यी हुन् आज दिनभरका प्रमुख २० समाचार

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्सले विजयी शुरुवात गरेको छ । सोमबार सम्पन्न तेस्रो संस्करणको पहिलो खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा शानदार शुरुवात गरेको हो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य पछाएको लुम्बिनीले ९.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । लुम्बिनीका लागि डिआर्ची शर्टले ४० रन बनाए भने आसिफ सेखले ३२ रन बनाएका थिए । त्यस्तै सुदूरपश्चिमका बलर अनिल खरेलले २ विकेट लिए भने दिपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए । यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले १७.२ ओभरमा अल आउट हुदै ८७ रन मात्र बनाएको थियो । सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक २७ रन बनाए भने अनिल खरेलले १५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले योगदान दिन नसक्दा सस्तैमा समेटिएको थियो । सुदूरपश्चिमको ब्याटिंग लाइन ध्वस्त गर्ने क्रममा लुम्बिनीका किशोर महतोले ४ विकेट लिएका थिए भने शेर मल्लले ३ विकेट लिएका थिए । त्यस्तै तिलक भण्डारी, रोहित पौडेल र शाडली भान स्कालक्वीकले एक एक विकेट लिएका थिए । अब एनपीएलको दोस्रो दिन मंगलबार दुई खेल हुने तालिका छ । मंगलबार पहिलो खेल अपराहन्न साढे १२ बजे बिराटनगर किंग्स र चितवन राइनोजबीच हुने छ भने दोस्रो खेल साँझ ५ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच हुने तालिका छ । २- महानायक राजेश हमालले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति टिप्पणी गर्दै नेपालको परराष्ट्र नीति राष्ट्रिय स्वाधीनता, सम्मान र सिद्धान्तमा आधारित हुनुपर्ने बताएका छन् । हमालले मन्त्रीले आफ्नो जिम्मेवारीको सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको भन्दै त्यसले नेपालको लामो समयदेखि कायम रहेको सन्तुलित परराष्ट्र नीतिको आधारलाई कमजोर पार्न सक्ने बताएका छन् । उनले यस्तो अभिव्यक्तिले नेपालको सार्वभौमिकताको गरिमामा आँच पुर्याउनुका साथै नेपाल–भारत सम्बन्धको महत्त्वलाई समेत कमजोर बनाउने टिप्पणी गरेका छन् । नेपाल र भारतबीचको सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको सम्बन्धमा आधारित रहेको उल्लेख गर्दै हमालले छिमेकीसँगको सम्बन्ध सुदृढ गर्ने हरेक इमानदार प्रयासको स्वागत गर्नुपर्ने बताएका छन् । तर, त्यसका लागि देशका प्रतिनिधिले कूटनीतिक विवेक अपनाउँदै नेपालको राष्ट्रिय अडानलाई सम्मानजनक र सन्तुलित ढंगले प्रस्तुत गर्नुपर्ने उनको भनाइ छ । उनले नेपाल–भारत सम्बन्ध ऐतिहासिक र रणनीतिक रूपमा निकै महत्त्वपूर्ण भएकाले व्यक्तिगत तुष्टीकरणका संकेत वा सार्वजनिक उपहासको विषय बन्ने अभिव्यक्तिमा सीमित गर्न नहुने बताएका छन् । दुई देशबीचका अनसुल्झिएका सीमा समस्या र आर्थिक निर्भरताजस्ता विषयलाई ध्यानमा राख्दै सरकारले कूटनीतिक माध्यम, प्रमाण र मैत्रीपूर्ण संवादमार्फत आफ्नो धारणा स्पष्ट रूपमा राख्नुपर्ने उनले उल्लेख गरेका छन् । ‘छिमेकीसँगको मित्रता र आफ्नो सार्वभौमिकताप्रतिको प्रतिबद्धता एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्, यी एकअर्काका पूरक जिम्मेवारी हुन्,’ हमालले भनेका छन् । नेपाल स्वतन्त्र राष्ट्रका रूपमा आफ्नो पहिचान र राष्ट्रिय हितप्रति स्पष्ट रहेकै कारण भरपर्दो साझेदार बन्न सक्ने उनको धारणा छ । ३- नेपाल आयल निगमले ग्यास बिक्री गरेपछि अनिवार्य रूपमा भ्याट बिल जारी गर्न ग्यास उद्योगीहरूलाई निर्देशन दिएको छ । निगमले ग्यास बिक्री वितरणमा बिल जारी नगरेको गुनासो आएपछि यस्तो निर्देशन दिएको हो । निगमको एलपी ग्यास तथा एभिएसन विभागले यसअघि २०८१ वैशाख ३० र २०८१ कात्तिक १० गते पनि निर्णय कार्यान्वयनका सम्बन्धमा सम्बन्धित संघसंस्थालाई पत्राचार गरिएको स्मरण गराइएको छ । पत्रमा निगमबाट नियुक्त केही विक्रेताले ग्यास बिक्री गरेपछि बिल बिजक जारी नगर्ने गरेको गुनासो आएको उल्लेख छ । त्यसैले विक्रेतालाई अनिवार्य रूपमा भ्याट बिल जारी गर्ने व्यवस्था मिलाउन निगमले आग्रह गरेको छ । निगमका निर्देशक विनितमणि उपाध्यायद्वारा हस्ताक्षरित पत्रमा ग्यास बिक्री वितरणलाई व्यवस्थित बनाउन तथा बिल जारी गर्ने व्यवस्थाको पालना सुनिश्चित गर्न सम्बन्धित पक्षलाई निर्देशन दिइएको छ । ४- बेलायती राजधानी लन्डनको एक रात्रिक्लबमा बोतल प्रहार गरेको घटनामा अमेरिकी गायक क्रिस ब्राउनलाई आठ महिना जेल सजाय सुनाइएको छ । तर उक्त सजाय १२ महिनाका लागि निलम्बन गरिएको छ । अदालतको आदेशपछि उनले तत्काल जेल बस्नुपर्दैन । तर आगामी १२ महिनाभित्र निलम्बित सजाय लागू हुने सर्त उल्लङ्घन गरेमा अदालतले उनलाई जेल पठाउन सक्ने बताइएको छ । सन् २०२३ को फेब्रुअरीमा भएको घटनामा ब्राउनले अब्राहम डियाउलाई सिसाको बोतलले टाउकोमा प्रहार गरेका थिए । घटनामा डियाउको टाउको र घुँडामा चोट लागेको थियो र उनलाई अस्पतालमा उपचार गराउनुपरेको थियो । ब्राउनले यस वर्ष जुलाईमा अदालतमा झगडासम्बन्धी आरोप स्वीकार गरेका थिए । उनीमाथि लागेका गम्भीर आक्रमण तथा गम्भीर शारीरिक चोट पुर्याउने प्रयाससम्बन्धी आरोप भने पछि हटाइएको थियो । अदालतमा ब्राउनका वकिलले घटनाबाट प्रभावित सबैप्रति उनले गहिरो क्षमायाचना गरेको बताएका थिए । घटनामा उनका स्वर प्रशिक्षक ओमोलोलु अकिनलोलुले पनि झगडासम्बन्धी आरोप स्वीकार गरेका थिए । ५- इन्डियन प्रिमियर लिग (आईपीएल) को सन् २०२७ को सिजनका लागि खेलाडी अक्सन डिसेम्बर १६ मा भारतको गोवामा हुने भएको छ । एक दिन चल्ने अक्सनको करिब एक महिनाअघि नोभेम्बर १५ सम्म टोलीहरूले आफूले कायम राख्ने खेलाडीको सूची बुझाउनुपर्नेछ । त्यसपछि आईपीएलले टोलीहरूलाई दर्ता भएका खेलाडीको सूची उपलब्ध गराउनेछ । टोलीहरूले त्यसमध्ये आफूलाई आवश्यक खेलाडी छनोट गरेपछि अक्सनमा सहभागी हुने खेलाडीको अन्तिम सूची र लिलामीको क्रम सार्वजनिक गरिनेछ । सन् २०२६ को सिजन सकिएपछि आईपीएलमा हालसम्म दुई खेलाडी ट्रेड भएका छन् । गत जुनमा लखनउ सुपर जायन्ट्सले आफ्ना कप्तान ऋषभ पन्तलाई दिल्ली क्यापिटल्समा पठाएर स्पिनर कुलदीप यादवलाई टोलीमा भित्र्याएको थियो । हालै दिल्लीले तीव्र गतिका बलर टी नटराजनलाई सनराइजर्स हैदराबादमा पठाएर अनुभवहीन लेग स्पिनर जीशन अन्सारीलाई टोलीमा ल्याएको छ । आईपीएलको सन् २०२७ को सिजन सुरु हुने मिति भने अझै तय भएको छैन । यसअघि सन् २०२४ मा आगामी तीन सिजनको सम्भावित समयतालिका सार्वजनिक गर्दा सन् २०२७ को प्रतियोगिता मार्च १४ देखि मे ३० सम्म सञ्चालन गर्ने योजना बनाइएको थियो । सन् २०२७ को अक्सन आईपीएलको वर्तमान चक्रको अन्तिम मिनी अक्सन हुनेछ । सन् २०२८ को सिजनअघि मेगा अक्सन आयोजना गरिनेछ, जससँगै प्रतियोगिताको नयाँ प्रसारण अधिकार चक्र सुरु हुनेछ । सन् २०२२ मा आईपीएलको प्रसारण अधिकार ४८ हजार ३९० करोड ५० लाख भारतीय रुपैयाँमा बिक्री भएको थियो । उक्त सम्झौताले आईपीएललाई विश्वकै सबैभन्दा मूल्यवान् खेलकुद प्रतियोगितामध्ये एक बनाएको थियो । ६- प्रधानमन्त्री बालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन समारोहका लागि कीर्तिपुर मैदान पुगेका छन् । प्रधानमन्त्री शाहलाई नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायतले स्वागत गरेका थिए । प्रधानमन्त्री बालेनसँग शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल पनि सहभागी छन् । प्रधानमन्त्री शाहले एनपीएलको उद्घाटन खेल खेल्न लागेका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सका खेलाडीहरूसँग हात मिलाएका थिए भने राष्ट्रिय गानपछि अम्पायरलाई क्रिकेट बल हस्तान्तरण गरेका थिए । ७- कैलालीको बर्दगोरिया गाउँपालिका–४ स्थित जगन्नाथ आधारभूत विद्यालयमा कार्यरत बालविकास सहयोगी कार्यकर्ता शिक्षक हरिराम डंगौराविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको आरोपमा मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार हरिराम चौधरी भन्ने हरिराम डंगौरा थारुले बालविकास सहयोगी कार्यकर्ता (शिक्षक) पदमा नियुक्ति तथा सुविधा प्राप्त गर्न नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा उनले कैलालीको चौमालास्थित मालिका माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेको भनी नक्कली प्राप्ताङ्कपत्र र चारित्रिक प्रमाणपत्र पेस गरेको आरोप छ। उक्त प्रमाणपत्रका आधारमा उनले राष्ट्रसेवक पदमा रही ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको आयोगको दाबी छ । आयोगले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा कारबाहीको माग गर्दै आज काठमाडौंस्थित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ । आयोगले उक्त कानुनी व्यवस्थाअनुसार कैद र जरिवाना सजाय हुन मागदाबी गरेको जनाएको छ । ८- बंगालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अर्नब’को प्रभावले नेपालका विभिन्न प्रदेशमा वर्षा, भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले सोमबार जारी गरेको विशेष मौसमी बुलेटिनअनुसार चक्रवात क्रमशः शक्तिशाली बन्दै गएको छ । यसको प्रभावका कारण कात्तिक १२ गते बिहीबारदेखि विशेषगरी कोशी, बागमती, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा मौसम प्रभावित हुने अनुमान गरिएको छ । महाशाखाका अनुसार बंगालको खाडीमा रहेको ‘अर्नब’ नामक चक्रवात हाल चक्रवाती आँधीबाट शक्तिशाली चक्रवाती आँधीमा विकसित हुने क्रममा छ । यो प्रणाली अझ शक्तिशाली बन्दै जाने र क्रमशः उत्तरपश्चिम दिशातर्फ अघि बढ्ने सम्भावना छ । कात्तिक ११ गते अर्थात् अक्टोबर २८ मा भारतको आन्ध्र प्रदेश र विशाखापट्टनमको बीचमा पर्ने यानम नजिकको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गर्ने अनुमान गरिएको छ । त्यसपछि यसको प्रभाव नेपालमा समेत देखिन सक्ने मौसमविद्हरूको आकलन छ । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरणअनुसार कात्तिक १२ गते बिहीबारदेखि मौसममा परिवर्तन देखिन सक्नेछ। विशेषगरी कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा वर्षाको प्रभाव बढी पर्ने सम्भावना छ । यी दुई दिन कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा हुन सक्नेछ। ती प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । लुम्बिनी प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा थोरै स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यम वर्षा तथा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने सम्भावना छ । वर्षाको प्रभाव पहाडी र तराई क्षेत्रका विभिन्न स्थानमा देखिन सक्ने भएकाले सर्वसाधारणलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ । ९- जापानका पूर्वप्रधानमन्त्री यासुओ फुकुदाको ९० वर्षको उमेरमा निधन भएको छ । जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टीका अनुसार उनको अक्टोबर २२ मा निधन भएको हो । उनले सन् २००७ देखि २००८ सम्म जापानको प्रधानमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका थिए । सन् १९३६ मा टोकियोमा जन्मिएका फुकुदाले तेल कम्पनीमा काम गरेपछि आफ्ना पिता तथा तत्कालीन राजनीतिज्ञ ताकेओ फुकुदाको सचिवका रूपमा काम गरेका थिए । उनका पिता प्रधानमन्त्री बनेपछि उनले कार्यकारी सचिवको जिम्मेवारी सम्हालेका थिए । सन् १९९० को तल्लो सदनको निर्वाचनबाट पहिलोपटक सांसद निर्वाचित भएका उनी लगातार सात कार्यकाल सांसद बनेका थिए । सन् २००७ मा तत्कालीन प्रधानमन्त्री सिन्जो आबेले पदबाट राजीनामा दिएपछि फुकुदा लिबरल डेमोक्रेटिक पार्टीको अध्यक्ष निर्वाचित हुँदै प्रधानमन्त्री बनेका थिए । उनी ७१ वर्षको उमेरमा प्रधानमन्त्री बनेका थिए, जुन उमेरमा उनका पिता ताकेओ पनि प्रधानमन्त्री बनेका थिए । जापानको संवैधानिक इतिहासमा प्रधानमन्त्री बन्ने उनीहरू पहिलो बाबुछोरा थिए । प्रधानमन्त्रीका रूपमा फुकुदाले जापान र चीनबीचको सम्बन्ध सुधारमा विशेष पहल गरेका थिए । उनको कार्यकालमा तत्कालीन चिनियाँ राष्ट्रपति हु चिन्ताओसँग पारस्परिक भ्रमणको व्यवस्था भएको थियो । साथै, पूर्वी चीन सागरमा रहेका ग्यास क्षेत्रको संयुक्त विकासबारे दुवै देशबीच सहमति जुटाउन उनले भूमिका खेलेका थिए । सरकारप्रतिको जनसमर्थन कमजोर भएपछि फुकुदाले सन् २००८ को सेप्टेम्बरमा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले सन् २०१२ को तल्लो सदनको निर्वाचनमा उम्मेदवारी नदिई सक्रिय राजनीति त्यागेका थिए । जापानकी वर्तमान प्रधानमन्त्री सानाए ताकाइचीले उनको निधनप्रति दुःख व्यक्त गर्दै कठिन समस्याहरू समाधान गर्न फुकुदाले देखाएको अनुभव र दूरदृष्टिको प्रशंसा गरेकी छन् । १०- दशैँपछिको पहिलो कारोबार दिनमा नेप्सेमा गिरावट आएको छ । आज सोमबार नेप्से ४.३४ अंकले घटेर २६२९.८२ विन्दुमा पुगेर रोकिएको छ । आज ३४१ कम्पनिका एक करोड ३ लाख ४३ हजार ७०९ कित्ता शेयर ४ अर्ब २४ लाख २१ हजार १६८ मा कारोबार भएको थियो । आज हाइड्रो, उत्पादन, म्युचुअल फन्ड र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी बेनी हाइड्रोको शेयर १४.९९ प्रतिशतले बढेको छ भने माथिल्लो मैलुन खोला जलविद्युतको शेयर ५.८१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी चिर्ख्वा हाइड्रोको शेयर ७.९२ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी घलेम्दी हाइड्रोको २३ करोड ६६ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको २० करोड ५८ लाख बराबरको कारोबार भएको छ । ११- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नयाँ दिल्लीमा दिएको ‘नेपालमा भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । उनले उक्त अभिव्यक्ति गैरकूटनीतिक, असान्दर्भिक र नेपालको स्वाभिमान तथा राष्ट्रिय हितमा आँच पुर्याउने खालको भएको बताएका छन् । ज्ञवालीले विदेशी भूमिमा सरकारी पदाधिकारीले आफ्नो देशको आन्तरिक राजनीतिक मतभिन्नताबारे बोल्नु उचित नहुने बताएका छन् । नेपालमा कहिल्यै भारतविरोधी राष्ट्रवादको युग नरहेको उल्लेख गर्दै उनले नेपालले सधैँ सार्वभौम समानता, पारस्परिक हित र सम्मानमा आधारित मित्रतापूर्ण सम्बन्ध चाहेको बताएका छन्। कुनै व्यक्ति वा समूहको दृष्टिकोणलाई समग्र राष्ट्रको प्रतिनिधित्व गर्ने धारणा मान्न नसकिने उनको भनाइ छ । नेपाल र भारतबीच रहेका विभिन्न समस्याबारे चर्चा गर्दै ज्ञवालीले सीमा विवाद, सन् १९५० को सन्धिका केही प्रावधान, नेपाली उत्पादनलाई भारतीय बजारमा प्रवेश गर्न हुने कठिनाइ, बढ्दो व्यापार घाटा र सीमामा बनाइएका एकतर्फी बाँधका कारण नेपाली भूमि डुबानमा पर्ने समस्यालाई उठाएका छन्। नेपालले पाउनुपर्ने वैकल्पिक हवाई प्रवेश मार्गका विषयमा पनि भारतले आनाकानी गरिरहेको उनको आरोप छ । छिमेकी मुलुकसँग यस्ता विषयमा खुलस्त छलफल गर्नुपर्ने उल्लेख गर्दै ज्ञवालीले समस्यालाई लुकाएर सम्बन्ध बलियो नहुने बताएका छन् । उनका अनुसार यी विषय उठाउनु कुनै देशको विरोध नभई नेपालको राष्ट्रिय हितसँग सम्बन्धित विषय हो। राष्ट्रिय हितको रक्षा गर्नु हरेक सरकारको दायित्व भएको उनले बताएका छन् । ज्ञवालीले नेपाल र भारतबीचका समस्याको समाधानका लागि बलियो राष्ट्रिय एकता र सहमतिका आधारमा गम्भीर कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिएका छन् । यथार्थलाई ढाकछोप गरेर अपनाइने तुष्टीकरणको नीतिले राष्ट्रिय हित र स्वाभिमान बलियो नबनाउने भन्दै उनले सम्बन्ध सुधारका लागि समस्याको स्पष्ट पहिचान र समाधान आवश्यक रहेको बताएका छन् । १२- वरिष्ठ गायक आनन्द कार्की र गायक दुर्गेश थापाबीच ‘दुश्मन हेरेको हेर्यै’ गीतलाई लिएर विवाद भएको छ । वरिष्ठ गायक कार्कीले प्राइम टिभीको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा आफूलाई दुर्गेशले गीत गाउन लगाएर भिडियोमा सुटिङसमेत भएको तर त्यसपछि दुर्गेश सम्पर्कविहीन बनेको बताएका थिए । गीत रिलिज भएपछि सुपरहिट भए पनि आफूलाई दिनुपर्ने पारिश्रमिक नदिएको र ‘अग्रज दाइ’ भनेर एकपटक सम्झेर धन्यवादसमेत नदिएको उनको गुनासो गरेका थिए । उनले त्यसपछि अहिलेसम्म दुर्गेशसँग भेट नभएको बताएका थिए । कार्कीले भनेका छन्-‘दुश्मन हेरेको हेरै गीत गर्यौं, गीतको रेकर्डिङ भयो सुटिंग पनि भयो अनि भाई एक्कासी गायब भयो र मलाई अलिकति फिल पनि भयो, भाईले पेमेन्ट पनि गरेन, थ्याँक्यु पनि भनेन । त्यसपछि मेरो गुनासो थियो । त्यसपछि भेट भएको छैन । एक पटक अडियोको रोयल्टी लिन सबै गायकको हस्ताक्षर चाहिने भएकोले एउटा केटा पठाएका थिए । अनि मैले यो गीतको पेमेन्ट भएको छैन भनेर फोन गरेर भनेको थिए । मैले धेरै दिन त सक्दिन २५ हजार दिन सक्छु भनेर दिएका थिए ।’ कार्कीको अभिव्यक्तिपछि दुर्गेश थापाले प्रेस विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरेका छन् । दुर्गेशका अनुसार ‘दुश्मन हेरेको हेर्यैमा’ गीतमा आनन्द कार्कीसँग सहमति भएको पारिश्रमिक पहिल्यै भुक्तानी गरिसकिएको र त्यसको प्रमाणसमेत सार्बजनिक गरेका छन् । दुर्गेशले अग्रज कलाकारप्रति आफ्नो सम्मान सधैँ रहेको बताउँदै कुनै विषयलाई पूर्ण सन्दर्भ नबुझी व्याख्या गर्दा गलत बुझाइ उत्पन्न हुन सक्ने बताएका छन् । दुर्गेशले सार्बजनिक गरेको गीतको आधिकारिक हकवालासम्बन्धि सहमतिमा कार्कीसहित एलिना चौहान र समीक्षा अधिकारीको हस्ताक्षर रहेको छ । जुन सहमति रोयल्टी लिनका लागि गरेको कार्कीले अन्तर्वार्तामा उल्लेख समेत गरेका छन् । १३- बलिउड अभिनेता टाइगर श्रफको कारमा गोली प्रहार भएको घटनाको अनुसन्धानका क्रममा नयाँ खुलासा भएको छ । भारतीय मिडिया द इन्डियन एक्सप्रेसका अनुसार, आक्रमणकारीको वास्तविक निशाना अभिनेता आमिर खान रहेको थिए । तर, आमिरसम्म पुग्न कठिन भएपछि उनीहरूले टाइगरलाई निशाना बनाएको बताइएको छ । गत सेप्टेम्बर २० मा मुम्बई आएका आक्रमणकारीले आमिर खानको बान्द्रास्थित घरको तीन पटक निगरानी गरेका थिए । आमिर चलचित्रको छायाङ्कनमा व्यस्त रहने र सुरक्षाका कारण उनीसम्म पुग्न कठिन भएपछि आक्रमणकारीले आफ्नो योजना परिवर्तन गरेको बताइएको छ । लरेन्स गिरोहले जुलाईमा सामाजिक सञ्जालको सन्देश र श्रव्य सामग्रीमार्फत आमिरलाई धम्की दिएको पनि समाचारमा उल्लेख छ । आमिरलाई निशाना बनाउन सम्भव नभएपछि आक्रमणकारीले अक्टोबरको पहिलो सातादेखि टाइगर श्रफको गतिविधिमाथि निगरानी गर्न थालेका थिए । उनीहरूले तीन हजार भारतीय रुपैयाँमा ट्याक्सी भाडामा लिएर बान्द्रा र अन्धेरी क्षेत्रमा विभिन्न कलाकारका घरको रेकी गरेको अनुसन्धानमा खुलेको जनाइएको छ । अक्टोबर १४ देखि १८ सम्म उनीहरू अन्धेरीस्थित आरआर रेजिडेन्सी होटलमा बसेका थिए । अक्टोबर १८ मा जुहूस्थित पुष्पा नरसी पार्कमा फुटबल खेलेर फर्किने क्रममा टाइगरको कारमा आक्रमण भएको थियो । आक्रमणकारीले कारमाथि पाँचदेखि सात राउन्ड गोली चलाएको बताइएको छ । घटनामा टाइगरका चालक घाइते भएका थिए । चालक घाइते भएपछि टाइगर आफैँले गाडी चलाएर अस्पताल पुर्याएको समाचारमा उल्लेख छ । प्रहरीले घटनाको अनुसन्धानका क्रममा राजस्थान, उत्तर प्रदेश र हरियाणाबाट हालसम्म १० जना संदिग्धलाई पक्राउ गरेको जनाइएको छ । उनीहरूसँग सोधपुछ गरी घटनामा संलग्न अन्य व्यक्ति तथा आक्रमणको योजनाबारे अनुसन्धान भइरहेको छ । आमिरलाई धम्की दिने र टाइगरमाथि आक्रमण गर्ने घटनाबीचको सम्बन्धबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ । १४- नेपाली कांग्रेसका सभापति गगन थापाले वर्षौंको संघर्ष, मेहनत र समर्पणका कारण नेपाली क्रिकेट अहिलेको अवस्थामा आइपुगेको बताएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा शुभकामना सन्देश दिँदै थापाले खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई शुभकामना व्यक्त गरेका छन् । उनले सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीहरूले गरेको योगदानको स्मरण गरेका छन् । नेपाली क्रिकेटको वर्तमान अवस्थासम्म आइपुग्न उनीहरूको निरन्तर संघर्ष, मेहनत र समर्पण महत्त्वपूर्ण रहेको थापाको भनाइ छ । उनले भनेका छन्- ‘नेपाली क्रिकेट आज जुन स्थानमा आइपुगेको छ, त्यसका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको छ। सीमित स्रोतसाधन र अनेक कठिनाइका बीच पनि नेपाली क्रिकेटलाई यहाँसम्म पुर्याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक र क्रिकेटप्रेमीहरूलाई यस अवसरमा सम्झँदै, नेपाली क्रिकेटले आगामी दिनमा अझ धेरै उचाइ हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ १५- गत साताको नेपाली बक्स अफिसको रिपोर्ट सार्बजनिक भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको कार्तिक ८ गते आइतबारसम्मको चलचित्र गौथली, पेन्सन पट्टा, आ बाट आमा- २, बा: एक योद्धा, छ माया छपक्कै र १२ गाउँ- २ को बक्स अफिस रिपोर्ट सार्बजनिक गरेको हो । जसअनुसार साउन १ गतेदेखि प्रदर्शन भएको गौथलीले बक्स अफिसमा अहिलेसम्म २६ करोड ३ लाख १४ हजार कमाई गरेको छ । त्यस्तै यस फिल्मले ९ लाख ४४ हजार ८१७ टिकट बिक्री गरेको छ । त्यसैगरी भदौ २६ गतेदेखि प्रदर्शनमा आएको चलचित्र पेन्सन पट्टाले अहिलेसम्म १० करोड २३ लाख ५६ हजार कमाई गरेको छ भने यस चलचित्रका ३ लाख ६० हजार ५९३ टिकट विक्री भएका छन् । त्यसैगरी, असोज ९ गतेदेखि नै प्रदर्शनमा आएको फिल्म बा: एक योद्धाले अहिलेसम्म ३ करोड ५१ लाख ३९ हजार कमाई गरेको छ । यस फिल्मका एक लाख २६ हजार १८२ टिकट विक्री भएका छन् । त्यस्तै, असोज ३० गतेबाट प्रदर्शनमा आएको आ बाट आमा- २ चलचित्रले बक्स अफिसमा ४ करोड ११ लाख ४६ हजार कमाई गरेको छ । यस चलचित्रका एक लाख ३१ हजार ४९१ टिकट विक्री भएका छन् । त्यसैगरी, असोज ३१ गतेबाट प्रदर्शनमा आएको छ माया छपक्कै २ ले अहिलेसम्म २ करोड ७६ लाख ३९ हजार कमाइ गरेको छ भने यस चलचित्रका ८२ हजार ७८९ टिकट विक्री भएका छन् । त्यस्तै, असोज ३० गतेदेखि प्रदर्शनमा आएको १२ गाउँ २ ले अहिलेसम्म एक करोड ८३ लाख ९४ हजार कमाई गरेको छ । यस चलचित्रका हालसम्म ५७ हजार ९८३ टिकट विक्री भएका छन् । १६- ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित भएपछि फ्लाभियो बोल्सोनारोले निर्वाचन परिणाममाथि प्रश्न उठाउँदै त्यसलाई रद्द गर्न माग गरेका छन् । उनले निर्वाचनको परिणाम स्वीकार गर्न नसकिने बताएका छन् । अन्तिम मतपरिणामअनुसार लुइज इनासियो लुला दा सिल्भाले ५१.७९ प्रतिशत मत प्राप्त गर्दा बोल्सोनारोले ४८.२१ प्रतिशत मत पाएका छन् । बोल्सोनारोले निर्वाचनका क्रममा ‘खेलका नियम परिवर्तन गरिएको’ आरोप लगाउँदै परिणाम रद्द गर्नुपर्ने बताएका छन् । उनले आफ्नो पहिलो सार्वजनिक प्रतिक्रियामा निर्वाचन रद्द गराउन आफ्नो चुनावी टोलीका कानुन व्यवसायीलाई अदालतमा निवेदन दिन निर्देशन दिने बताएका छन् । उनले उठाएको मुख्य विषय सर्वोच्च अदालतले मतदानको समय दुई घण्टा थप्ने निर्णय हो । यो असामान्य निर्णय भए पनि लुला र बोल्सोनारो दुवै पक्षका चुनावी टोलीले मतदानको समय थप्न औपचारिक अनुरोध गरेका थिए । लुलाको टोलीले साओ पाउलो र बाहिया राज्यमा बसको अभावका कारण मतदातालाई मतदान केन्द्रसम्म पुग्न कठिन भएको तर्क गरेको थियो । त्यस्तै, बोल्सोनारोको टोलीले देशको दक्षिणी क्षेत्र र साओ पाउलोका केही स्थानमा परेको भारी वर्षालाई कारण देखाउँदै मतदानको समय थप्न आग्रह गरेको थियो । अब बोल्सोनारोको कानुनी टोलीले निर्वाचन परिणाम रद्द गर्नुपर्ने मागको समर्थनमा अदालतमा पेस गर्ने तर्क तयार पारिरहेको छ । १७- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह कात्तिक १२ गते हुने भएको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार शपथ ग्रहण समारोह कात्तिक १२ गते दिउँसो २ बजे सानेपास्थित केन्द्रीय कार्यालयमा हुने भएको छ। समारोहमा महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन आग्रह गरिएको छ । यसअघि बडादशैँको फूलपातीको दिन पारेर सभापति गगन थापाले पद तथा गोपनियताको शपथ लिदै कार्यभार सम्हालिसकेका छन् । १८- नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आजदेखि शुरु हुदैछ । आइसीसीले मान्यता दिएपछि टेस्ट खेल्ने देशका खेलाडीहरुले सहभागिता जनाइरहेका बेला पाकिस्तानी खेलाडीको सहभागितामा भने अन्योल बढेको छ । पाकिस्तान क्रिकेट बोर्डले एनओसी दिएर कतिपय खेलाडी काठमाडौँ आइसकेपछि प्रति खेलाडी अतिरिक्त २५ हजार डलर माग गरेपछि पाकिस्तानी खेलाडीहरुको एनपीएलमा सहभागितामा अन्योल भएको हो । पाकिस्तान बोर्डले राखेको शर्त पुरा गर्न फ्रेन्चाइजहरुले नसक्ने बताएपछि नेपाल क्रिकेट संघ (क्यान) ले सहजीकरणको प्रयास गरेपनि सफल नभएको बताइएको छ । यस्तो अवस्थामा पाकिस्तानी खेलाडी एनपीएल खेल्न नसक्ने अवस्था बनेको बताइएको छ । क्यानले अन्तिम निर्णय गर्ने अधिकार फ्रेन्चाइजीलाई दिएको भएपनि टिमले अतिरिक्त २५ हजार डलर तिर्न सक्ने अवस्था नरहेको बताएका छन् । यस सिजनका लागि सुदूरपश्चिम रोयल्सले हैदर अलीलाई, कर्णाली याक्सले साहिबजादा फरहान र हुसेन तलातलाई, जनकपुर बोल्ट्सले इफ्तिखार अहमद र हुनैन शाहलाई तथा चितवन राइनोजले मोहमद नवाज, हसन अली र उसमा मीरलाई भित्र्याएका छन् । पाकिस्तान बोर्डले यसअघि एनओसी दिएका खेलाडीको अनुमति तत्कालका लागि रोकिएको बताइएको छ । पाकिस्तानका टी-२० कप्तान साहिबजादा फरहान र हुसेन तलत नेपाल आइसकेका छन् भने अन्य खेलाडी विवाद भएपछि नेपाल आउने नआउने अनिश्चित भएको छ । १९- प्रधानमन्त्री बालेन्द्र शाहले आजदेखि सुरु हुने ‘नेपाल प्रिमियर लिग’ (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत सन्देश दिदै प्रधानमन्त्री शाहले केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका हुन् । प्रधानमन्त्री शाहले एनपीएल नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भएको बताउँदै यस अवसरमा सम्पूर्ण नेपाली खेलाडी, आयोजक र नेपाल क्रिकेट संघ (क्यान) लाई शुभकामना दिएका छन् । साथै, उनले प्रतियोगितामा सहभागी हुन आएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडी तथा कमेन्टेटरहरूलाई पनि स्वागत गरेका छन् । उनले भनेका छन्- ‘नेपालको सबैभन्दा ठूलो खेलकुद इभेन्ट, नेपाल प्रिमियर लिग (एनपिएल) आजदेखि सुरु हुँदैछ र यो केही वर्षमै एक ठूलो खेलकुद उत्सवको रूपमा विकसित भएको छ। लिगमा जोडिनुभएका सम्पूर्ण अन्तर्राष्ट्रिय खेलाडीहरू, कमेन्टेटरहरूलाई हार्दिक स्वागत छ र यो सुन्दर इभेन्टको लागि सम्पूर्ण नेपाली खेलाडीहरू, आयोजकहरू र क्यानलाई हार्दिक शुभकामना । नेपाली क्रिकेट सधैं अमर रहोस्।’ २०- स्पेनिस ला लिगाअन्तर्गत बहुप्रतीक्षित एल क्लासिकोमा रियल म्याड्रिडले बार्सिलोनालाई २–१ गोलले पराजित गरेको छ । गएराति सम्पन्न खेलमा जित निकाल्दै रियल म्याड्रिडले चिरप्रतिद्वन्द्वी बार्सिलोनामाथि महत्त्वपूर्ण सफलता हासिल गरेको हो । रियल म्याड्रिड र बार्सिलोनाबीचको प्रतिस्पर्धालाई विश्व फुटबलकै चर्चित भिडन्तमध्ये एक मानिन्छ । दुवै टोलीका समर्थकले निकै चासोका साथ हेर्ने यस खेलमा रियल मड्रिडले बार्सिलोनालाई उसकै मैदानमा पराजित गरेको छ । खेलको ४१औँ मिनेटमा किलियन एम्बाप्पेले गोल गर्दै रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा बार्सिलोनाका राफिन्हाले ६१औँ मिनेटमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएका थिए। तर, खेलको ८७औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि रियल म्याड्रिडले २–१ को जित पक्का गरेको थियो । यस जितसँगै रियल म्याड्रिडले जारी सिजनको लिगमा बार्सिलोनालाई पहिलो हार चखाएको छ । बार्सिलोना १० खेलबाट २७ अंकसहित शीर्ष स्थानमा कायम छ भने एट्लेटिको मड्रिड २६ अंकसहित दोस्रो र रियल मड्रिड २४ अंकसहित तेस्रो स्थानमा रहेका छन् । रियलले यस जितसँगै शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी तीनमा झारेको छ । The post यी हुन् आज दिनभरका प्रमुख २० समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक लोकार्पण
काठमाडौँ, कात्तिक ९ गते । नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउने सरकारी पहलअन्तर्गत चिनियाँ भाषामा अनूदित छ वटा नेपाली पुस्तक चीनको छेन्दुमा लोकार्पण गरिएको छ। यहि अक्... ...

फूलखेती आम्दानीको मुख्य स्रोत
घोराही (दाङ), कात्तिक ९ गते । दाङमा फूलखेती व्यवसायप्रति किसानको आकर्षण बढ्दै गएको छ । अन्य खेतीभन्दा सजिलो र आम्दानी बढी पाउने भएकाले किसानहरु फूलखेतीप्रति आकर्षित भएका हुन् ।यति... ...

प्रचण्डले कटवाललाई बर्खास्त गर्न बालुवाटार बोलाउँदा भैरवनाथ गणको सेनाले बालुवाटार घेरेको राष्ट्रपति यादवको सल्लाहकारको खुलासा
काठमाडौं : तत्कालीन सरकारले बर्खास्त गर्ने तयारीसहित प्रधानसेनापति रुक्माङगत कटवाललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा बोलाएको बेलामा प्रधानमन्त्री निवास बालुवाटार सेनाले घेरेको खुलेको छ। प्रचण्डले २०६६ वैशाख २० मा कटवाललाई बर्खास्त गरेका थिए। तत्कालीन राष्ट्रपति डा.रामवरण यादवको कानुनी सल्लाहकार रहेका ललित बस्नेतले पत्रकार सुधीर शर्माको अनि अब कार्यालय… ...
.jpeg)
तिहारसम्म मुस्ताङको ८० प्रतिशत स्याउ निकासी हुने अनुमान
हरिकृष्ण शर्माकाठमाडौँ, कात्तिक ९ गते । मुस्ताङको घरपझोङ गाउँपालिका–२, मार्फामा स्याउ टिप्दै गरेको बगैँचामा पर्यटक घुम्दै खरिद गर्न आइपुग्छन् । दसैँ अगाडि करिब ५० प्रतिशत स्याउ नि... ...


