Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/भोटेकोशी बाढीमा बेपत्ता प्रदीपको ६० दिनपछि कुशको शव बनाएर अन्त्येष्टि

भोटेकोशी बाढीमा बेपत्ता प्रदीपको ६० दिनपछि कुशको शव बनाएर अन्त्येष्टि

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीमा बेपत्ता प्रदीपको ६० दिनपछि कुशको शव बनाएर अन्त्येष्टि

हेटौँडा । रसुवाको भोटेकोशीमा आएको बाढीमा बेपत्ता हुनुभएका हेटौँडा उपमहानगरपालिका–५ का २५ वर्षीय प्रदीप सापकोटाको परिवारले ६० दिनपछि कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरेको छ। गत भदौ १० गते बाढीपछि सम्पर्कविहीन हुनुभएका प्रदीपको शव फेला नपरेपछि परिवारले आइतबार हेटौँडा–१० स्थित राप्ती नदी किनारमा हिन्दू धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरेको हो। रोजगारीका सिलसिलामा रसुवा पुग्नुभएका प्रदीप निर्माणाधीन जलविद्युत् आयोजनामा मजदुरी गर्नुहुन्थ्यो। बाढी आउनुअघि उहाँले दसैँमा घर फर्किने बताउनुभएको थियो। तर, बाढीमा बेपत्ता भएपछि परिवारले उहाँको अवस्थाबारे कुनै जानकारी पाउन सकेन। लामो समयसम्म छोराको खबर नपाएपछि शोकमा डुब्नुभएका बुबा बाबुराम सापकोटाले अन्तिम संस्कारका लागि समेत आर्थिक अभाव झेल्नुपरेको थियो। काजकिरियाको खर्च जुटाउन नसकेको भन्दै उहाँ केही दिनअघि जिल्ला प्रशासन कार्यालय मकवानपुर पुग्नुभएको थियो। भोटेकोशी बाढीमा बेपत्ता भएका मकवानपुरका अन्य व्यक्तिका परिवारले पनि शव फेला नपरेपछि कुशको प्रतीकात्मक शव बनाएर अन्त्येष्टि गरिसकेका छन्। थाहा नगरपालिका–३ का नेपाली सेनाका जमदार प्रदीप बर्तौला र प्रशान्त कार्की तथा थाहा नगरपालिका–६, बज्रबाराहीका रञ्जन अधिकारी र रेलबहादुर अधिकारीका परिवारले पनि धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गरेका हुन्। यसैबीच, भोटेकोशी बाढीमा बेपत्ता भएका मकवानपुरका ५८ जनाको कानुनी अवस्था टुंग्याउन जिल्ला प्रशासन कार्यालयले विवरण संकलन तथा प्रमाणीकरण प्रक्रिया अघि बढाएको छ। प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीका अनुसार असोज २३ गते नेपाल राजपत्रमा प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र ‘भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्ने विशेष प्रक्रिया, २०८३’ अनुसार प्रक्रिया अघि बढाइएको हो। बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत विवरण यकिन गरिनेछ। परिवारको निवेदन, स्थानीय तहको प्रमाणीकरण र दाबीविरोधको प्रक्रिया पूरा भएपछि विवरणलाई अन्तिम रूप दिइने प्रजिअ अधिकारीले बताउनुभयो। उहाँका अनुसार सम्बन्धित वडा कार्यालयले बेपत्ता व्यक्तिका परिवारलाई बढीमा पाँच दिनको समय दिएर निवेदन आह्वान गर्नेछ। प्राप्त विवरणमाथि तीन दिन दाबीविरोधका लागि समय दिइनेछ। त्यसपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाइने व्यवस्था गरिएको छ। जिल्ला विपद् व्यवस्थापन समितिले पाँच दिनभित्र निर्णय गरी विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउनेछ। मकवानपुरमा बेपत्ता व्यक्तिका सम्पर्क व्यक्तिको विवरण कात्तिक ११ गतेभित्र सम्बन्धित पालिकामा पेस गर्नुपर्नेछ। स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयसहितको विवरण कात्तिक १८ गतेभित्र जिल्ला समितिमा पठाउनुपर्ने समयसीमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार बाढीमा बेपत्ता हुनेमा हेटौँडा उपमहानगरपालिकाका सबैभन्दा धेरै २१ जना छन्। त्यस्तै, थाहा नगरपालिकाका २०, मनहरी गाउँपालिकाका चार, मकवानपुरगढी र बकैया गाउँपालिकाका तीन–तीन, भीमफेदी गाउँपालिकाका दुई, इन्द्रसरोवर र कैलाश गाउँपालिकाका दुई–दुई तथा राक्सिराङ गाउँपालिकाका एक जना बेपत्ता भएका छन्। बाढीमा परेका मकवानपुरका ४५ जनाको उद्धार गरिएको थियो भने हेटौँडाका तीन र भीमफेदीका एक गरी चार जनाको मृत्यु पुष्टि भइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजा अर्चना
ताजा खबरJust now

राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजा अर्चना

भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलसहित बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आइतबार भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पुगेर नवदुर्गा भवानीको पूजा अर्चना गरेका छन् । भक्तपुरको नवदुर्गा... ...

रातोपाटी
सवारी दुर्घटनामा एकको मृत्यु
ताजा खबरJust now

सवारी दुर्घटनामा एकको मृत्यु

भक्तिविलास पोखरेलगाईघाट, कात्तिक ८ गते । उदयपुरको त्रियुगा नगरपालिका –११ संगम टोलस्थित इनार चोकमा स्कुटरले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। गाईघाटको पिपलचोकतर्फ आउँदैगरेक... ...

गोरखापत्र
भोजपुरबाट बराहक्षेत्र जाँदै गरेको जेटबोट दुर्घटना, एक बालक बेपत्ता
ताजा खबरJust now

भोजपुरबाट बराहक्षेत्र जाँदै गरेको जेटबोट दुर्घटना, एक बालक बेपत्ता

भोजपुर । भोजपुरको हसनपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ जाँदै गरेको जेटबोट दुर्घटना हुँदा एक बालक बेपत्ता भएका छन्। प्रारम्भिक जानकारीअनुसार जेटबोटमा सवार १३ जनामध्ये १२ जनाको उद्धार गरिएको छ भने एक बालक अझै बेपत्ता छन्। हतुवागढी गाउँपालिका–९ हसनपुरका वडाध्यक्ष सञ्जल राईले घटनाको पुष्टि गर्दै दुर्घटनापछि १२ जनाको उद्धार गरिएको र एक बालक बेपत्ता रहेको प्रारम्भिक जानकारी प्राप्त भएको बताएका छन्। घटनाबारे थप विवरण आउन ...

केन्द्रबिन्दु
कर्णाली याक्समा मार्क वाटको इन्ट्री, एनपीएल खेल्न नेपाल आए
ताजा खबरJust now

कर्णाली याक्समा मार्क वाटको इन्ट्री, एनपीएल खेल्न नेपाल आए

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्समा अनुबन्ध भएका स्कटल्यान्डका अलराउन्डर मार्क वाट नेपाल आइपुगेका छन् । ३० वर्षीय वाट आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रालिका प्रतिनिधिले विमानस्थलमा स्वागत गरेका थिए । वाटले स्कटल्यान्डका लागि ८३ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ९४ विकेट […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play