काठमाडौं । ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को उपाधि बिनिता गुरुङले जितेकी छन् । भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा शनिबार साँझ आयोजित ग्राण्ड फिनालेमा २१ प्रतिस्पर्धीलाई पछि पार्दै गुरुङले उपाधि हात पारेकी हुन् । रिबन इन्टरटेनमेन्टले आयोजना गरेको विवाहित महिलाहरू सहभागी हुने प्रतियोगिताको यो छैटौँ संस्करण हो । विवाहित महिलाको प्रतिभा, व्यक्तित्व, आत्मविश्वास र क्षमता उजागर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नेहा गुप्ता फर्स्ट रनरअप घोषित भइन् भने ज्योति लामिछाने सेकेन्ड रनरअप र सगुन खनाल थर्ड रनरअप बने । त्यस्तै, शिल्पा न्यौपाने महर्जनले ‘मिसेस नेपाल इन्टरनेसनल’, क्रिस्टिना ज्ञवालीले ‘मिसेस नेपाल कस्मो’ र रिचा शर्माले ‘एमएस नेपाल इन्टरनेसनल’को उपाधि जितेका छन् । रिबन इन्टरटेनमेन्टका सञ्चालक निशुकान्त झाको अध्यक्षता तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर अश्विनीकान्त झाको नेतृत्वमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा र सन् २०२४ की विजेता डा. डेलिना कार्कीलगायत सहभागी थिए । निर्णायकहरूले प्रतियोगीहरूको प्रतिभा, आत्मविश्वास, व्यक्तित्व र प्रस्तुतिका आधारमा मूल्याङ्कन गरेका थिए ।
मिसेस नेपाल वर्ल्डको ताज बिनितालाई

Read Complete Original Article
Published originally on नेपालन्युज






