Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

‘भोटे कुकुर’ : भेंडाबाख्राका रक्षक, गोठालाका सारथी

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘भोटे कुकुर’ : भेंडाबाख्राका रक्षक, गोठालाका सारथी
Photo / Coverage: नेपालन्युज

म्याग्दी।म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङका हिमबहादुर छन्त्यालको गोठमा पाँच वटा कुकुर छन्। २० वर्ष संयुक्त अरब इमिरेट्स (युएई) मा रोजगारी गरेर फर्किएका ५० वर्षीय छन्त्यालले आफ्नो फार्ममा रहेका ६०० भेँडाबाख्राको सुरक्षाका लागि ‘भोटे कुकुर’ पालेका हुन्। “घना जङ्गल, अग्ला पहाड र विकट भूगोलमा महिनौंसम्म गोठमा बसेर भेँडाबाख्रा पालन गर्ने किसानका लागि कुकुर घरपालुवा जनावर मात्र होइन, भरपर्दो साथी र सुरक्षाकर्मी पनि हो”, छन्त्यालले भने, “सयौंको संख्यामा रहेका पशुचौपायाको हेरचाहदेखि जङ्गली जनावरको आक्रमणबाट जोगाउनसम्म कुकुरले गोठालालाई सघाउँदै आएका छन्।” म्याग्दी, मुस्ताङ र ढोरपाटन क्षेत्रका घुम्ती गोठमा पशुपालन गर्ने किसानका लागि कुकुर अनिवार्य सहयोगी बनेका छन्। सहर बजारमा सोख र सुरक्षाका लागि कुकुर पाल्ने चलन भए पनि विकट पहाडी तथा हिमाली क्षेत्रमा पशुधनको रक्षाका लागि कुकुर पाल्नु किसानको बाध्यता र आवश्यकता दुवै भएको धवलागिरि गाउँपालिका–४ सिम्कोशका भेडापालक कृषक आस्मान पुर्जाले बताए। उनका अनुसार यहाँका गोठालाले अग्लो शरीर, ३० किलोग्रामभन्दा बढी तौल र बलियो शारीरिक बनावट भएका कम्तीमा दुई वटा भोटे कुकुर पाल्ने गर्छन्। “देख्दै डरलाग्दा यी कुकुरले जङ्गली जनावरको चाल छिटो थाहा पाउने, गन्ध सुँघेर पत्ता लगाउने र खतराको संकेत गर्ने क्षमता राख्छन्। यस्ता कुकुरका छाउरा प्रतिगोटा १० हजारभन्दा बढी मूल्यमा बिक्री हुने गरेका छन्”, उनले भने । अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका ८१ वर्षीय लालवीर तिलिजाले सात दशकदेखि भेँडापालन गर्दै आएका छन्। उनका अनुभवमा कुकुर बिना सयौं पशुचौपायाको रेखदेख गर्न गोठालालाई निकै कठिन हुन्छ। “जङ्गली जनावरको चाल छिटो सुन्ने र सुँघेर पत्ता लगाउने विशेषता भएका कुकुरले गोठालाको दैनिकी सहज र सुरक्षित बनाएका छन्”, उनले भने, “कुकुर नहुने हो भने किसानले धेरै क्षति र दुःख बेहोर्नु पर्छ।” जङ्गलमा चितुवा, ब्वाँसो, भालु र स्यालको जोखिम हुने भएकाले कुकुरले गोठ र पशुधनको पहरेदारको काम गर्छन्। साँझ, राति र बिहान गोठ वरपर रुँगेर बस्ने कुकुरले अपरिचित मानिस वा जङ्गली जनावर देखेपछि चर्को स्वरमा भुकेर गोठालालाई सचेत गराउँछन्। आवश्यक पर्दा जनावरलाई लखेट्ने र प्रतिकार गर्ने भएकाले गोठालाको सुरक्षामा समेत सहयोग पुग्ने गरेको छ। पाउद्वारका किसान टेकजित तिलिजाका अनुसार टाढा पुगेका भेँडाबाख्रा फर्काउन र हराएका पशु खोज्न पनि कुकुरले सघाउँछन्। “कुकुरले पशु कहाँ पुगेका छन् भन्ने पत्ता लगाउन र बथानलाई एकै ठाउँमा राख्न सहयोग गर्छन्”, उनले भने। मनिराम पाइजाले पनि कुकुर बिनाको गोठालो जीवन कल्पना गर्न नसकिने धारणा राखे। “पशु चराउन लैजाँदा कुकुर बथानको पछिपछि लाग्छन्। अप्ठ्यारो भीरमा जान नदिने, साँझ परेपछि पशुलाई खेदेर गोठमा फर्काउने र जङ्गली जनावर देखेपछि भुकेर सूचना दिने उनीहरूको विशेषता हो। चितुवा, ब्वाँसो र स्याल जस्ता जनावर देखेपछि कुकुरले भुकेर खबर गर्छन् र आक्रमण गर्न आएमा प्रतिकार गरेर भगाउँछन्”, उनले भने। गोठमा पालिएका कुकुरलाई बिहान र बेलुका पिठोको खोले, भेँडाको दूध र मासु खुवाउने गरिन्छ। पशु चरनका लागि एक ठाउँमा १० देखि १५ दिनसम्म गोठ राख्ने र त्यसपछि अर्को खर्कमा सार्ने परम्परा छ। गोठालासँगै लेकबेँसी गर्ने कुकुर पनि यही जीवनशैलीमा अभ्यस्त भएका हुन्छन्। बर्खायाममा धवलागिरि र अन्नपूर्ण हिमालको फेदी तथा ढोरपाटन क्षेत्रका बुकीमा पुगेका पशुगोठ चिसो बढेसँगै बेँसीतर्फ झर्न थालेका छन्। हिमाली चरन क्षेत्रलाई बुकी र गाईवस्तुको गोठ राख्ने स्थानलाई खर्क भनिन्छ। लेकमा पोषिलो घाँस खाएर मोटाएका पशु लिएर गोठाला बन्दोबस्तीका सामानसहित क्रमशः तल झर्ने गर्छन् । बेँसीका खेतबारीमा घुम्ती गोठ राखेर पशुबाट प्राप्त मलले जमिनको उर्वराशक्ति बढाउने परम्परा म्याग्दीमा कायमै छ। धवलागिरि गाउँपालिकाका गुर्जा, लुलाङ, लमसुङ, खोरिया, मुना, दर, मुदी, खिवाङ, फलियागाउँ र मल्कवाङ तथा रघुगङ्गाका कुइनेखानी, पात्लेखर्क, मङ्गलेखानी, चिमखोला, दग्नाम र ठाडाखानीका किसानले परम्परागत घुम्ती गोठ प्रणालीमा पशुपालन गर्दै आएका छन्। त्यस्तै अन्नपूर्ण गाउँपालिकाका दोवा, दाना, नारच्याङ, पाउद्वार, शिख र राम्चेका किसान पनि यही पेसामा आबद्ध छन्। आधुनिक जीवन शैली र रोजगारीका अवसरले परम्परागत घुम्ती गोठ प्रणाली चुनौतीमा परिरहेका बेला भोटे कुकुर भने अझै गोठालाका अभिन्न सारथि बनेका छन्। निर्जन जङ्गल र उकाली–ओरालीको कठिन यात्रामा गोठालालाई साथ दिने यी बफादार जनावरले पुस्तौंदेखि पशुपालन संस्कृतिको संरक्षण र निरन्तरतामा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मीपूजामा केराको थम्बाको व्यापार
Latest NewsJust now

लक्ष्मीपूजामा केराको थम्बाको व्यापार

विराटनगर। झिलिमिलीको चाड तिहार पर्व सुरू भएको छ। दीपावलीको उज्यालोसँगै नेपाली समाजमा विभिन्न सांस्कृतिक परम्परा र विधिहरू जोडिएका छन्, जसमध्ये लक्ष्मीपूजाका दिन घर र पसलको मूलढोकामा केराको थम्बा (बोट) गाड्नु एक प्रमुख धार्मिक अनुष्ठान मानिन्छ। यही धार्मिक आस्था र परम्परालाई व्यापारमा बदलेर सुनसरीका विजयकुमार मेहता विगत पाँच वर्षदेखि विराटनगरका बजारमा केराको थम्बा विक्री गरिरहेका छन्। तिहारको दोस्रो दिन अर्थात् लक्ष्मीपूजाको बिहानै विराटनगरका ...

नेपालन्युज
व्यावसायिक सयपत्री खेती गर्दै आएका कृषकमा उत्साह
Latest NewsJust now

व्यावसायिक सयपत्री खेती गर्दै आएका कृषकमा उत्साह

इमान सिं रानारामपुर (पाल्पा), कात्तिक २२ गते । व्यावसायिक सयपत्री खेती गर्दै आएका पाल्पाका कृषकहरुको बारीमा ढकमक्क फूल फक्रिएको छ । तिहारका लागि सयपत्री टिप्न र माला तयार गर्नमा व्... ...

गोरखापत्र
साइबर ब्युरोमा पुगे कांग्रेस सह-महामन्त्री शिवाकोटी
Latest NewsJust now

साइबर ब्युरोमा पुगे कांग्रेस सह-महामन्त्री शिवाकोटी

काठमाण्डु- नेपाली कांग्रेसका सह-महामन्त्री अजयबाबु शिवाकोटी नेपाल प्रहरीको साइबर ब्युरो पुगेर हाजिर भएका छन्। उनले आफूसँगै कानुन व्यवसायीहरू पनि लिएर गएका थिए । साइबर ब्युरोभित्र उनलाई मात्रै छिर्न दिएर कानुन व्यवसायीलाई रोकेको दाबी उनीनिकटले गरेका छन्। शिवाकोटीले कानुन व्यवसायीलाई समेत साथमा लैजान खोजेका थिए। आइतबार शिवाकोटीले चाडपर्वको बिदाका बेलासमेत प्रहरीले ताकेता गरेपछि आफू साइबर ब्युरो […] ...

काठमाण्डुपाटी
पाँच मिनेटमा एक माइल दौडिँदै चार रुबिक्स क्युब मिलाएर विश्वकीर्तिमान
Latest NewsJust now

पाँच मिनेटमा एक माइल दौडिँदै चार रुबिक्स क्युब मिलाएर विश्वकीर्तिमान

बेलायतका एक धावकले दौड र पजल समाधान गर्ने सीपलाई एकसाथ प्रयोग गर्दै अनौठो विश्वकीर्तिमान कायम गरेका छन् । बेलायती धावक जर्ज स्कोलीले एक माइल दौड पूरा गर्ने क्रममा चारवटा रुबिक्स क्युब मिलाएर गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाएका हुन् । स्कोलीले गत १२ अक्टोबरमा क्यानडाको टोरन्टोस्थित सेन्ट्रल टेक हाई स्कुलको दौड ट्र्याकमा यो कीर्तिमान बनाएका थिए । उनले चारवटा रुबिक्स क्युब मिलाउँदै ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play