मन्त्री पुनद्वारा फापरखेतको पहिरोको स्थलगत निरिक्षण

म्याग्दी । पश्चिम म्याग्दीलाई जिल्ला सदरमुकाम बेनीसँग जोड्ने प्रमुख मार्ग बेनी-दरबाङ सडकको फापरखेत पहिरो समस्या अझै चुनौतीपूर्ण बनेको छ । वर्षा र हिउँद दुवै समयमा पहिरो खस्ने क्रम नरोकिएपछि यात्रु तथा सवारीसाधनले भोग्दै आएको सास्ती अन्त्य गर्न विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले स्थायी समाधानको पहल तीव्र बनाउनुभएको छ । मन्त्री पुनले शनिबार पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्दै भइरहेको कार्य, प्राविधिक अवस्था र दीर्घकालीन व्यवस्थापनका योजनाबारे जानकारी लिनुभएको हो । बर्खा सुरु हुनुअघि नै समस्या समाधानका लागि आवश्यक पहल भइरहेको उहाँले बताउनुभएको छ । बेनी नगरपालिका-४ र मङ्गला गाउँपालिका-२ को सिमानामा पर्ने फापरखेतमा पटकपटक पहिरो खस्दा सडक सञ्चालनमा समस्या हुँदै आएको छ । गत शनिबार खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक मर्मत गरेर खुलाइए पनि माथिल्लो क्षेत्रबाट ढुङ्गामाटो खस्ने क्रम जारी रहेकाले यातायात सहज हुन सकेको छैन । निर्वाचित भएपछि तेस्रोपटक पहिरोस्थलको निरीक्षण गर्नुभएका मन्त्री पुनले यसअघि एक वर्षभित्र पहिरोको स्थायी समाधान गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । पछिल्लो निरीक्षणमा पनि उहाँले छिटो सम्पन्न गर्न सकिने र बर्खाको समयमा समेत प्रभावकारी हुने विकल्पमा चासो दिनुभएको स्थानीयले बताएका छन् । यसअघि मन्त्री पुनको आग्रहमा पूर्वाधार विकासमन्त्री सुनील लम्सालसहितको टोलीले बिहीबार पहिरोस्थलको अनुगमन गरेको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीका सभापति युवराज रोकाका अनुसार मन्त्री पुनसहितको टोलीले प्राविधिकहरूसँग अहिले भइरहेको काम र आगामी योजनाबारे छलफल गरिरहेको छ । चालु आर्थिक वर्षमा पहिरो नियन्त्रणका लागि सङ्घीय सरकारबाट चार करोड रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै, प्रदेश सरकारबाट पक्की पुल निर्माणका लागि ठेक्का प्रक्रिया अघि बढाइएको छ । तर, फापरखेतको पहिरो नियन्त्रणको चुनौती बजेट र मर्मतमा मात्र सीमित छैन । प्राविधिकहरूको भनाइमा हालको सडकखण्डबाटै पहिरोको स्थायी समाधान खोज्ने सम्भावना न्यून रहेकाले वैकल्पिक मार्ग निर्माणलाई प्राथमिकता दिनुपर्ने देखिएको छ । उक्त मार्गसमेत करिब पाँच महिनाभित्र निर्माण सम्पन्न गर्न नसकिए आगामी बर्खामा यात्रुले थप सास्ती खेप्नुपर्ने जोखिम छ । २०५८ सालमा सडकको मार्ग खोल्नुअघिदेखि नै पहिरो रोकथामका लागि करोडौँ रुपैयाँ खर्च भइसकेको फापरखेतमा अबको मुख्य चुनौती विगतका प्रयासलाई प्रभावकारी समाधानमा बदल्नु हो । मन्त्री पुनको प्रतिबद्धता कार्यान्वयनमा आएमा पश्चिम म्याग्दीको यातायात सहज बनाउन महत्वपूर्ण उपलब्धि हुने अपेक्षा गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा
काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनलाई कारबाही गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६... ...

बाँसका सामग्री बनाएर जीविका चलाउने डोम समुदायको पुर्ख्यौली पेसा सङ्कटमा
सप्तरी । तराई मधेसमा विवाह तथा चाडपर्वका बेला प्रयोग हुने कोनिया, नाङ्लो, ढक्की र चँगेरी बनाएर जीविकोपार्जन गर्दै आएका मरिक (डोम) समुदायको पुर्ख्यौली पेसा सङ्कटमा परेको छ । परिश्रम धेरै... ...

काठमाडौँमा २४ घण्टामा ३३६ सवारी चालकमाथि कारबाही
काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधनका चालक कारबाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको २४ घण्टामा सवारी नियम उलङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका हुन्। कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउने १०२, सीसी... ...

हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने
काठमाडौँ । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने जनाएको छ । महाशाखाले देशको तराई भू–भागमा मौसम मुख्यतया सफा हुने जनाएको... ...


