काठमाडौँ, मङ्सिर १० । युक्रेनमाथि रुसले पूर्ण आक्रमण सुरु गरेयता करिब पाँच लाख रुसी सैनिकको मृत्यु भएको तथ्य सार्वजनिक भएको छ। बेलायती समाचार संस्था बीबीसीले रुसी सरकारी तथ्याङ्क निकाय ‘रोसस्टाट’का अभिलेख विश्लेषण गर्दै कम्तीमा ४ लाख ९० हजार ३३४ रुसी सैनिकको मृत्यु भएको जनाएको छ। बेलारुसको ह्याकर समूह ‘साइबर पार्टिसन्स बाई’ र युक्रेनी समूह ‘साइलेन्ट क्रो’ ले ह्याक गरेपछि बीबीसी रसियनले सन् २०२१ देखि सेप्टेम्बर २०२६ सम्मका एक करोड १० लाखभन्दा बढी मृत्यु अभिलेखमा पहुँच पाएको थियो। रोसस्टाटले साइबर आक्रमण भएको स्वीकार गरे पनि संरक्षित सूचना चुहावट नभएको दाबी गरेको छ। बीबीसी रसियनले स्वतन्त्र रुसी सञ्चारमाध्यम ‘मिडियाजोना’सँगको सहकार्यमा खुला स्रोतबाट सङ्कलन गरेको पुष्टि भएका सैनिक मृत्युको सूचीसँग सरकारी तथ्याङ्क तुलना गरेको थियो। त्यस क्रममा ९० प्रतिशत अभिलेख मेल खाएको जनाइएको छ। सैन्य विज्ञहरूको विश्लेषणअनुसार बीबीसीले आधिकारिक प्रतिवेदन, सामाजिक सञ्जाल, नयाँ स्मारक र चिहानका विवरणबाट पहिचान गरेको २ लाख ९० हजार १२ सैनिकको मृत्यु वास्तविक सङ्ख्याको ४५ देखि ५५ प्रतिशत मात्र हुन सक्ने अनुमान छ। यस आधारमा युद्धमा मारिएका रुसी सैनिकको वास्तविक सङ्ख्या ५ लाख २७ हजार २९५ देखि ६ लाख ४४ हजार ४७१ सम्म हुन सक्ने आकलन गरिएको छ। तथ्याङ्कअनुसार सन् २०२५ मा रुसमा मृत्यु भएका १८ देखि २४ वर्ष उमेर समूहका युवामध्ये ६५ प्रतिशतको मृत्यु युद्धका कारण भएको थियो। त्यस्तै, २५ देखि ३४ वर्ष उमेर समूहमा युद्धका कारण मृत्यु हुनेको हिस्सा ५९ प्रतिशत रहेको छ। रुसका पूर्वी साइबेरियाली क्षेत्र त्युभा, बुरियातिया र जाबायकाल्स्की क्राईका पुरुषको युद्धमा मृत्यु हुने सम्भावना मस्को र सेन्ट पिटर्सबर्गका बासिन्दाको तुलनामा २० देखि २५ गुणासम्म बढी देखिएको विश्लेषणमा उल्लेख छ। युक्रेनका १० वटा साना गाउँ नियन्त्रणमा लिने क्रममा मात्रै करिब २० हजार रुसी सैनिक मारिएको अनुमान गरिएको छ। युद्धअघि ती गाउँमा जम्मा १२ हजार मानिस बसोबास गर्थे। रुसको पक्षबाट लड्दै मृत्यु हुनेमा कम्तीमा पाँच हजार १७ विदेशी नागरिक पनि रहेको जनाइएको छ। तीमध्ये एक हजार ३१ उज्बेकिस्तान र ७२० ताजिकिस्तानका नागरिक छन्। त्यस्तै, स्याटेलाइट तस्बिर र उत्तर कोरियाको राजधानी प्योङयाङमा निर्माण गरिएको नयाँ स्मारकका आधिकारिक तस्बिर विश्लेषण गर्दै बीबीसीले सन् २०२४ मा युक्रेनी आक्रमण रोक्ने क्रममा दुई हजार ३०४ उत्तर कोरियाली सैनिक मारिएको पहिचान गरेको जनाएको छ। यता, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले जुलाई २०२६ मा आफ्ना करिब ५० हजार सैनिक मारिएको बताउनुभएको थियो। तर, खुला स्रोतमा आधारित ‘युए लसेस’ वेबसाइटले भने एक लाख १५ हजार ९५२ युक्रेनी सैनिकको मृत्यु भएको उल्लेख गरेको छ।
युक्रेन युद्धमा रुसका करिब पाँच लाख सैनिकको मृत्यु, सरकारी तथ्याङ्कबाटै खुल्यो रहस्य

Read Complete Original Article
Published originally on जनताटाइम्स






