काठमाडौं । वरिष्ठ मानव अधिकारकर्मी सुशील प्याकुरेलले मुलुकमा कानूनको शासन नभई मनपरी शासन चलिरहेको टिप्पणी गर्नुभएको छ । शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा जबरजस्ती उठीबास गराउने तथा भूमिहीन सुकुम्बासी नागरिकमाथि भइरहेको अमानवीय व्यवहारविरुद्ध आयोजित नागरिक ऐक्यबद्धता तथा विरोध कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । प्याकुरेलले प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा फुटपाथ व्यापारीमाथि गरिएको व्यवहारलाई नजरअन्दाज गर्दा अहिले सुकुम्बासी नागरिकले दुःख भोग्नुपर्ने अवस्था आएको बताउनुभयो । फुटपाथमा व्यापार गरेर जीविकोपार्जन गर्नेहरूमाथि गरिएको दमनकै निरन्तरताका रूपमा अहिले सुकुम्बासीमाथि भइरहेको व्यवहारलाई लिनुपर्ने उहाँको तर्क थियो । मुलुकमा भएका प्रत्येक राजनीतिक परिवर्तनपछि जनताले धोका पाउँदै आएको उल्लेख गर्दै उहाँले जेनजी आन्दोलनपछि युवालाई सत्ता सुम्पिए पनि उनीहरूको कार्यशैलीमाथि नागरिक समाजले पर्याप्त निगरानी गर्न नसकेको बताउनुभयो । सुकुम्बासी नागरिक नदी किनार र अव्यवस्थित क्षेत्रमा बस्न बाध्य हुनुको कारण खोज्नुपर्ने भन्दै उहाँले उनीहरूको व्यवस्थापन गर्नु राज्यको दायित्व भएकोमा जोड दिनुभयो । मानव अधिकारका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको उल्लेख गर्दै उहाँले नागरिकको आवतजावतको अधिकारसँगै बस्न पाउने अधिकारका लागि समेत संघर्ष गर्नुपर्ने अवस्था आएको बताउनुभयो । “देशमा धेरै परिवर्तन भएका छन्, तर हरेक परिवर्तनपछि हामीले धोका पाएका छौँ । त्यही धोकाको परिणामस्वरूप युवाहरूले आन्दोलन गर्नुभयो र हामीले नवयुवालाई देश सुम्पियौँ । तर ती युवाहरूको कार्यशैली कस्तो थियो भन्ने कुरा हामीले हेरेनौँ,” उहाँले भन्नुभयो । उहाँले बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा फुटपाथमा व्यापार गरेर गुजारा चलाउनेहरूमाथि भएको व्यवहारलाई स्मरण गर्दै भन्नुभयो, “हामीले बालेनको त्यो गतिविधिलाई नजरअन्दाज गर्यौँ । साना पसल थापेर फुटपाथ ओगटेर बस्ने होइन, आफ्नै ठाउँ फर्क भनियो । अहिले सुकुम्बासी नागरिकमाथि पनि त्यस्तै व्यवहार भइरहेको छ ।” सुकुम्बासी नागरिक सहरमा आएर नदी किनार र फोहोर ठाउँमा बस्न बाध्य हुनुको कारण खोज्नुपर्ने उहाँको भनाइ थियो । सरकारले उनीहरूलाई व्यवस्थापन गर्ने भन्दै आश्रयस्थलमा राखे पनि अहिले त्यहाँबाट समेत हट्न उर्दी जारी गर्नु गैरजिम्मेवार व्यवहार भएको उहाँले टिप्पणी गर्नुभयो । “हामी मानव अधिकारकर्मीले राइट टु मुभ अर्थात् आवतजावतको अधिकारका लागि धेरै आवाज उठायौँ । अहिले त राइट टु स्टे अर्थात् बस्न पाउने अधिकारका लागि लड्नुपर्ने अवस्था आएको छ,” उहाँले भन्नुभयो । प्याकुरेलले नागरिकको संवैधानिक अधिकार सुनिश्चित गर्न राज्यले सुकुम्बासी परिवारको आवास, जीविकोपार्जन र सामाजिक सुरक्षाको जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिनुभयो ।
मुलुकमा कानूनी शासन होइन, मनपरी शासन चलिरहेको छ : सुशील प्याकुरेल

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






