Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

मधेस प्रदेशमा नयाँ सरकार गठन अन्योलमा, दलबीच सहमति अझै जुटेन

Share:WhatsAppFacebookX (Twitter)Telegram
मधेस प्रदेशमा नयाँ सरकार गठन अन्योलमा, दलबीच सहमति अझै जुटेन
Photo / Coverage: केन्द्रबिन्दु

जनकपुरधाम । मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखले दिएको समयसीमा सकिन एक दिन बाँकी रहँदासमेत दलहरूबीच सत्ता नेतृत्व र सरकार गठनको स्वरूपबारे सहमति जुट्न सकेको छैन । कुनै पनि दलसँग एकल सरकार गठन गर्न आवश्यक बहुमत नरहेकाले तीनदेखि चार दलबीचको सहकार्यबाट मात्रै नयाँ सरकार गठन हुने अवस्था छ । तर, सरकार गठनका लागि गठबन्धन बनाउने विषयमा दलहरूबीच ठोस सहमति नहुँदा राजनीतिक अन्योल बढेको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले नेपाली कांग्रेस नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका थिए । प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले मुख्यमन्त्री यादवको राजीनामा स्वीकृत गर्दै भोलि शुक्रबारसम्म संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न समयसीमा निर्धारण गरेका थिए । निर्धारित समयसीमा नजिकिँदै जाँदा पनि कुन दलको नेतृत्वमा नयाँ सरकार गठन गर्ने भन्ने विषयमा सहमति जुट्न नसकेको नेकपा संसदीय दलका नेता युवराज भट्टराईले बताए । “विभिन्न दलबीच सरकार गठनका विषयमा छलफल जारी छ,” उनले भने, “कुन दलको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा ठोस सहमति भइसकेको छैन । अझै केही समय बाँकी छ, हेरौँ केही सहमति हुन्छ कि ? ” नयाँ सरकार गठनका लागि आफूहरू सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको उनले बताए । मधेश प्रदेशसभाको सबैभन्दा ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नेपालले नयाँ सरकार गठनबारे निर्णय लिन नसक्दा पनि प्रक्रिया अन्योलमा परेको छ । एमाले र नेकपाले जसपा नेपालको नेतृत्वमा सरकार गठन गर्न चाहेको भए पनि जसपाले ठोस निर्णय गर्न नसकेको बताइएको छ । यसअघि पटकपटक सरकार परिवर्तन भएको भन्दै जसपा नेपालका नेताहरूले आगामी निर्वाचनको मुखमा प्रदेश सरकारको नेतृत्व लिन अनिच्छा देखाएको बताएका छन् । जसपा नेपाल मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश सरकार गठनबारे निर्णय गर्ने जिम्मेवारी पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको बताए । यसैबीच, केही दिनअघि जनमत पार्टीका अध्यक्ष डा सिके राउतले आफ्नो पार्टी मधेस प्रदेश सरकारमा सहभागी नहुने बताएका थिए । कूल १०७ सदस्यीय मधेस प्रदेशसभामा जसपा नेपालका २८, नेकपा (एमाले) का २४, नेपाली कांग्रेसका २२, नेकपाका १५ र जनमत पार्टीका १२ जना प्रदेशसभा सदस्य छन् । त्यस्तै, नेपाल सङ्घीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एकरएक जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेकाले नयाँ सरकार गठनका लागि बहुदलीय सहकार्य अपरिहार्य देखिएको छ । तर, सत्ता नेतृत्वको विषयमा दलहरूबीच सहमति जुट्न नसक्दा मधेश प्रदेशको नयाँ राजनीतिक समीकरण अझै अनिश्चित छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत चाङबीच भेटवार्ता
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल र चिनियाँ राजदूत चाङबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता भएको छ।  सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्ताका क्रममा परराष्ट्रमन्त्री खनालले तातोपानी नाका तत्काल खुलाउन राजदूत चाङसँग आग्रह गरेका हुन्।  भेटका क्रममा परराष्ट्रमन्त्री खनालले केही समयअघि रसुवा-भोटेकोसी क्षेत्रमा आएको बाढीका कारण रसुवागढी नाका बन्द रहेको र हिउ... ...

नेपालखबर
तातोपानी नाका तत्काल खुलाउन  परराष्ट्रमन्त्री खनालको  जोड
Latest NewsJust now

तातोपानी नाका तत्काल खुलाउन परराष्ट्रमन्त्री खनालको जोड

काठमाडौँ, मङ्सिर ३ गते । परराष्ट्रमन्त्री शिशिर खनालले चीनसँगको तातोपानी नाका तत्काल सञ्चालनमा ल्याउन जोड दिनुभएको छ।सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनालसँग च... ...

गोरखापत्र
भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेले सम्हाले पदभार
Latest NewsJust now

भारतीय राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि राजदूत पाण्डेले सम्हाले पदभार

काठमाडौं । भारतका लागि नेपालका नवनियुक्त राजदूत डा. निश्चलनाथ पाण्डेले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ । उहाँले बिहीबार नै नयाँदिल्लीस्थित बाह्रखम्बामा रहेको नेपाली राजदूतावास पुगेर औपचारिक रूपमा पदभारसमेत ग्रहण गर्नुभएको छ । भारतको राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति मुर्मुले नेपालसहित तीन देशका राजदूतबाट ओहोदाको प्रमाणपत्र ग्रहण गर्नुभएको हो । समारोहमा राजदूत पाण्डेसँगै ग्रीसका राजदूत जर्जियोस पेटमेजाकिस र ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play