काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स (युएई) का लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन्। युएईको रास अल खैमाहमा आयोजित ‘आरएके इन्भेस्टमेन्ट समिट २०२६’ मा सहभागी हुन पुगेका ढकालले बिहीबार दुबईमा युएईका विदेश व्यापार मन्त्री डा. थानी बिन अहमद अल जेउदीसँग भेटवार्ता गर्दै नेपालमा लगानीका अवसरबारे छलफल गरेका हुन्। भेटका क्रममा नेपाल–युएई द्विपक्षीय सम्बन्ध, व्यापार विस्तार तथा नेपालमा रहेका लगानीका सम्भावनाबारे छलफल भएको थियो। ढकालले नेपालमा जलविद्युत्, पर्यटन, कृषि, सूचना प्रविधि तथा डाटा सेन्टरका क्षेत्रमा उच्च सम्भावना रहेको उल्लेख गर्दै युएईका लगानीकर्तालाई ती क्षेत्रमा लगानी गर्न आग्रह गरे। नेपालमा पर्याप्त स्वच्छ ऊर्जा तथा चिसो हावापानी उपलब्ध रहेकाले सूचना प्रविधि र डाटा सेन्टरका लागि नेपाल आकर्षक गन्तव्य बन्न सक्ने उनको भनाइ थियो। त्यस्तै, केबलकार, स्की रिसोर्टलगायत उच्चस्तरीय पर्यटन पूर्वाधारमा पनि नेपालमा लगानीको ठूलो अवसर रहेको उनले बताए। नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा हुन लागेको सन्दर्भमा दुवै पक्षले सम्बन्धको निरन्तरताप्रति खुसी व्यक्त गरेका थिए। सन् २०२७ मा मनाइने कूटनीतिक सम्बन्धको स्वर्ण जयन्तीका अवसरमा विशेष समारोह आयोजना गर्ने मन्त्री अल जेउदीको प्रस्तावको ढकालले स्वागत गरे। स्वर्ण जयन्तीका अवसरमा नेपाल र युएईबीचको सम्बन्धलाई थप उचाइमा पुर्याउन सरकारी तथा निजी क्षेत्रबीच उच्चस्तरीय भ्रमण आदानप्रदानलाई निरन्तरता दिनुपर्नेमा उनले जोड दिए। ढकालले युएईका लगानीकर्तालाई नेपालमा लगानीका लागि नीतिगत तथा नियमनकारी स्पष्टता कायम गर्दै विश्वासको वातावरण बनाउन द्विपक्षीय लगानी सम्झौता (बीआईए) तथा दोहोरो कर मुक्ति सम्झौताजस्ता कानुनी आधारलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए। फ्लाई दुबईले युएईबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा उडान सुरु गरेकोमा प्रशंसा गर्दै उनले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि युएईबाट सिधा उडान सञ्चालनका लागि पहल गर्न आग्रह गरे। भैरहवामा सिधा उडान सञ्चालन भएमा युएईलाई गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग प्रत्यक्ष जोड्ने महत्वपूर्ण प्रवेशद्वार बन्न सक्ने उनको भनाइ थियो। ढकालले सन् २०२७ को स्वर्ण जयन्ती वर्षले नेपाल र युएईबीच साझा समृद्धि तथा बलियो आर्थिक साझेदारीको नयाँ अध्याय सुरु गर्ने विश्वास व्यक्त गरे।
युएईका लगानीकर्तालाई नेपालका सम्भावनायुक्त क्षेत्रमा लगानी गर्न ढकालको आग्रह

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार






