Saturday, November 28, 2026||
MultiKhabarMultiKhabar

मृत्युदण्डको फैसला सुनाइएकी शेख हसिनाले बङ्गलादेश फर्किने घोषणा गरेपछि ढाकामा राजनीतिक हलचल, भारत दबाबमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
मृत्युदण्डको फैसला सुनाइएकी शेख हसिनाले बङ्गलादेश फर्किने घोषणा गरेपछि ढाकामा राजनीतिक हलचल, भारत दबाबमा
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आगामी डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि त्यहाँको राजनीतिक वातावरण थप तनावपूर्ण बनेको छ । विद्यार्थी आन्दोलनबाट सत्ताच्युत भएपछि भारतमा बस्दै आएकी हसिनाको स्वदेश फिर्तीको योजनाले बङ्गलादेश सरकारलाई चुनौती थपेको छ भने उनलाई आश्रय दिइरहेको भारतसमेत कूटनीतिक दबाबमा परेको छ । हसिनाले लामो समयदेखि आफू बङ्गलादेश फर्किने बताउँदै आए पनि यसपटक भने फर्किने मिति र सम्भावित यात्राको योजनासमेत सार्वजनिक गरेकी छन् । उनका प्रवक्ता तथा प्रमुख सहयोगीहरूले डिसेम्बर १६ मा बङ्गलादेशको विजय दिवसको अवसर पारेर उनी स्वदेश फर्किने तयारीमा रहेको बताएका छन् । सन् १९७१ मा पाकिस्तानमाथि बङ्गलादेशले विजय हासिल गरेको सम्झनामा प्रत्येक वर्ष डिसेम्बर १६ लाई विजय दिवसका रूपमा मनाइन्छ । सन् २०२४ अगस्टमा विद्यार्थीको नेतृत्वमा भएको व्यापक आन्दोलनले हसिनाको १५ वर्ष लामो शासन अन्त्य गरेपछि उनी देश छाडेर भारतको राजधानी नयाँदिल्ली पुगेकी थिइन् । त्यसयता उनी भारतमै बस्दै आएकी छन् । आन्दोलनका क्रममा भएको हिंसात्मक दमनका लागि उनलाई जिम्मेवार ठहर गर्दै बङ्गलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाइसकेको छ । उनको अनुपस्थितिमा मुद्दाको सुनुवाइ गरिएको थियो । यद्यपि उक्त कानुनी प्रक्रियाको निष्पक्षतामाथि प्रश्नसमेत उठ्दै आएको छ । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को आन्दोलनका क्रममा सुरक्षा निकायको कारबाहीबाट झन्डै एक हजार चार सय मानिसको मृत्यु भएको थियो । उक्त घटनापछि हसिनाको अवामी लिग पार्टीलाई बङ्गलादेशमा प्रतिबन्ध लगाइएको छ । पार्टीका अधिकांश शीर्ष नेताहरू विदेशमा, जेलमा वा भूमिगत अवस्थामा रहेको बताइएको छ । मृत्युदण्डको फैसला कार्यान्वयन गर्ने सरकारको चेतावनी हसिनाले स्वदेश फर्किने घोषणा गरे पनि बङ्गलादेश सरकारले उनलाई सहज रूपमा प्रवेश गर्न दिने संकेत गरेको छैन । सरकारले उनी देश फर्किए तत्काल पक्राउ गर्ने र अदालतले सुनाएको मृत्युदण्डको फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएको छ । बङ्गलादेशका विदेश राज्यमन्त्री हुमायूँ कबिरले हसिनाको स्वदेश फिर्ती सामान्य यात्रुका रूपमा सम्भव नहुने बताएका छन् । ढाकामा पत्रकारहरूसँग कुरा गर्दै उनले हसिनालाई हतकडी लगाएर मात्रै फर्काउन सकिने आशय व्यक्त गरेका थिए । बङ्गलादेश सरकारले हसिनालाई भारतबाट सुपुर्दगी गर्नुपर्ने अडान राख्दै आएको छ । तर हसिनाको स्वेच्छिक स्वदेश फिर्ती र भारतले उनलाई सुपुर्दगी गर्ने विषयलाई फरक रूपमा हेरिएको छ । विमानबाट नभए स्थलमार्ग हुँदै फर्किने तयारी हसिनाले बङ्गलादेश फर्किनका लागि भारतको राजधानी दिल्लीबाट हवाई यात्राको व्यवस्था मिलाइदिन बङ्गलादेश सरकारसँग अपेक्षा गरेको उनका सहयोगीहरूले बताएका छन् । यस्तो व्यवस्था हुन नसके नियमित व्यावसायिक उडान प्रयोग गर्ने वा स्थलमार्ग हुँदै बङ्गलादेश प्रवेश गर्ने विकल्पसमेत खुला राखिएको छ । हसिनाका प्रमुख सहयोगी अबु ओबैधा अरिनका अनुसार उनी आवश्यक परे पैदलै सीमापार गर्नसमेत तयार छिन् । उनका समर्थकहरूले भारत र बङ्गलादेशबीचको सीमाका नौवटा सम्भावित प्रवेशमार्ग पहिचान गरिसकेको दाबी गरेका छन् । भारत र बङ्गलादेशबीच करिब चार हजार ९६ किलोमिटर लामो सीमा छ । भारतका पश्चिम बङ्गाल, असम, मेघालय, त्रिपुरा र मिजोरम गरी पाँच राज्य बङ्गलादेशसँग जोडिएका छन् । यही लामो सीमा हसिनाको सम्भावित स्वदेश फिर्तीका लागि महत्त्वपूर्ण मार्ग बन्न सक्ने उनका सहयोगीहरूको भनाइ छ । अरिनले हसिनाको स्वदेश फिर्तीको योजना निकै सोचविचार गरेर तयार पारिएको दाबी गरेका छन् । तर उनी कुन मार्गबाट र कसरी फर्किन्छिन् भन्ने विषयमा अझै स्पष्टता छैन । ५० लाख समर्थक परिचालन गर्ने अवामी लिगको दाबी भारतमा निर्वासनमा रहे पनि हसिनाले आफ्नो पार्टी अवामी लिगका नेता तथा कार्यकर्तासँग निरन्तर सम्पर्क कायम राखिरहेको उनका सहयोगीहरूले बताएका छन् । उनी टेलिग्राममार्फत अडिओ संवाद र बैठक गरेर पार्टीको संगठनलाई सक्रिय राख्ने प्रयासमा रहेको बताइएको छ । अरिनका अनुसार पछिल्लो १८ महिनामा हसिनाले ३०० भन्दा बढी यस्ता बैठक गरेकी छन् । ती बैठकमा बङ्गलादेशका ६४ जिल्ला र ३०० निर्वाचन क्षेत्रका पार्टी नेता तथा कार्यकर्ता सहभागी भएको उनको दाबी छ । अवामी लिगका ७८ वटा संगठनात्मक एकाइमार्फत यस्ता बैठक सञ्चालन हुने र कतिपय बैठक चारदेखि पाँच घण्टासम्म चल्ने गरेको उनले बताएका छन् । निर्वासनमा रहेर पनि पार्टीको संगठनलाई सक्रिय राख्न हसिनाले कार्यकर्तासँग प्रत्यक्ष संवादलाई प्राथमिकता दिएको अरिनको भनाइ छ । यसबाट स्थानीय तहमा पार्टीको अवस्था, कार्यकर्ताका गुनासा र राजनीतिक गतिविधिबारे जानकारी लिन सहज भएको उनले बताएका छन् । उनका अनुसार हसिना बङ्गलादेश फर्किने क्रममा सीमादेखि राजधानी ढाकासम्म मानवसाङ्लो बनाएर स्वागत गर्न ५० लाख मानिस परिचालन गर्न सकिने संगठनात्मक क्षमता अवामी लिगसँग छ । यद्यपि यो दाबी स्वतन्त्र रूपमा पुष्टि भएको छैन ।अवामी लिग बङ्गलादेशको पुरानो र ठूलो राजनीतिक दलमध्ये एक हो । प्रतिबन्धका बाबजुद पनि यसका लाखौँ समर्थक रहेको बताइन्छ । तर पार्टीको नेतृत्व विदेशमा, जेलमा वा भूमिगत अवस्थामा रहेकाले संगठनलाई पुन: पुरानै अवस्थामा फर्काउन चुनौती देखिएको छ । बङ्गलादेशमा बढ्दै राजनीतिक हिंसा र अस्थिरता हसिनाको सम्भावित स्वदेश फिर्तीको चर्चा भइरहेका बेला बङ्गलादेशभित्र राजनीतिक तनाव र हिंसात्मक गतिविधि पनि बढिरहेका छन् । अवामी लिगका समर्थकहरूले विभिन्न जिल्लामा विरोध प्रदर्शन गर्दै आएका छन् । कतिपय प्रदर्शनका क्रममा प्रहरी चौकीमा आक्रमण, सवारीसाधनमा आगजनी, राजनीतिक नेताका घर तथा कार्यालयमा तोडफोड र सडक अवरुद्ध पार्ने गतिविधि भएका छन् । नोभेम्बर १७ मा अवामी लिगका कार्यकर्ताहरूको गिरफ्तारीपछि गोपालगन्ज क्षेत्रमा तनाव उत्पन्न भएको थियो । त्यहाँ प्रहरी चौकीमा आगजनी भएको विवरण सार्वजनिक भएको थियो । हसिनाको पुख्र्यौली जिल्ला गोपालगन्जमा सरकारी पक्षलाई सुरक्षा व्यवस्था कायम राख्न थप कठिनाइ भइरहेको बताइएको छ । द्वन्द्व तथा राजनीतिक हिंसाको अनुगमन गर्ने संस्था एक्लेडको तथ्याङ्कअनुसार नोभेम्बर २३ सम्म अवामी लिगका समर्थकहरूले ४० पटक विरोध प्रदर्शन र कम्तीमा १४० पटक दङ्गा गरेका छन् । यस महिनामा भएको राजनीतिक हिंसामा दुई सर्वसाधारणसहित कम्तीमा ११ जनाको मृत्यु भएको विवरण छ । तीमध्ये छ जनाको मृत्यु पछिल्लो अशान्तिसँग प्रत्यक्ष सम्बन्धित रहेको संस्थाले जनाएको छ । तर अवामी लिगका समर्थकले विरोध प्रदर्शन गर्न सक्नु मात्रै पार्टीको राजनीतिक पुनरागमनको प्रमाण नभएको विश्लेषकहरूको भनाइ छ । पार्टीमाथि प्रतिबन्ध, नेतृत्वको अभाव र हजारौँ कार्यकर्तामाथि मुद्दा दर्ता भएका कारण उसको आगामी राजनीतिक यात्रा अझै कठिन देखिन्छ । सरकारले अवामी लिगका गतिविधिलाई आतंकवादसँग जोडेर हेर्दै आएको छ । अर्कोतर्फ पार्टीका समर्थकहरूले आफ्ना प्रदर्शन शान्तिपूर्ण रहेको र सरकारले राजनीतिक प्रतिशोधका आधारमा दमन गरिरहेको आरोप लगाउँदै आएका छन् । यसले बङ्गलादेशमा राजनीतिक ध्रुवीकरण थप गहिरिँदै गएको देखाउँछ । राजनीतिक विभाजनको फाइदा उठाउन खोज्दै अवामी लिग बङ्गलादेशको पछिल्लो राजनीतिक परिस्थितिमा सत्तारूढ बङ्गलादेश न्याश्नलिस्ट पार्टी (बीएनपी), जमात–ए–इस्लामी र युवाहरूको नेतृत्वमा रहेको न्याश्नल सिटिजन पार्टी ९(एनसीपी) बीच पनि मतभेद देखिएको छ । संविधानमा प्रस्तावित परिवर्तन र जनमतसङ्ग्रहका विषयमा यी राजनीतिक शक्तिहरूबीच असहमति रहेको बताइएको छ । विद्यार्थी आन्दोलनका बेला हसिनाको शासन अन्त्य गर्न एकजुट भएका शक्तिहरूबीच अहिले विभिन्न राजनीतिक तथा संवैधानिक मुद्दामा दूरी बढ्दै गएको छ । बङ्गलादेशका पूर्वअन्तरिम सरकारका प्रेससचिव तथा डेली स्टारसँग सम्बन्धित राजनीतिक विश्लेषक शफिकुल आलमले अवामी लिगले यही राजनीतिक विभाजनको फाइदा उठाउन खोजिरहेको बताएका छन् । उनका अनुसार कमजोर प्रहरी संयन्त्र र आन्दोलनमा सहभागी राजनीतिक शक्तिहरूबीच बढेको मतभेदले अवामी लिगलाई पुन: सडकमा सक्रिय हुने अवसर दिएको छ । हसिनाको स्वदेश फिर्तीको घोषणाले पनि पार्टीलाई राजनीतिक बहसको केन्द्रमा ल्याउन सहयोग गरेको विश्लेषण गरिएको छ । उनको सत्ता ढलेपछि अवामी लिगको भविष्यबारे सार्वजनिक रूपमा छलफल गर्नसमेत कठिन अवस्था बनेको थियो । अहिले भने पार्टीको आगामी भूमिका र बङ्गलादेशको राजनीतिमा उसको स्थानबारे पुन: बहस सुरु भएको छ । हसिनाका कारण भारत–बङ्गलादेश सम्बन्ध थप जटिल हसिनालाई शरण दिएपछि भारत र बङ्गलादेशबीचको सम्बन्ध निरन्तर तनावपूर्ण रहँदै आएको छ । हसिना सत्तामा रहँदा भारतकी निकट सहयोगी थिइन् । उनको नेतृत्वको सरकारले भारतसँग सुरक्षा, व्यापार तथा क्षेत्रीय सहकार्यका विषयमा निकट सम्बन्ध कायम राखेको थियो । तर सन् २०२४ को आन्दोलनपछि हसिनाले भारतमा शरण लिएसँगै दुई देशबीचको सम्बन्धमा नयाँ समस्या उत्पन्न भएको हो । बङ्गलादेशले उनलाई सुपुर्दगी गर्न माग गर्दै आएको छ भने भारतले उक्त अनुरोधलाई स्थापित प्रक्रियाअनुसार अध्ययन भइरहेको जनाएको छ । भारतले बङ्गलादेशसँग सम्बन्ध सुधार गर्न कूटनीतिक पहलसमेत गर्दै आएको छ । सुरक्षा, व्यापार, सीमा व्यवस्थापन र अन्य द्विपक्षीय विषयमा नयाँ वार्ताका प्रस्ताव अघि सारिए पनि अपेक्षित प्रगति हुन सकेको छैन । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले पदभार सम्हालेको करिब १० महिना बितिसक्दा पनि भारत भ्रमण गरेका छैनन् । यसअघि अगस्टमा उनको भारत भ्रमणको तयारी भइरहेको बताइएको थियो । तर दिल्लीमा हसिनाले गरेको पत्रकार सम्मेलनका कारण दुई देशबीच सम्बन्ध सुधारको प्रयास प्रभावित भएको विश्लेषण गरिएको छ । भारतले बङ्गलादेशसँग सम्बन्ध सुधार गर्न खोजे पनि हसिनाको उपस्थितिले कूटनीतिक प्रयासलाई कठिन बनाइरहेको छ । भारतमा बसेर उनले बङ्गलादेशको राजनीतिबारे सार्वजनिक अभिव्यक्ति दिँदै आएकी छन् । यसले ढाकाको असन्तुष्टि थप बढाएको छ । भारतका लागि हसिनालाई लिएर दोहोरो चुनौती बङ्गलादेशका लागि भारतसँगको सम्बन्ध अहिले केवल हसिनाको सुपुर्दगीमा सीमित छैन । व्यापार, पारवहन सुविधा, सीमा सुरक्षा र गङ्गा जल सम्झौताजस्ता विषयसमेत दुई देशबीचको सम्बन्धमा जोडिएका छन् । बङ्गलादेशका राजनीतिक तथा परराष्ट्रनीति विश्लेषकहरूका अनुसार भारतले अवामी लिगलाई पुन: राजनीतिक प्रक्रियामा फर्काउन चाहेको आशङ्का ढाकामा बढ्दै गएको छ । भारतले बङ्गलादेशी तयारी पोसाक निर्यातकर्ताका लागि उपलब्ध गराउँदै आएको पारवहन सुविधालाई निरन्तरता नदिएको तथा गङ्गा जल सम्झौतामा अपेक्षित प्रगति नभएको विषय पनि असन्तुष्टिका रूपमा उठाइएको छ । अहिलेसम्म पर्यटन र स्वास्थ्योपचारका लागि दिइने भिसा पुन: सुरु भए पनि अन्य विषयमा अनिश्चितता कायम रहेको बङ्गलादेशी पक्षको भनाइ छ । यद्यपि भारतका लागि अवामी लिगलाई बङ्गलादेशको राजनीतिबाट पूर्ण रूपमा बाहिर राखिनु पनि दीर्घकालीन हितमा नहुने विश्लेषकहरूको धारणा छ । बङ्गलादेशको सामाजिक तथा राजनीतिक संरचनासँग जोडिएको ठूलो दललाई पूर्ण रूपमा निषेध गर्दा मुलुकमा थप अस्थिरता उत्पन्न हुन सक्ने उनीहरूको तर्क छ । एसओएएस युनिभर्सिटी अफ लन्डनका राजनीति तथा अन्तर्राष्ट्रिय अध्ययनका प्राध्यापक अविनाश पालीवालका अनुसार अवामी लिगलाई फरक नेतृत्वअन्तर्गत पुन: राजनीतिक प्रक्रियामा सहभागी गराउने र हसिनाले आन्दोलन दमनसम्बन्धी मुद्दाको कानुनी प्रक्रियाको सामना गर्ने अवस्था सिर्जना हुनु भारतका लागि कम जोखिमपूर्ण विकल्प हुन सक्छ ।उनका अनुसार त्यसले बङ्गलादेशको राजनीतिमा केही सन्तुलन कायम गर्न र भारतलाई आफ्नो दीर्घकालीन हित सुरक्षित गर्ने अवसर दिन सक्छ । डिसेम्बरमा अशान्ति बढ्ने आशङ्का हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरे पनि उनी निर्धारित मितिमै फर्किन्छिन् भन्ने निश्चित भइसकेको छैन । मृत्युदण्डको फैसला सामना गरिरहेकी हसिनाका लागि स्वदेश फर्किनु निकै जोखिमपूर्ण देखिन्छ । अर्कोतर्फ उनको घोषणाले अवामी लिगका समर्थकलाई उत्साहित बनाएको छ । एक्लेडकी दक्षिण एसिया विश्लेषक पर्ल पाण्ड्याका अनुसार हसिना फर्किने सम्भावना कम छ, किनभने उनले मृत्युदण्डको सामना गर्नुपर्ने अवस्था छ । तर उनको अभिव्यक्तिले पार्टीका समर्थकलाई सक्रिय बनाएको छ । बङ्गलादेशका परराष्ट्रनीति विज्ञहरूले डिसेम्बरमा विरोध प्रदर्शन र झडप बढ्न सक्ने चेतावनी दिएका छन् । हसिनाको प्रस्तावित स्वदेश फिर्तीको मिति नजिकिँदै जाँदा ढाकामा राजनीतिक र सुरक्षा तनाव बढ्न सक्ने उनीहरूको आकलन छ । यद्यपि अन्तिम समयमा उनको स्वदेश फिर्तीको योजना फेरि स्थगित हुन सक्ने सम्भावना पनि औँल्याइएको छ । हसिनाको घोषणाले अहिले बङ्गलादेशको आन्तरिक राजनीतिलाई मात्रै प्रभावित गरेको छैन, भारतसँगको सम्बन्धलाई समेत थप जटिल बनाएको छ । उनी फर्किएमा देशभित्र राजनीतिक हिंसा बढ्ने जोखिम छ भने भारतमै रहिरहे दुई देशबीचको कूटनीतिक तनाव लम्बिने देखिन्छ । The post मृत्युदण्डको फैसला सुनाइएकी शेख हसिनाले बङ्गलादेश फर्किने घोषणा गरेपछि ढाकामा राजनीतिक हलचल, भारत दबाबमा appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्रणाली ह्याक
Latest NewsJust now

अमेरिकी वायुसेनाको मुख्य क्लाउड कम्प्युटिङ प्रणाली ह्याक

वासिङ्टन डिसी । ह्याकरहरूले अमेरिकी वायुसेनाको प्रमुख क्लाउड कम्प्युटिङ प्लेटफर्म ‘क्लाउड वन’ मा साइबर हमला गरी अनधिकृत पहुँच बनाएका छन्। यस मामिलाबारे जानकार तीन व्यक्तिले रोयटर्सलाई दिएको जानकारी अनुसार, यस घटनाले... ...

रातोपाटी
दक्षिण एसियाली खेलकुद फेरि सर्‍यो
Latest NewsJust now

दक्षिण एसियाली खेलकुद फेरि सर्‍यो

पाकिस्तानी मिडियाका अनुसार साउदी अरबको रियादमा आयोजना हुने एसियाली इन्डोर तथा मार्सल आर्ट्स खेलकुदसाग समय तालिका जुधेपछि यो निर्णय लिइएको हो । ...

कान्तिपुर
बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते
Latest NewsJust now

बाजुरामा ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते

बाजुरा । बाजुराको जगन्नाथ गाउँपालिका–३ दाउणामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शुक्रबार साँझ करिब ६: ३० बजे पिलुचौरबाट मनिकाँडातर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००२ त ४६८७ नम्बरको ट्र्याक्टर सडकबाट करिब ५०० मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा जगन्नाथ गाउँपालिका–३ मनिकाँडाका ४५ वर्षीय धनरूप शाही र ३५ वर्षीय धर्म शाहीको मृत्यु ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement