गुल्मी। गुल्मी, पाल्पा र स्याङ्जाको सङ्गमस्थल रिडीमा आगामी माघ महिनाभर सञ्चालन हुने ‘रुरु महास्नान’ को तयारी तीव्र पारिएको छ। कालीगण्डकी नदीको धार्मिक महिमा र रुरुक्षेत्रको ऐतिहासिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै प्रमुख धार्मिक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रुरुक्षेत्र गाउँपालिकाले महास्नानको अवधारणा अघि सारेको हो। माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने गरी गाउँपालिकाले धार्मिक स्नान, पूजाआजा, दर्शन, तीर्थाटन तथा धार्मिक–सांस्कृतिक गतिविधि सञ्चालन गर्ने तयारी गरेको छ। यसअघि हरेक वर्ष माघे सङ्क्रान्तिका अवसरमा पाँचदिने माघी मेला लाग्दै आएको रुरुक्षेत्रमा अब माघ महिनाभर श्रद्धालु तथा तीर्थयात्रीको आवागमन बढाउने लक्ष्य राखिएको छ। महास्नानलाई भव्य, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न लुम्बिनी प्रदेश सरकार पनि सक्रिय भएको छ। यसैक्रममा प्रदेशका वन, वातावरण तथा पर्यटनमन्त्री तुलसीप्रसाद चौधरीको उपस्थितिमा लुम्बिनी प्रदेश विकास परिषद्को बैठक रुरुक्षेत्रमा सम्पन्न भइसकेको छ। बैठकमा मन्त्री चौधरीले महास्नानका लागि मन्त्रालयसहित प्रदेश सरकारका सबै संयन्त्र परिचालन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। गाउँपालिका अध्यक्ष यदु ज्ञवालीले रुरुक्षेत्रको धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले प्रचारप्रसार र तयारीलाई तीव्रता दिइएको बताए। महास्नानलाई व्यवस्थित बनाउन स्थानीय तहदेखि प्रदेश र सङ्घीय सरकारसम्मको समन्वय तथा सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले मन्त्रालयसँग सहयोग र सहजीकरणका लागि आग्रह गरेको जानकारी दिए। गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा माघ महिनालाई ‘रुरु महास्नान’ महिनाका रूपमा मनाउने निर्णय गरिसकेको छ। नेपालका चार धामलाई जोडेर धार्मिक तीर्थाटनको सम्बन्ध विस्तार गर्ने र रुरुक्षेत्रको धार्मिक महिमा थप उजागर गर्ने लक्ष्य रहेको अध्यक्ष ज्ञवालीले बताए। कालीगण्डकी र शालिग्रामको धार्मिक महिमा रुरुक्षेत्रको धार्मिक महत्त्व कालीगण्डकी नदीसँग जोडिएको छ। हिन्दू धर्मावलम्बीले पवित्र मान्ने कालीगण्डकीमा पाइने शालिग्राम शिलालाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा गर्ने परम्परा छ। शालिग्रामको धार्मिक महत्त्वका कारण कालीगण्डकी र रुरुक्षेत्र नेपाल तथा भारतका श्रद्धालुको आस्थाको केन्द्र बनेको छ। कालीगण्डकीको पवित्र जलमा स्नान तथा शालिग्रामको दर्शन र पूजाआजा गर्न वर्षैभरि श्रद्धालु रिडी आउने गरेका छन्। माघमा यहाँ स्नान गर्दा धार्मिक पुण्य प्राप्त हुने जनविश्वासका कारण माघे सङ्क्रान्ति र माघ महिनामा विशेष भीड लाग्ने गर्छ। यही धार्मिक आस्थालाई व्यापक बनाउँदै माघभर महास्नान सञ्चालन गर्न सके रुरुक्षेत्रलाई व्यवस्थित धार्मिक तीर्थाटनको केन्द्रका रूपमा विकास गर्न सकिने स्थानीय सुन्दर कसजुको भनाइ छ। रुरुक्षेत्रस्थित ऋषिकेश मन्दिर यहाँको प्रमुख धार्मिक आकर्षण हो। पाल्पाली राजा मणिमुकुन्द सेनले निर्माण गरेको मानिने उक्त मन्दिरसँगै गायत्री मन्दिर, शिवालय, भीमसेन मन्दिर, भगवती मन्दिर, हनुमान बाटिका, गणेश–भैरव मन्दिर, सत्येश्वर मन्दिर, राम मन्दिर, गुप्तेश्वर महादेव मन्दिर र रुरुकन्या मन्दिरलगायतका धार्मिक स्थलले यस क्षेत्रको ऐतिहासिक तथा धार्मिक महत्त्व बढाएका छन्। धार्मिक सम्पदासँगै पछिल्लो समय रुरुक्षेत्रमा पर्यटकीय पूर्वाधार र प्राकृतिक आकर्षण पनि थपिँदै गएका छन्। भारत र चीनलाई जोड्ने रणनीतिक महत्त्वको कालीगण्डकी करिडोरमा पर्ने रुरुक्षेत्रमा निर्माण भएको नेपालकै पहिलो तीनमुखे झोलुङ्गे पुल यहाँको अर्को प्रमुख पर्यटकीय आकर्षण हो। कालीगण्डकीमाथि बनेको उक्त पुलले गुल्मी, पाल्पा र स्याङ्जालाई जोडेको छ। तीन जिल्लाको सङ्गममा रहेको पुल अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटक रिडी आउने गरेका छन्। कालीगण्डकीको प्राकृतिक सौन्दर्य, तीनमुखे पुल, धार्मिक मठमन्दिर र पुरानो बजार क्षेत्रको एकीकृत आकर्षणले रिडीलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको गन्तव्यका रूपमा विकास गर्न सहयोग पुर्याएको छ। चार धामसँग तीर्थाटनको सम्बन्ध विस्तार महास्नानलाई व्यवस्थित बनाउन गाउँपालिकाले नेपालका चार धामसँग सम्बन्धित स्थानीय सरकार तथा सरोकार भएका निकायसँग तीर्थयात्रा व्यवस्थापन, पूर्वाधार विकास र सेवाको गुणस्तर अभिवृद्धिका विषयमा छलफल अघि बढाएको अध्यक्ष ज्ञवालीले बताए। यसबाट चार धामबीच धार्मिक सम्बन्ध विस्तार हुनुका साथै तीर्थयात्रीको आवागमन र धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने उनको अपेक्षा छ। माघ महिनाभर महास्नान सञ्चालन हुँदा रुरुक्षेत्रमा श्रद्धालु तथा पर्यटकको सङ्ख्या बढ्ने र त्यसले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने गाउँपालिकाको अपेक्षा छ। तीर्थयात्रीको आवागमन बढेसँगै होटल तथा रेस्टुरेन्ट, यातायात, स्थानीय उत्पादन, हस्तकला, पूजा सामग्री र अन्य व्यापारिक गतिविधि बढ्ने विश्वास गाउँपालिकाले गरेको छ। महास्नानको तयारीसँगै गाउँपालिकाले कालीगण्डकी नदीको धार्मिक महत्त्व, शालिग्रामको संरक्षण तथा प्रचारप्रसार र नदीको स्वच्छता कायम गर्ने विषयलाई पनि प्राथमिकतामा राखेको छ। महास्नानको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचारप्रसार र प्रवर्द्धनका लागि पर्यटन मन्त्रालयसँग छलफल गरिएको अध्यक्ष ज्ञवालीले बताए। त्यस्तै, कालीगण्डकी जलविद्युत् परियोजनाका कर्मचारीसँगको सम्झौताअनुसार आवश्यक समयमा नदीमा पानी छोड्ने विषयमा ऊर्जा मन्त्रालयसँग पनि छलफल गरिएको उनले जानकारी दिए। धार्मिक आस्था र कालीगण्डकीको पवित्रतालाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको ‘रुरु महास्नान’ मार्फत धार्मिक सम्पदाको संरक्षण, सांस्कृतिक पहिचानको प्रवर्द्धन र रुरुक्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य रहेको गाउँपालिकाले जनाएको छ।
माघभर रुरु महास्नानको तयारी

Read Complete Original Article
Published originally on नेपालन्युज






