काठमाडौँ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस (इभी) दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ। महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले आज एक शोक वक्तव्य जारी गर्दै दुर्घटनामा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। साथै, शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। अध्यक्ष सिटौलाले घाइतेहरूको प्रभावकारी उपचार, आवश्यक स्वास्थ्य सेवा तथा उचित राहतको तत्काल व्यवस्था गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनले उक्त दुर्घटनाले विद्युतीय सवारीसाधनको सुरक्षा, प्राविधिक अवस्था तथा सञ्चालन मापदण्डबारे गम्भीर प्रश्न खडा गरेको उल्लेख गर्दै इभीको उत्पादन, आयात, जडान, ब्याट्री तथा अन्य प्राविधिक पक्षको नियमित परीक्षणका लागि स्पष्ट र कडा सुरक्षा मापदण्ड बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। सवारी दुर्घटना न्यूनीकरण केवल नियतिको विषय नभई राज्यको जिम्मेवारी, प्राविधिक सुरक्षाको सुनिश्चितता र सबै सरोकारवालाको साझा उत्तरदायित्व भएको उनको भनाइ छ। मानवीय जीवनको सुरक्षालाई सर्वोपरि राख्दै आगामी दिनमा यस्ता दुर्घटनाको पुनरावृत्ति हुन नदिन सरकार गम्भीर, जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा अध्यक्ष सिटौलाले जोड दिएका छन्। काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस आज बिहान मकवानपुरको भीमफेदीमा सडकबाट खसेर दुर्घटनामा परेको थियो। प्रहरीका अनुसार दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
यातायात व्यवसायी महासङ्घद्वारा दुःख व्यक्त

Read Complete Original Article
Published originally on नेपालन्युज






