार्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। ...

हाम्राकुरा
बगानमै खेर गयो चिया
Latest NewsJust now

बगानमै खेर गयो चिया

सन्तोष सुवेदीधनकुटा, मङ्सिर २ गते । चिया बिक्री नहुँदा धनकुटाका किसानको बगानमै खेर जान थालेको छ । अन्य बाली छोडेर चिया खेतीतर्फ आकर्षित भएका किसान चिया बिक्री नहुँदा भने अहिले समस्... ...

गोरखापत्र
डिप्रेसन कसरी चिन्ने?
Latest NewsJust now

डिप्रेसन कसरी चिन्ने?

मानिसको जीवनमा दुःख, निराशा, तनाव र चिन्ता आउनु स्वाभाविक हो। असफलता, पारिवारिक तथा आर्थिक समस्या, सम्बन्धमा उतारचढाव वा प्रियजन गुमाउँदा केही समय मन खिन्न हुन सक्छ। तर उदासी लामो समयसम्म रहिरहे, दैनिक जीवन प्रभावित हुन थाल्यो र पहिले रुचि लाग्ने काममा समेत मन लाग्न छाड्यो भने त्यो डिप्रेसन अर्थात् अवसादको सङ्केत हुन सक्छ। मानसिक स्वास्थ्यबारे चर्चा बढे पनि डिप्रेसनलाई अझै कतिपयले ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play