काठमाडौं । बिल्डिङ फर अ रेजिलेन्ट फ्युचर अर्थात् उत्थानशील भविष्यका लागि निर्माण भन्ने नाराका साथ यही मंसिर २३ र २४ गते काठमाडौंमा नेपाल पूर्वाधार सम्मेलन आयोजना हुने भएको छ । आयोजकका अनुसार सम्मेलनको पहिलो दिन उद्घाटनसहित चारवटा प्लेनरी सेसनहरू र दोस्रो दिन विभिन्न विषयगत समानान्तर सत्रहरू सञ्चालन हुनेछन् । त्यस्तै व्यवसायी-व्यवसायीबीच प्रत्यक्ष संवाद (बिटुबी) तथा परियोजना प्रवर्द्धक निकायहरूले आफ्ना आयोजनाहरू प्रत्यक्षरूपमा लगानीकर्तामाझ प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । नेपाल सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ (सिएनआई) र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त आयोजनामा हुने सम्मेलनमा करिब १७ अर्ब अमेरिकी डलर बराबरका विभिन्न पूर्वाधार परियोजनाहरू एउटै ढाँचामा प्रस्तुत (सोकेस) गरिने जानकारी सिएनआई अध्यक्ष वीरेन्द्रराज पाण्डेले बताउनुभयो । उहाँले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूलाई नेपालका पूर्वाधार आयोजनामा ढुक्क भएर लगानी गर्न आह्वानसमेत गर्नुभयो । सम्मेलनबारे जानकारी दिन बिहीबार आयोजित पत्रकार सम्मेलन तथा ‘प्रोजेक्ट सोकेस’ कार्यक्रममा बोल्दै सिनएनआई पाण्डेले प्राकृतिक विपद्, आर्थिक संकट तथा नीतिगत उतारचढावबीच पनि पूर्वाधार दिगो र मजबुत हुनुपर्नेमा जोड दिँदै उत्थानशीलताका तीन मुख्य आधार प्रस्तुत गर्नुभएको छ । जसमा भौतिक उत्थानशीलताअन्तर्गत विपद् तथा जोखिम मूल्यांकन गरेर सडक, पुल, प्रसारण लाइनको डिजाइन गर्ने र एउटा मार्ग बन्द हुँदा तत्काल अर्को विकल्प खुला रहने पूर्वाधार निर्माण, आर्थिक उत्थानशीलताअन्तर्गत आयातमा मात्र निर्भर नभई ऊर्जा, उत्पादन तथा आपूर्ति शृंखला आत्मनिर्भरता र संस्थागत उत्थानशीलताअन्तर्गत सरकार परिवर्तन भए पनि नीतिगत स्थिरता, अनुमानयोग्य नियम र समयमै निर्णय हुने प्रणाली रहेका छन् । अध्यक्ष पाण्डेका अनुसार पूर्वाधार निर्माणलाई सडक र पुलमा मात्र सीमित नराखी प्रसारण लाइन, सिँचाइ, औद्योगिक क्षेत्र, डिजिटल सञ्जाल, खानेपानी र व्यवस्थित शहरसहितको एकीकृत पूर्ण शृंखलाका रूपमा विकास गरिनुपर्छ ।
मंसिर २३ र २४ गते नेपाल पूर्वाधार सम्मेलन

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






