कञ्चनपुर । बाढीको जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउन कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाले महाकाली र जोगबुडा नदीमा प्रत्यक्ष निगरानी प्रणाली जडान गरेको छ । नगरपालिकाले दुवै नदीको अवस्था चौबिसै घण्टा अवलोकन गर्न सकिने गरी ३६० डिग्रीमा घुमाएर दृश्य लिन मिल्ने क्यामेरा जडान गरेको हो । यससँगै अब नगरपालिकाले कार्यालयमै बसेर नदीको पानीको सतह, बहाव र आसपासको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन सक्ने भएको छ । नगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन शाखा प्रमुख अमृत विकका अनुसार क्यामेराबाट नदीको अवस्थासँगै निर्धारण गरिएको कलर कोडिङका आधारमा सम्भावित जोखिमसमेत पहिचान गर्न सकिनेछ । भोटेकोशीमा आएको बाढीपछि पूर्वसूचना प्रणालीलाई थप विश्वसनीय बनाउन प्रत्यक्ष निगरानी प्रविधि जडान गरिएको विकले बताए । नगरपालिकाले उक्त प्रणालीलाई जल तथा मौसम विज्ञान विभागसँग जोड्ने तयारीसमेत गरेको छ । विभागसँग समन्वय भएपछि वेबसाइटमार्फत सर्वसाधारणले पनि महाकाली र जोगबुडा नदीको अवस्था प्रत्यक्ष हेर्न सक्नेछन् । महाकाली र जोगबुडा नदीमा आउने बाढीका कारण दोधारा चाँदनीका विभिन्न बस्ती हरेक वर्ष डुबानको जोखिममा पर्दै आएका छन् । युनिसेफलगायत दातृ निकायको सहयोगमा स्थापना गरिएको यस प्रणालीले बाढीको पूर्वानुमान गर्न, समयमै सूचना प्रवाह गर्न र सम्भावित क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
महाकाली र जोगबुडा नदी अब चौबिसै घण्टा क्यामेराको निगरानीमा

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






