Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/यी हुन् आज दिनभरका प्रमुख २० समाचार

यी हुन् आज दिनभरका प्रमुख २० समाचार

Share:WhatsAppFacebookX (Twitter)Telegram
यी हुन् आज दिनभरका प्रमुख २० समाचार

काठमाडौं । देशभित्र र बाहिरका राजनीतिक गतिविधिदेखि अर्थतन्त्र, समाज, खेलकुद, अन्तर्राष्ट्रिय घटनाक्रम र अन्य महत्वपूर्ण विषयसँग सम्बन्धित आज दिनभरका प्रमुख २० समाचार यस प्रकार रहेका छन् । १- बंगालको खाडीमा विकसित भइरहेको न्यून चापीय प्रणाली बलियो बन्दै चक्रवातमा परिणत हुन सक्ने मौसम पूर्वानुमान गरिएको छ । यसको प्रभाव आगामी बुधबारदेखि नेपालमा देखिन थाल्ने र बिहीबारदेखि विस्तार हुने सम्भावना छ। शुक्रबार र शनिबार मौसमको प्रभाव थप बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसम विज्ञान विभागका अनुसार बुधबार देशभर सामान्यतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा तथा हिमपात र पहाडी क्षेत्रमा छिटपुट वर्षाको सम्भावना छ। बिहीबारदेखि भने कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ । बिहीबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा वा हिमपातको सम्भावना पनि रहेको छ। लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत वर्षा र हिमपात हुन सक्ने विभागको पूर्वानुमान छ । मौसममा हुन सक्ने परिवर्तनलाई ध्यानमा राख्दै किसानलाई धान काट्ने तथा भित्र्याउने योजना बनाउँदा सावधानी अपनाउन सुझाव दिइएको छ। त्यस्तै, यात्रा तथा उच्च हिमाली क्षेत्रमा पदयात्रा गर्नेहरूले मौसमको पछिल्लो जानकारी लिएर मात्रै योजना बनाउनुपर्ने देखिएको छ । सम्भावित वर्षा र हिमपातका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा भूक्षयको जोखिम बढ्न सक्ने विभागले जनाएको छ। प्रतिकूल मौसमले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र विभागका पछिल्ला सूचनामा अद्यावधिक रहन आग्रह गरिएको छ । २- सप्तकोसी नदीमा आइतबार भएको मोटरबोट दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् । धनकुटा, उदयपुर र भोजपुरको संगमस्थल त्रिवेणीमा दिउँसो करिब २ बजे दुर्घटना भएको हो । भोजपुरबाट बराहक्षेत्रतर्फ आउँदै गरेको मोटरबोटमा १४ जना सवार थिए । दुर्घटनापछि बेपत्ताको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरी बलको गोताखोरसहितको टोली परिचालन गरिएको छ । बेपत्ताको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । ३- टेस्ला र स्पेसएक्सका प्रमुख एलन मस्कले युक्रेनमा स्टारलिङ्क इन्टरनेट सेवाको प्रयोगमा प्रतिबन्ध लगाइएको बताएका छन् । उनले युक्रेनले सेवाका सर्त उल्लङ्घन गर्दै सैन्य गतिविधिका लागि स्टारलिङ्क प्रयोग गरेको आरोप लगाएका छन् । मस्कले अमेरिकी सैन्य प्रयोजनको स्याटेलाइट सञ्जाल ‘स्टारसिल्ड’ मा आएको समस्याका लागि आफू जिम्मेवार नभएको पनि स्पष्ट पारेका छन् । उनका पछिल्ला दाबीबारे युक्रेनले आधिकारिक प्रतिक्रिया दिएको छैन । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका सल्लाहकार सेर्ही बेस्क्रेस्नोभले भने मस्कको भनाइलाई ‘निकै अनौठो’ बताएका छन् । यसअघि मस्कले आफूले जानाजानी युक्रेनको इन्टरनेट गति घटाएको भन्ने आरोप अस्वीकार गरेका थिए । युक्रेनका अनुसार इन्टरनेट सेवामा आएको समस्याले एक साताभन्दा बढी समयसम्म सैन्य रक्षात्मक गतिविधि सञ्चालन गर्न कठिनाइ भएको थियो । स्टारलिङ्क र स्टारसिल्ड सेवाको गति सामान्य भएपछि राष्ट्रपति जेलेन्स्कीले सामाजिक सञ्जालमार्फत अमेरिकालाई धन्यवाद दिएका थिए । उनले अग्रपङ्क्तिमा तैनाथ सैनिकको रसद व्यवस्थापन तथा जेट इन्जिनयुक्त ‘शाहेद’ ड्रोन आक्रमणविरुद्धको रक्षाका लागि यी सेवा महत्त्वपूर्ण रहेको बताएका थिए । यो विवाद गत साता अमेरिकी र युक्रेनी पक्षबीच रुसी तेल पूर्वाधारमाथि युक्रेनले गरेका आक्रमणका विषयमा तनाव बढिरहेका बेला सार्वजनिक भएको थियो । ४- राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर दुर्गा भवानीको पूजाअर्चना गरेका छन् । भक्तपुरको नवदुर्गा मन्दिर परिसरमा राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका पदाधिकारी, जनप्रतिनिधि र स्थानीयले स्वागत गरेको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको दर्शन तथा अवलोकन गरी पुजारी, नाइके र देवगणलाई दक्षिणा प्रदान गरेका थिए । नवदुर्गा मन्दिर परिसरमा ब्रहमायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली देवीको पूजा गरिन्छ । सो अवसरमा राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइकेले प्रदान गरेका थिए । दसैँको अन्तिम दिन कोजाग्रत पुर्णिमाको दिन राष्ट्र प्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको पूजाअर्चना गर्ने प्रचलन रही आएको छ । ५- नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको विजेताले एक करोड ५० लाख रुपैयाँ पाउने भएको छ । आइतबार नेपाल क्रिकेट संघ (क्यान) ले पत्रकार सम्मलेन आयोजना गर्दै प्रतियोगिताको विजेताले पाउने रकमबारे जानकारी दिएको हो । त्यस्तै, उपविजेताले ८० लाख पाउने छ भने तेस्रो हुनेले ४० लाख र चौथो हुनेले ३० लाख पाउने भएको छ । यसअघि दोस्रो सिजनमा विजेतालाई १ करोड १० लाख रुपैयाँ पुरस्कार दिइएको थियो भने उपविजेताले ५१ लाख नगद पाएका थिए । त्यसैगरी तेस्रो हुने टिमले २५ लाख र चौथो स्थान हासिल गरेको टिमले १५ लाख नगद प्राप्त गरेका थिए । ६- काठमाडौँ महानगरपालिकाले काठमाडौँ फिल्म फेस्टिभलको पूर्वसन्ध्यामा आइतबार १० किलोमिटर दूरीको ‘काठमाडौँ फिल्म फेस्टिभल हेरिटेज रन’ (सम्पदा दौड) आयोजना गरेको छ। बिहान ६ बजे वसन्तपुरबाट सुरु भएको दौड विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदा क्षेत्र हुँदै पुनः वसन्तपुरमै पुगेर समापन भएको थियो । दौडका लागि ७०४ जनाले नाम दर्ता गराएका थिए । तीमध्ये १५२ महिला र ५५२ पुरुष छन् । निर्धारित समयभित्र नाम दर्ता गराएका ५५० धावकबीच प्रतिस्पर्धा हुनेछ भने अन्य १२४ जनाले प्रतियोगिताबाहिर रहेर दौडमा सहभागिता जनाएका थिए । धावकलाई प्रोत्साहन गर्न लगातार तीनवटा प्यारालिम्पिकमा स्वर्ण, रजत र कांस्य पदक जितेकी अस्ट्रेलियाली खेलाडी क्याट्रिना वेब सहभागी हुने कार्यक्रम छ । नेपाली धावक सन्तोषी श्रेष्ठ र हरिबहादुर रोकायालगायत खेलाडीले पनि धावकलाई प्रोत्साहन गरेका छन् । दौडमा काठमाडौँ महानगरपालिकाका १३ वटा वडा समेटेको छ । वसन्तपुरबाट सुरु हुने मार्ग इन्द्रचोक, असन, जमल, दरबारमार्ग, नागपोखरी, नक्साल, हाँडीगाउँ, मालीगाउँ, कालोपुल, गौशाला, मैतीदेवी, डिल्लीबजार, रामशाहपथ, भद्रकाली, सहिदगेट, धरहरा र न्युरोड हुँदै पुनः वसन्तपुर पुरेको थियो । महिला र पुरुष दुवै समूहका प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५० हजार, ३० हजार र २० हजार रुपैयाँ पुरस्कार पाएका छन् भने दौड पूरा गर्ने सबै धावकलाई पदक प्रदान गरिएको छ । महानगरपालिकाको आयोजनामा कात्तिक १३, १४ र १५ गते काठमाडौँ फिल्म फेस्टिभल आयोजना हुँदैछ । महोत्सवमा युवा चुनौती, नेपाल पानोरामा र अन्तर्राष्ट्रिय पानोरामा विधाअन्तर्गत ४० वटा चलचित्र, लघुचलचित्र तथा वृत्तचित्र प्रदर्शन गरिनेछन् । साथै रेड कार्पेट, विशेष प्रशिक्षण कक्षा, छलफल र पुरस्कार वितरणलगायत कार्यक्रम पनि सञ्चालन हुनेछन् । ७- भारतको रिलायन्स समूहअन्तर्गतको जियो प्लेटफर्म्सको प्राथमिक सेयर निष्कासनमा लगानीकर्ताको अभूतपूर्व आकर्षण देखिएको छ । कम्पनीको आईपीओमा करिब १ करोड ३९ लाख आवेदन परेको छ भने कुल माग ७ लाख ४० हजार करोड भारु अर्थात् ७.४ लाख करोड भारुभन्दा बढी पुगेको छ । अक्टोबर २१ देखि २३ सम्म खुलेको आईपीओमा उपलब्ध सेयरको तुलनामा २२.१९ गुणा बढी आवेदन परेको थियो । सार्वजनिक निष्कासनअन्तर्गत मात्रै ४.९ लाख करोड भारुभन्दा बढीको आवेदन परेको छ । आईपीओ खुलेको करिब १०० मिनेटमै पूर्ण आवेदन प्राप्त हुनु पनि भारतीय सेयर बजारको ठूलो निष्कासनमा नयाँ कीर्तिमान बनेको छ । आईपीओमा संस्थागत लगानीकर्ताको आकर्षण सबैभन्दा बढी देखिएको छ । योग्य संस्थागत लगानीकर्ताको समूहमा उपलब्ध सेयरको तुलनामा करिब ७०.५५ गुणा आवेदन परेको छ । गैरसंस्थागत लगानीकर्ताको समूहमा १४ गुणा र सर्वसाधारणका लागि छुट्याइएको सेयरमा २.७२ गुणा आवेदन परेको छ । जियो प्लेटफर्म्सले आईपीओमार्फत ३० हजार २१३ करोड भारु जुटाउने लक्ष्य राखेको छ । प्रतिकित्ता १ हजार ६५ देखि १ हजार ११९ भारु मूल्य तोकिएको निष्कासनबाट प्राप्त रकमको ठूलो हिस्सा सहायक कम्पनी रिलायन्स जियो इन्फोकमको ऋण भुक्तानीमा प्रयोग गर्ने योजना छ । आईपीओको माथिल्लो मूल्यका आधारमा जियो प्लेटफर्म्सको मूल्याङ्कन करिब १०.८ लाख करोड भारु पुगेको छ । कम्पनीको सेयर अक्टोबर २८ मा भारतीय सेयर बजारमा सूचीकृत हुने अपेक्षा गरिएको छ । दूरसञ्चारसँगै डिजिटल सेवा, कृत्रिम बुद्धिमत्ता र क्लाउड प्रविधिमा विस्तार गर्ने जियोको योजनालाई पनि लगानीकर्ताको आकर्षणको एउटा कारण मानिएको छ । ८- वैतडीमा भूकम्पको धक्का महसुस गरिएको छ । बैतडीको आरीगाउँ आसपास केन्द्रविन्दु भएर आज दिउसो १ बजेर ६ मिनेट जादा ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । ९- पाकिस्तानका तीव्र गतिका बलर हसन अलीले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण चितवन राइनोजबाट खेल्ने भएका छन् । चितवनले हसन अलीलाई भित्र्याएको जानकारी दिएको हो । पाकिस्तानका अनुभवी दायाँहाते मध्यम तीव्र गतिका बलर हसनले पाकिस्तानका लागि तीनै प्रारूपको अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । जस अनुसार उनले टेस्टमा ८८, एकदिवसीयमा १०२ र टी–२० अन्तर्राष्ट्रियमा ७२ विकेट लिएका छन् । हसन अलीले सन् २०१७ को च्याम्पियन्स ट्रफीमा पाकिस्तानलाई उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उक्त प्रतियोगितामा उनी सर्वाधिक विकेट लिने बलर बनेका थिए र उत्कृष्ट खेलाडी घोषित भएका थिए । चितवनमा रवि भोपारा, सिकन्दर राजा लगायतका विदेशी खेलाडी रहेका छन् । १०- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमण पूरा गरी स्वदेश फर्किएका छन् । स्वदेश फर्कनुअघि उनले चीनको दान्दोङस्थित कोरियाली युद्ध स्मारकको भ्रमण गर्नुका साथै चीन र उत्तर कोरियालाई जोड्ने नवनिर्मित पुलको उद्घाटन गरेका छन् । उत्तर कोरियाली सरकारी समाचार संस्थाका अनुसार किमले कोरियाली युद्धका बेला चिनियाँ जनतासँग मिलेर लडेका गौरवशाली वर्षहरूलाई आफ्नो देशले सधैँ स्मरण गर्ने बताएका छन् । उनले युद्धका क्रममा उत्तर कोरियालाई सहयोग गर्ने चिनियाँ जनताप्रतिको कृतज्ञता भावी पुस्तासम्म पुर्‍याउनुपर्नेमा जोड दिएका छन् । वर्षौँको ढिलाइपछि उद्घाटन गरिएको नयाँ पुललाई चीन र उत्तर कोरियाबीच व्यापार तथा आर्थिक सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ। चीन उत्तर कोरियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । यसअघि किमले सन् २०२५ को सेप्टेम्बरमा बेइजिङमा आयोजित सैन्य परेडमा सहभागिता जनाएका थिए। चिनियाँ राष्ट्रपति सी जीनपीङले पनि यसै वर्ष जुनमा उत्तर कोरियाको भ्रमण गरेका थिए । ११- ब्राजिलमा राष्ट्रपति निर्वाचनको दोस्रो चरणको मतदान आज हुँदैछ । वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र फ्लाभियो बोल्सोनारोबीच मुख्य प्रतिस्पर्धा रहेको छ । अक्टोबर ४ मा भएको पहिलो चरणको मतदानमा फ्लाभियोले ४७ प्रतिशत र लुलाले ४५ प्रतिशत मत प्राप्त गरेका थिए । कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएपछि दोस्रो चरणको निर्वाचन हुन लागेको हो । निर्वाचनअघिका सर्वेक्षणमा पनि दुवैबीच कडा प्रतिस्पर्धा देखिएको छ । निर्वाचन प्रचारका क्रममा दुवै उम्मेदवारले महँगी, अपराध र भ्रष्टाचारका विषयमा एकअर्काको आलोचना गरेका छन् । लुलाले न्यूनतम ज्याला वृद्धि र गरिब परिवारलाई आर्थिक सहयोग गरेको विषयलाई आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेका छन् भने फ्लाभियोले बढ्दो महँगी, ऋण र अपराधलाई सरकारको कमजोरी बताएका छन् । लुला यसअघि तीन पटक राष्ट्रपति बनिसकेका छन् र चौथो कार्यकालका लागि प्रतिस्पर्धामा छन् । फ्लाभियो पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा हुन् र उनले आफ्ना पिताको दक्षिणपन्थी राजनीतिक धारलाई अघि बढाइरहेका छन् । ब्राजिल ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थतन्त्र तथा ब्रिक्सको संस्थापक सदस्य भएकाले निर्वाचनको नतिजालाई अन्तर्राष्ट्रिय रूपमा पनि चासोका साथ हेरिएको छ । लुलाको चीन र ब्रिक्स राष्ट्रसँगको सहकार्यलाई निरन्तरता दिने नीतिको तुलनामा फ्लाभियोलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निकट मानिन्छ । १२- बडादसैंपछि आइतबार पहिलो पटक खुलेको बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३९५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ । यसअघि गत कार्तिक २ गते सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँ र चाँदीको मूल्य ४१८५ रुपैयाँ रहेको थियो । यसअनुसार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँ घटेको छ । १३- सरकारले जल तथा मौसम क्षेत्रको सुदृढीकरण, बाढी पूर्वसूचना प्रणाली प्रभावकारी बनाउन तथा विपद् जोखिम न्यूनीकरणका लागि दुईवटा श्वेतपत्र सार्वजनिक गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र र जल तथा मौसम विज्ञान विभागले आइतबार छुट्टाछुट्टै श्वेतपत्र सार्वजनिक गरेका हुन् । सरकारले छवटा प्रमुख नदी बेसिनमा बाढी पूर्वसूचना प्रणाली विस्तार गर्ने र चारवटा जोखिमयुक्त हिमतालको पानीको सतह घटाउने योजना अघि सारेको छ । मनाङको ठुलागी, सङ्खुवासभाको लोअर अरुण तथा सोलुखुम्बुका लुम्दिङ छो र होंगु–२ हिमतालको जोखिम घटाउन सन् २०२६ देखि २०३३ सम्म करिब चार करोड ९९ लाख अमेरिकी डलर लागतको ‘ग्लोफ सञ्जीवनी आयोजना’ सञ्चालन गर्ने योजना छ । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सन् २०२२ देखि २०२८ सम्म सञ्चालन हुने बाढी जोखिम व्यवस्थापन आयोजनाअन्तर्गत ७५ लाख ४० हजार अमेरिकी डलर लागतमा छवटा नदी बेसिनमा पूर्वसूचना प्रणाली जडान गरिरहेको छ । चालु आर्थिक वर्षमा कर्णाली र नारायणी नदी बेसिनका लागि नयाँ बाढी पूर्वसूचना नमुना विकास गर्ने तथा बागमती सुधार आयोजनाअन्तर्गत दुई करोड ६१ लाख रुपैयाँ लागतमा समुदायमा आधारित पूर्वसूचना प्रणाली निर्माण गर्ने योजना पनि छ । मौसम पूर्वानुमानलाई थप विश्वसनीय बनाउन कृत्रिम बुद्धिमत्ता, यन्त्र सिकाइ र उच्च क्षमताको गणना प्रणाली प्रयोग गर्ने योजना विभागले अघि सारेको छ । देशभरका ५०३ वटा म्यानुअल मौसम केन्द्रलाई क्रमशः स्वचालित केन्द्रमा स्तरोन्नति गर्ने, सुर्खेत, पाल्पा र उदयपुरका मौसमी राडार मर्मत गर्ने तथा काठमाडौँ उपत्यकामा नयाँ राडार जडान गर्ने प्रस्ताव गरिएको छ । थप छ प्रदेशमा माथिल्लो वायुमण्डलको अवस्था अध्ययन गर्ने केन्द्र स्थापना गर्ने योजना पनि छ । श्वेतपत्रमा बहुप्रकोप पूर्वसूचना प्रणालीमार्फत जोखिमयुक्त समुदायसम्म समयमै सूचना पुर्‍याउने, खुला तथ्याङ्क प्रणाली विस्तार गर्ने र वैज्ञानिक अनुसन्धानलाई प्राथमिकता दिने उल्लेख छ । यद्यपि, यी योजना कार्यान्वयन गर्न पर्याप्त बजेट, दक्ष जनशक्ति, उपकरणको नियमित मर्मतसम्भार र सरकारी निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको औँल्याइएको छ । १४- यमनका हुथी विद्रोहीले साउदी अरबको राजधानी रियादतर्फ प्रहार गरेको ब्यालिस्टिक क्षेप्यास्त्रलाई साउदी नेतृत्वको गठबन्धनले आकाशमै अवरोध गरी नष्ट गरेको छ । यसअघि रियादलाई लक्षित गरी पठाइएको एउटा मानवरहित विमान पनि प्रतिरक्षा प्रणालीले नष्ट गरेको गठबन्धनले जनाएको छ । इरानसमर्थित हुथी समूहले रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग नगर्न विमान कम्पनी, विमानस्थलका कर्मचारी र यात्रुलाई पुनः चेतावनी दिएको छ । समूहका प्रवक्ता याह्या सरीले विमानस्थल असुरक्षित रहेको र सैन्य निशानामा रहेको बताएका छन् । विमानस्थलले शनिबार जारी गरेको सूचनाअनुसार आइतबारदेखि टर्मिनल १ घरेलु उडानका लागि र टर्मिनल २ राष्ट्रिय ध्वजावाहकका अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिनेछ । यसअघि अक्टोबर १० मा हुथी आक्रमणपछि विमानस्थलको सञ्चालन रोकिएको थियो । उक्त आक्रमणमा १३ जनाको मृत्यु भएको र ३०० भन्दा बढी घाइते भएको जनाइएको छ । यसैबीच, साउदी अरबको नागरिक सुरक्षा निकायले रियादमा तत्कालको खतरा टरेको घोषणा गरेको छ । तर हुथी समूहको पछिल्लो चेतावनीले राजधानीको सुरक्षा र हवाई यातायातबारे चिन्ता कायम रहेको छ । १५- अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतको नयाँदिल्लीमा नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग सकिएको बताएपछि राजनीतिक वृत्तमा विवाद भएको छ । भारतको नयाँदिल्लीमा आयोजित ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा बोल्दै डा. वाग्लेले नेपाली राष्ट्रवादलाई भारतविरोधी भावनासँग जोडेर हेर्ने युग सकिएको उल्लेख गर्दै नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउनुपर्ने र आर्थिक सहकार्य विस्तार गर्नुपर्ने बताएका थिए । उनको अभिव्यक्तिप्रति नेकपा एमालेका नेता गोकुल बाँस्कोटा र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कमल थापाले आपत्ति जनाएका छन्। उनीहरूले भारतसँग सीमा, डुबान र नाकाबन्दीजस्ता विषयमा नेपालको हितका लागि आवाज उठाउनु भारतविरोधी राष्ट्रवाद नभएको तर्क गरेका छन् । बाँस्कोटाले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणमा सीमा विवादबारे कुरा हुने वा नहुने बारे समेत प्रश्न गरेका छन् । उनले लेखेका छन्, ‘अब यो तीव्र प्रतीक्षा भयो कि प्रम बालेनको प्रस्तावित भारत भ्रमणमा सीमा विवादबारे कुरा होला नहोला भन्ने? मनरो डक्ट्रिन अर्थमन्त्रीको भनाइले त्यो राष्ट्रघात हुन्छ। धन्न ग्रेटर नेपालको नक्सा टाँग्ने प्रम छन्। र, आस छ। नयाँ जोगीले साह्रै खरानी उडायो ।’ त्यसैगरी राप्रपा नेता कमल थापाले वाग्लेको अभिव्यक्ति नेपाली राष्ट्रियतामाथिको अवमूल्यन भएको टिप्पणी गरेका छन् । उनले नेपालको राष्ट्रवाद कुनै मुलुकको विरोधमा आधारित नभएको उल्लेख गर्दै राष्ट्रिय सरोकारका विषयलाई कमजोर बनाउने तर्क गैरजिम्मेवार भएको बताएका छन् । थापाले लेखेका छन्- ‘नेपाल–भारत सम्बन्धका सन्दर्भमा डा. स्वर्णिम वाग्लेले हालै दिल्लीमा दिनुभएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन हो । नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन। विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ ।’ उनले सीमासम्बन्धी विवाद, डुबान र नाकाबन्दीजस्ता विषयमा आवाज उठाउनु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको बताएका छन् । थापाले वाग्लेको अभिव्यक्ति विगतमा उनले अघि सारेको ‘मुनरो डक्ट्रिन’सँग सम्बन्धित छ कि भन्दै प्रश्नसमेत गरेका छन् । उनले भनेका छन्- ‘के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन् ? वाग्लेको यो अभिव्यक्ति कतै विगतमा उहाँले अघि सारेको आत्मघाती ‘मुनरो डक्ट्रिन’ कै उपज त होइन ? जिम्मेवार ओहोदामा बसेका व्यक्तिले यसको जवाफ दिनैपर्छ । के सरकारको धारणा यही हो ?’ १६- नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आव भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको छ । यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात पनि पुनः सुरु भएको छ । नेपाल विद्युत प्राधिकरणको विद्युत प्रणाली सञ्चालन विभाग (भार प्रेषण केन्द्र) को तथ्याङ्कअनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार ८ युनिट विद्युत निर्यात भएको छ । उक्त विद्युत बिक्रीबाट ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको कारोबार भएको हो । असोज महिनामा भारततर्फ विद्युत निर्यात दुई माध्यमबाट गरिएको थियो । द्विपक्षीय विद्युत बिक्री सम्झौता अनुसार भारतको हरियाणा तथा बिहार राज्यमा विद्युत बिक्री गरिएको थियो भने बाँकी विद्युत भारतीय ऊर्जा विनिमय बजार (आईएक्स) को डे—अहेड तथा रियल टाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत प्रत्येक वर्ष भारत एवम् बंगलादेशमा निर्यात गर्दै आएको छ । द्विपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअनुसार हरियाणा तथा बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत बिक्री गरिन्छ । गत वर्ष २०८२ को असोज महिनामा भारततर्फ विद्युत निर्यातबाट ४ अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । चालु आर्थिक वर्षको भदौमा यस्तो कारोबार रकम ५ अर्ब ९ करोड २५ लाख रुपैयाँ रहेको थियो । यसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार रकम ९६ करोड २० लाख रुपैयाँले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढेको छ । चालु आवको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत आयोजनाको उत्पादन बन्द भए पनि असोज महिनामा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताउनुभयो । उहाँका अनुसार असोज महिनामा भारततर्फ निर्यात गरिएको कुल विद्युत परिमाणमध्ये करिब दुई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आइएक्समार्फत बिक्री गरिएको थियो । नेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत निर्यात गत शुक्रबार, कात्तिक ६ गते साँझदेखि पुनः सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत केन्द्रमा क्षति पुर्याएपछि निर्यात रोकिएको थियो । बाढीका कारण द्विपक्षीय सम्झौता बमोजिम स्वीकृति प्राप्त जलविद्युत केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत निर्यात आंशिक रूपमा प्रभावित भएको थियो । भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट अन्य जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बताए । कार्यकारी निर्देशक श्रेष्ठले बाढीबाट प्रभावित जलविद्युत आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा परेको असरका बाबजुद अन्य आयोजनाबाट विद्युत निर्यातलाई निरन्तरता दिन सकिनु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत व्यापारका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरे । यसबाट वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युतको बजार व्यवस्थापन तथा क्षेत्रीय विद्युत व्यापार विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको उनले बताए । नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत केन्द्रको सट्टा सोलु, काबेली–१ र तल्लो मोदी जलविद्युत केन्द्रबाट उत्पादित विद्युत बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको हो । नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत निर्यातसम्बन्धी पाँचवर्षीय सम्झौता भएको थियो । सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको ६ महिनाको अवधिमा दैनिक ४० मेगावाट विद्युत बंगलादेशमा निर्यात हुँदै आएको छ । यसैबीच, भारतको केन्द्रीय विद्युत प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत निर्यात अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत क्षमता करिब १,१७९ मेगावाट पुगेको छ । १७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि अमेरिकाले भोलि नै आक्रमण गर्न सक्ने संकेत दिएका छन् । तर उनले दुवै देशबीच राम्रो सम्झौता हुन सक्ने सम्भावनालाई पनि अस्वीकार गरेका छैनन् । फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान सम्झौता गर्न चाहेको बताए । तर इरानले सम्झौताका सर्त पालना गर्छ कि गर्दैन भन्ने मुख्य प्रश्न रहेको उनको भनाइ थियो । उनले इरानका सबै लडाकु विमान नष्ट गरिएको र २५९ वटा जहाज डुबाइएको दाबीसमेत गरे । यी दाबी ट्रम्पकै भनाइमा आधारित छन् । यसैबीच, इरानले पाकिस्तानी मध्यस्थमार्फत अमेरिकासमक्ष नयाँ प्रस्ताव राखेको भन्ने खबर अस्वीकार गरेको छ । अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने बदलामा होर्मुज जलडमरूमध्य खोल्ने प्रस्तावसम्बन्धी समाचारलाई पनि इरानी पक्षले झुटो र मनगढन्ते भनेको छ । ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्य हुने आशा व्यक्त गर्दै युद्धपछि अमेरिकाले दुवै देशसँग व्यापार गर्ने बताएका छन् । १८- वेस्ट इन्डिजका अलराउन्डर फाबियन एलेनले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । सुदूरपश्चिमले एलेनलाई अनुबन्ध गरेको घोषणा गरेको छ । सुदूरपश्चिमले यसअघि वेस्ट इन्डिजका आक्रामक ब्याट्सम्यान शेरफान रुथरर्फोर्डलाई भित्र्याएको घोषणा गरको थिय । एलेन बायाँ हाते ब्याटिङ र बायाँ हाते स्पिन बलिङ गर्ने खेलाडी हुन् । उनी आक्रामक ब्याटिङ, छक्का प्रहार गर्ने क्षमता र उपयोगी बलिङका लागि परिचित छन्। उनले ब्याटिङ र बलिङ दुवैबाट टोलीलाई योगदान दिन सक्छन् । ३१ वर्षीय एलेनले वेस्ट इन्डिजको राष्ट्रिय टोलीबाट अन्तर्राष्ट्रिय क्रिकेट खेलेका छन् । उनले क्यारेबियन प्रिमियर लिगसहित विभिन्न टी–२० फ्रेन्चाइज प्रतियोगितामा पनि अनुभव बटुलेका छन्। क्यारेबियन प्रिमियर लिगमा उनले ८१ खेल खेल्दै १ हजार १२ रन बनाएका छन् र ६४ छक्का प्रहार गरेका छन् । एनपीएलको तेस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुँदैछ । उद्घाटन खेलमा सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सको सामना गर्दैछ । १९- इङ्लिस प्रिमियर लिगमा एस्टन भिल्लाले म्यानचेस्टर सिटीलाई २–१ गोलले पराजित गरेको छ भने आर्सनलले एभर्टनलाई २–० गोलले हराएको छ । गएराती सम्पन्न खेलमा एस्टन भिल्लाको घरेलु मैदानमा भएको खेलमा निकोलस ज्याक्सनले दुई गोल गरेपछि भिल्लाले सिटीमाथि जित निकालेको थियो । ज्याक्सनले खेलको छैटौँ मिनेटमा गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए। दोस्रो हाफको सातौँ मिनेट अर्थात् ५२औँ मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीलाई बराबरीमा ल्याएका थिए । तर, ६०औँ मिनेटमा ज्याक्सनले व्यक्तिगत दोस्रो गोल गरेपछि भिल्लाले पुनः अग्रता लियो र त्यसपछि सिटीले गोल फर्काउन नसक्दा भिल्ला २–१ ले विजयी भयो । यो हारसँगै सिटीको लिगमा जारी अपराजित यात्रा टुङ्गिएको छ । भिल्लाले भने लगातार तेस्रो लिग खेलमा सिटीलाई पराजित गरेको छ । त्यस्तै, गएराती नै सम्पन्न अर्को खेलमा आर्सनलले एभर्टनलाई २–० गोलले पराजित गर्दै लिगको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँग अङ्क बराबरी गरेको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा एज्री कोन्साले सातौँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। उनले मार्टिन ओडेगार्डको कर्नरपछि बनेको अवसरमा गोल गरेका थिए । दोस्रो हाफको ६८औँ मिनेटमा गाब्रिएलले बेन ह्वाइटको क्रसमा हेडरमार्फत गोल गर्दै आर्सनलको जित सुनिश्चित गरे । यस जितसँगै आर्सनलले आठ खेलबाट २१ अङ्क जोडेको छ र लिगमा दोस्रो स्थानमा छ । समान खेलबाट २१ अङ्क रहेको म्यानचेस्टर सिटी गोल अन्तरका आधारमा शिर्ष स्थानमा रहेको छ । त्यसैगरी एभर्टन भने लगातार दोस्रो लिग खेलमा पराजित भएको छ र ८ खेलमा १० अंकसहित आठौँ स्थानमा रहेको छ । २०- इजरायलमा आगामी अक्टोबर २७ मा नयाँ संसद र प्रधानमन्त्री चयनका लागि आमनिर्वाचन हुने भएको छ । सन् २०२२ पछि पहिलोपटक हुन लागेको यस निर्वाचनमा वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतान्याहु फेरि सत्तामा फर्किने प्रयासमा छन् । उनलाई गादी आइजेन्कोट नेतृत्वको विपक्षी दलले चुनौती दिने बताइएको छ । इजरायलको निर्वाचन प्रणालीअनुसार मतदाताले प्रधानमन्त्रीका उम्मेदवारलाई प्रत्यक्ष मतदान गर्दैनन्, बरु राजनीतिक दललाई मत दिन्छन् । संसदमा कुल १२० सदस्य हुन्छन् र सरकार गठन गर्न कम्तीमा ६१ सिट आवश्यक पर्छ। कुनै एउटा दलले मात्रै बहुमत ल्याउन कठिन हुने भएकाले सरकार गठनमा गठबन्धनको भूमिका निर्णायक हुन्छ । सन् २०२२ नोभेम्बर १ मा अघिल्लो निर्वाचन भएपछि गठन भएको सरकारले चार वर्षको कार्यकाल पूरा गर्न लागेको छ । उपलब्ध विवरणअनुसार, पछिल्लो ३८ वर्षमा पहिलोपटक इजरायली संसदले आफ्नो कार्यकाल पूरा गरेको हो । तर यस अवधिमा इजरायलले गाजा क्षेत्रमा हमासविरुद्ध युद्ध, लेबनानमा हिजबुल्लाहविरुद्ध सैन्य कारबाही र इरानमाथि दुईपटक आक्रमण गरेको छ। सिरियामा पनि इजरायलले लामो सैन्य अभियान चलाएको छ । इजरायलमा यसपटक करिब ७३ लाख ३१ हजार मतदाता रहेको विवरण छ । संसदमा प्रतिनिधित्व पाउन राजनीतिक दलले कम्तीमा ३.२५ प्रतिशत मत प्राप्त गर्नुपर्छ । त्यसैले साना दलले प्राप्त गर्ने मतले पनि सरकार गठनको समीकरणमा ठूलो प्रभाव पार्न सक्छ । दक्षिणपन्थी दलहरू नेतान्याहुको पक्षमा देखिएका छन् भने वामपन्थी दलहरू विपक्षी गठबन्धनको समर्थनमा छन् । नेतान्याहु इजरायलको इतिहासमा सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेता हुन् । यस निर्वाचनमा उनको नेतृत्वको लिकुड पार्टीले साना दललाई साथमा लिएर बहुमत जुटाउने प्रयास गर्नेछ । अर्कोतर्फ, विपक्षी दलहरू पनि गठबन्धन बनाएर सरकार गठन गर्ने रणनीतिमा छन् । सर्वेक्षणहरूले कुनै पनि गठबन्धनले स्पष्ट बहुमत पाउने अवस्था नदेखाएको विवरणमा उल्लेख छ । निर्वाचनको परिणाम नोभेम्बर ४ सम्म सार्वजनिक गर्ने तयारी छ । कुनै दलले बहुमत प्राप्त नगरेमा राष्ट्रपतिले सरकार गठन गर्न सक्ने सम्भावना भएको दलका नेतालाई आमन्त्रण गर्नेछन् । सरकार गठनका लागि सम्बन्धित नेतालाई २८ दिनको समय दिइनेछ, आवश्यक परे थप १४ दिन समय उपलब्ध गराउन सकिनेछ । कुनै पनि दलले सरकार गठन गर्न नसकेमा संसद् विघटन गरी ९० दिनभित्र अर्को निर्वाचन गराउने प्रक्रिया सुरु हुन सक्छ । The post यी हुन् आज दिनभरका प्रमुख २० समाचार appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे
ताजा खबरJust now

दसैँपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ । हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दसैँपछि भक्तजनको सङ्ख्या बढेको छ । दसैँ अगाडि प्रायः सुनसान जस्तै रहेको मुक्तिनाथ मन्दिरमा अहिले भने पर्यटकको चहलपहल बाक्लो... ...

रातोपाटी
सप्तरी सहिदहरूको भूमि हो : महामन्त्री संग्रौला
ताजा खबरJust now

सप्तरी सहिदहरूको भूमि हो : महामन्त्री संग्रौला

सप्तरी । नेपाली कांग्रेसका महामन्त्री महिला डा डिला संग्रौलाले सप्तरी सहिदहरूको भूमि भएको बताएकी छन् । सप्तरी क्षेत्र नं २ प्रदेश तथा नगर कार्यसमितिले राजविराजमा आज आयोजना गरेको दसैँ, तिहार तथा... ...

रातोपाटी
न्युक्यासलसँग क्रिस्टल प्यालेस २–० ले पराजित
ताजा खबरJust now

न्युक्यासलसँग क्रिस्टल प्यालेस २–० ले पराजित

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडले क्रिस्टल प्यालेसलाई २–० गोलले पराजित गरेको छ । आइतबार प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा भएको खेलमा न्युक्यासलले दोस्रो हाफमा दुई गोल गरेको... ...

रातोपाटी
हल सिटी र ब्रेन्टफोर्डले खेले १–१ को बराबरी
ताजा खबरJust now

हल सिटी र ब्रेन्टफोर्डले खेले १–१ को बराबरी

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा हल सिटी र ब्रेन्टफोर्डले १–१ गोलको बराबरी खेलेका छन् । दुवै टोलीले एक–एक गोल गरेपछि अङ्क बाँडेका हुन् । ब्रेन्टफोर्डले दोस्रो हाफमा पुनरागमन गर्दै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play