Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

ममता बेपत्ता मुद्दा निर्णायक मोडमा, मंगलबार फैसला आउन सक्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
ममता बेपत्ता मुद्दा निर्णायक मोडमा, मंगलबार फैसला आउन सक्ने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्ले भट्टको हत्या अभियोगमा मुद्दा खेपिरहेका उनका श्रीमान् नरेश भट्टको प्रतिरक्षा पक्षले आफ्नो बहस टुङ्ग्याएको छ। सरकारी पक्षका थप साक्षीको बयान र दुवै पक्षको अन्तिम बहसपछि मुद्दा जुरीको निर्णयमा पुग्ने भएको छ। मंगलबार साँझसम्म फैसला आउन सक्ने सम्भावना रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। मुद्दाको सुनुवाइको १८औँ दिन सोमबार सरकारी पक्षले चार जना साक्षीलाई पुनः अदालतमा उपस्थित गराएर बयान लिएको थियो। उनीहरूमा मानासस पार्क प्रहरीका सार्जेन्ट ब्राडी पेलाथ, क्याप्टेन डस्टिन वाकर तथा ममताकी आमा गीता काफ्ले र भाइ महेश काफ्ले रहेका थिए। अदालतमा नेपाली दोभाषेमार्फत बयान दिँदै ममताकी आमा गीताले आफ्नी छोरी आत्महत्या गर्ने स्वभावकी नभएको बताइन्। ‘मेरी छोरी त्यस्तो खालकी थिइनन्। उनी निकै बलियो र शिक्षित थिइन्। उनले सङ्घर्ष गर्छिन् तर बाँचेर देखाउँछिन् भन्ने गर्थिन्,’ उनले भनिन्। ममताका भाइ महेशले पनि दिदीले ११ महिनाकी छोरीलाई छाडेर हराउने वा आत्महत्या गर्ने कल्पना गर्न नसकिने बताए। ममता आफ्नी छोरीलाई अत्यन्तै माया गर्ने गरेको उनको भनाइ थियो। आमा र भाइ दुवै बयानका क्रममा भावुक बनेका थिए। सुनुवाइका क्रममा प्रतिरक्षा पक्षकी वकिल लरेल रोडवाल्डले सन् २०२५ जनवरीमा महेशले प्रतिरक्षा पक्षका अनुसन्धानकर्तासँग गरेको टेलिफोन कुराकानीको भिडियोसमेत देखाएकी थिइन्। उक्त कुराकानीमा ममताले आफूलाई हानि पुर्‍याउन सक्ने विषयमा महेशले ‘हो’ भनेको दाबी गरिएको थियो। तर उक्त कुराकानीमा नेपाली दोभाषे उपलब्ध नगराइएको र आफूले दिएको जवाफको अर्थ फरक बुझिएको महेशले बताए। ‘मैले उनले आत्महत्या गर्छिन् वा आफैँलाई हानि पुर्‍याउँछिन् भन्न खोजेको होइन। अनुवादका क्रममा शब्दको अर्थ फरक परेको हुन सक्छ,’ उनले स्पष्ट पारे। उनका अनुसार ममता वैवाहिक समस्याका कारण पटक–पटक भावनात्मक रूपमा चोट पुगेको बताउने गर्थिन्। महेशले यसअघि अदालतमा बयान दिँदै ममताले सन् २०२४ फेब्रुअरीमा आफ्नो अनुहारमा चोट लागेको तस्बिर पठाएको बताएका थिए। भविष्यमा आवश्यक पर्न सक्ने भन्दै ती तस्बिर सुरक्षित राख्न दिदीले आग्रह गरेको उनको भनाइ थियो। ममताले आफूलाई सुरक्षित महसुस नगरेको कुरा पनि पटक–पटक बताउने गरेको उनले उल्लेख गरेका थिए। सरकारी वकिल म्याथ्यु स्वीटले महेशलाई दुई वर्षपछि दिदी बेपत्ता भएको घटनाको वास्तविकता थाहा पाउँदा कस्तो लागेको थियो भन्ने प्रश्न गरेका थिए। नरेशले ममताको शव टुक्राटुक्रा पारी फोहोरमा फालेको थाहा पाउँदा आफूले कल्पनासमेत नगरेको घटना भएको महेशले बताएका थिए। यसअघि गत बिहीबार नरेशले अदालतमा बयान दिँदै ममताले आत्महत्या गरेको र आफूले उनको शव टुक्राटुक्रा पारेको स्वीकार गरेका थिए। तर उनले ममताको हत्या आफूले नगरेको दाबी गर्दै आएका छन्। नरेशका अनुसार सन् २०२४ जुलाई ३० को बिहान ममतालाई वान्ता र रगतले घेरिएको अवस्थामा अचेत भेटेका थिए। नजिकै नेपालबाट लगिएको घातक कीटनाशक विषादी सेल्फोसको खुला प्याकेटसमेत रहेको उनको दाबी छ। ममताको हत्या भएको सरकारी पक्षको दाबी छ भने प्रतिरक्षा पक्षले आत्महत्याको तर्क अघि सारेको छ। नरेशमाथि प्रथम श्रेणीको हत्या, शव लुकाएको र शवको भौतिक अपमान गरेको अभियोग छ। उनले शव टुक्राटुक्रा पारेको र फोहोरमा फालेको स्वीकार गरिसकेका छन्। तर हत्या अभियोग प्रमाणित गर्न सरकारी पक्षले हत्या र पूर्वयोजना शङ्कारहित रूपमा पुष्टि गर्नुपर्नेछ। ममताको शव भने अहिलेसम्म फेला परेको छैन। प्रतिरक्षा पक्षले घटनास्थलको अनुसन्धानमा कमजोरी भएको दाबी गर्दै आएको छ। घटनास्थलमा अनुसन्धानकर्ताले पर्याप्त सावधानी नअपनाएको र पञ्जा तथा जुत्तामाथि लगाउने सुरक्षा आवरण प्रयोग नगर्दा प्रमाण दूषित हुन सक्ने प्रतिरक्षा पक्षकी साक्षी एलिजाबेथ पिएरीले बताएकी थिइन्। त्यस्तै, प्रतिरक्षा पक्षका मनोवैज्ञानिक बेरी रोजेनफेल्डले नरेशमा लामो समयदेखिका पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) का लक्षण देखिएको बताएका थिए। तर पीटीएसडी भएका व्यक्तिले पनि पूर्वयोजनासहित अपराध गर्न सक्ने उनले स्वीकार गरेका थिए। मंगलबार सरकारी पक्षका थप दुई साक्षीको बयान र दुवै पक्षको अन्तिम बहस हुने कार्यक्रम छ। त्यसपछि जुरीले छलफल गरी निर्णय सुनाउनेछ। प्रिन्स विलियम काउन्टी सर्किट अदालतकी न्यायाधीश किम्बर्ली ए इर्भिङले जुरी सदस्यलाई आवश्यक परेसम्म छलफलका लागि समय उपलब्ध गराइने बताएकी छन्। मंगलबार फैसला नआए मध्यसाताको भेटेरन्स डे बिदापछि बिहीबार सुनुवाइ अघि बढ्नेछ। नरेश दोषी ठहर भएमा आजीवन कारावासको सजाय हुन सक्नेछ। सन् २०२४ जुलाई २९ मा अन्तिमपटक सम्पर्कमा आएकी २८ वर्षीया ममता त्यसपछि बेपत्ता भएकी थिइन्। -विभिन्न अन्तर्राष्ट्रिय मिडियाको सहयोगमा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘रामायण’ मा यशको धमाकेदार प्रदर्शन: रावण बन्न ३३ किलोको पहिरन
Latest NewsJust now

‘रामायण’ मा यशको धमाकेदार प्रदर्शन: रावण बन्न ३३ किलोको पहिरन

मुम्बई । मिश्रित समीक्षाका बाबजुद निर्देशक नितेश तिवारीको फिल्म ‘रामायण : पार्ट १’ ले बक्स अफिसमा बलियो दबदबा कायम गरेको छ। फिल्मले पहिलो सोमबार हासिल गरेको सङ्कलन भारतीय सिनेमा इतिहासका पाँच... ...

रातोपाटी
हेग्सेथको बचाउमा ट्रम्प
Latest NewsJust now

हेग्सेथको बचाउमा ट्रम्प

वासिङटन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीलाई लिएर महाभियोगको दबाब सामना गरिरहेका युद्धमन्त्री पीट हेग्सेथको बचाउ गरेका छन्। उनले हेग्सेथले दुई युद्ध जितेको दाबी गर्दै महाभियोगको पहल गर्ने रिपब्लिकन सांसद थोमस म्यासीलाई ‘हारेको व्यक्ति’ भन्दै आलोचना गरे। सोमबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान युद्धमा १८ अमेरिकी सैनिकको मृत्यु भएको उल्लेख गर्दै भियतनाम युद्धमा ६५ हजार अमेरिकीले ज्यान गुमाएको स्मरण गरे। उनले इराक र ...

नेपालन्युज
नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्याल
Latest NewsJust now

नेपाल सम्वत् सबै नेपालीको साझा राष्ट्रिय सम्पदा हो: सभामुख अर्याल

काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले नेपाल सम्वत् नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन्। मंगलबार नेपाल सम्वत् ११४७ को अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले नेपाल सम्वत् कुनै एक जात वा भाषा विशेषको मात्रै नभएको बताएका हुन्। ‘नेपाल सम्वत् कुनै एक समुदायको मात्र सम्पत्ति नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा ...

कर्पोरट खबर
बिचौलियाको बयानकै भरमा कांग्रेसलाई बदनाम गर्न खोजियो : विश्वप्रकाश शर्मा
Latest NewsJust now

बिचौलियाको बयानकै भरमा कांग्रेसलाई बदनाम गर्न खोजियो : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानकै आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्ने प्रयास भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा सार्वजनिक भएका अपुष्ट आरोपका आधारमा कसैको धारणा बनाउन नहुने बताएका हुन् । नेपाली कांग्रेस काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीप्रति लक्षित गर्दै बिचौलियाले भनेको भरमा नेताहरूले करोडौँ रुपैयाँ लिएको निष्कर्ष निकाल्नु ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play