काठमाडौं।मकवानपुरको भीमफेदीमा भएको माइक्रोबस दुर्घटनाका घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रक्रिया सरकारले अघि बढाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उपचाररत घाइतेको स्वास्थ्योपचारमा कुनै कमी हुन नदिन सम्बन्धित अस्पताललाई निर्देशन दिएको जनाएको छ। साथै, मृतकका परिवारले पाउने क्षतिपूर्ति तथा बीमा रकम र घाइतेको उपचार खर्च यथाशीघ्र उपलब्ध गराउन सवारीधनी, यातायात व्यवसायी र बीमा कम्पनीसँग समन्वय भइरहेको जनाएको छ। बिहीबार बिहान मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए। घाइतेमध्ये तीन जना उपचारपछि डिस्चार्ज भएका छन्। बाँकी तीन जनाको चितवनस्थित मनकामना अस्पताल र ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। यसैबीच, सरकारले दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश दिइएको छ। दुर्घटनामा मृत्यु हुनेमध्ये १३ जना सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका र एक जना चालक कविलासी नगरपालिकाका बासिन्दा हुन्। उनीहरू छठ पर्व मनाउन घर फर्किंदै थिए। सरकारले दुर्घटनापीडित परिवारलाई आवश्यक सहयोग र सहजीकरण गर्ने प्रतिबद्धता जनाएको छ। साथै, मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।
भीमफेदी दुर्घटनाका पीडितको उपचार र क्षतिपूर्ति प्रक्रिया अघि बढ्यो

Read Complete Original Article
Published originally on नेपालन्युज






