Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

भारत भ्रमणमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर आत्मविश्वासका साथ प्रस्तुत हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
भारत भ्रमणमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर आत्मविश्वासका साथ प्रस्तुत हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणका क्रममा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर भारतीय पक्षसँग आत्मविश्वासका साथ प्रस्तुत हुन पूर्वपरराष्ट्रमन्त्रीहरूले सुझाव दिएका छन् । नेपाल न्यूज बैंकसँग कुरा गर्दै उनीहरूले नेपाल र भारतबीचका विद्यमान समस्या समाधानका लागि कूटनीतिक संयन्त्रलाई सक्रिय बनाउन, आपसी विश्वास अभिवृद्धि गर्न तथा आर्थिक साझेदारीका नयाँ सम्भावना खोज्न प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । प्रधानमन्त्री बालेन यही मङ्सिर ६ र ७ गते दुईदिने भारत भ्रमणमा जाँदै हुनुहुन्छ । भ्रमणको पूर्वसन्ध्यामा पूर्वपरराष्ट्रमन्त्रीहरूले नेपाल–भारत सम्बन्धका विविध पक्ष, लामो समयदेखि थाती रहेका मुद्दा र आर्थिक विकासका सम्भावनालाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखेका हुन् । पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले प्रधानमन्त्रीको भारत भ्रमण दुई देशबीचको सम्बन्धमा विश्वास अभिवृद्धि गर्ने अवसर बन्नुपर्ने बताउनुभयो । भारत नेपालको नजिकको छिमेकी तथा अत्यन्तै अन्तरसम्बन्धित मुलुक भएकाले प्रधानमन्त्रीको भ्रमण सकारात्मक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘भारत हाम्रो छिमेकी र ज्यादै अन्तरसम्बन्ध भएको देशमा प्रधानमन्त्री भ्रमण गर्ने कुरा राम्रो कुरा हो । यसले दुई देशको सम्बन्धमा एउटा विश्वासको सम्बन्ध बनोस् र दुई पक्षीय चासो र चिन्ताहरूलाई समग्र रूपमा सम्बोधन हुने कोसिस होस् भन्ने मेरो शुभकामना छ ।’ डा. महतले विदेश सम्बन्ध सञ्चालन गर्दा सबैभन्दा पहिले राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्नुपर्ने बताउनुभयो । साथै, सम्बन्धित अर्को देशका चासो र चिन्तालाई समेत बुझेर कूटनीतिक संवाद अघि बढाउनुपर्ने उहाँको धारणा छ । राष्ट्रिय स्वार्थका विषयमा देशभित्र भाषण गरेर मात्रै उपलब्धि हासिल नहुने भन्दै उहाँले सम्बन्धित कूटनीतिक मञ्चमा तथ्य, तर्क र आधारसहित प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘अब यहाँ देशभित्र भाषण गरेर ठूला ठूला कुरा गरेर केही अर्थ छैन । सम्बन्धित ठाउँमा तर्कसहित, आधारसहित प्रस्तुत हुन सक्नुपर्छ ।’ त्यस्तै, नेपाली कांग्रेसका नेता एवं पूर्वपरराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले नेपाल र भारतबीचको बहुआयामिक सम्बन्धलाई दृष्टिगत गर्दा प्रधानमन्त्रीको भ्रमण महत्वपूर्ण र स्वाभाविक रहेको बताउनुभयो । उहाँका अनुसार दुई देशबीच आर्थिक, सामाजिक, सांस्कृतिक तथा परम्परागत सम्बन्ध रहँदै आएको छ । यद्यपि, निकट छिमेकीबीचको सम्बन्धमा विभिन्न मुद्दा उठिरहने भएकाले तिनको समाधानका लागि निश्चित प्रक्रिया र संयन्त्र आवश्यक रहेको उहाँको भनाइ छ । साउदले भन्नुभयो, ‘बहुआयामिक सम्बन्धलाई दृष्टिगत गरेर त्यसमा आर्थिक, सामाजिक, सांस्कृतिक र परम्परागत सम्बन्ध छ । यी सबै सम्बन्धलाई दृष्टिगत गरेर त्यस्तो किसिमको भ्रमण आफैँमा महत्वपूर्ण हुन्छ र स्वाभाविक पनि हुन्छ ।’ नेपाल–भारतबीच केही पुराना र केही तत्काल प्रभाव पार्ने प्रकृतिका मुद्दा रहेको उल्लेख गर्दै उहाँले वार्ता र संवादमार्फत समाधान खोज्नुपर्ने बताउनुभयो । सीमा विवादलगायत लामो समयदेखि समाधान हुन नसकेका विषयलाई टुङ्गोमा पुर्‍याउन दुवै देशबीच कूटनीतिक तहमा संयन्त्र स्थापना गरी वार्ता प्रक्रिया अघि बढाउनुपर्ने उहाँले सुझाव दिनुभयो । यसैगरी, नेकपा एमालेका नेता एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री बालेनले भारतीय समकक्षीसँगको भेटवार्तामा सिङ्गो राष्ट्र आफ्नो साथमा रहेको सन्देश लिएर जानुपर्ने बताउनुभयो । महत्त्वपूर्ण विदेश भ्रमणअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, राजनीतिक दलका नेता तथा विज्ञहरूसँग छलफल गरेर राष्ट्रिय सहमति निर्माण गर्ने परम्परालाई निरन्तरता दिनुपर्ने उहाँको धारणा छ । ज्ञवालीले भन्नुभयो, ‘प्रधानमन्त्रीजी भारतीय समकक्षीसँग कुरा गर्दा सिङ्गो राष्ट्र आफ्नो साथमा छ भन्ने कुराको सन्देश लिएर जान सक्नुहोस् भन्ने हाम्रो आग्रह छ । त्यसका लागि विगतमा जुन निरन्तर परम्परा रहँदै आएको छ, यस्ता महत्त्वपूर्ण भ्रमणअघि पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू, विभिन्न राजनीतिक दलका नेताहरू र विज्ञहरूसँग सुझाव लिने, राष्ट्रिय सहमति निर्माण गर्ने र त्यही सहमतिको बलमा वार्ताको टेबुलमा जाने विगतको राम्रो परम्परा कायम होस् ।’ राष्ट्रिय सहमतिका आधारमा वार्तामा प्रस्तुत हुँदा प्रधानमन्त्रीलाई थप सामर्थ्य प्राप्त हुने उहाँको भनाइ छ । यद्यपि, वर्तमान प्रधानमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यशैली हेर्दा सबै पक्षसँग संवाद हुनेमा आफूलाई आशङ्का रहेको पनि उहाँले बताउनुभयो । ज्ञवालीले प्रधानमन्त्री बालेनलाई भारतसँगको वार्तामा कुनै हीनताबोध नराखी सार्वभौम राष्ट्रको प्रतिनिधिका रूपमा आत्मविश्वासका साथ प्रस्तुत हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘आत्मविश्वासका साथ भारतीय प्रधानमन्त्रीसमक्ष प्रस्तुत हुनुहोस् भन्ने हाम्रो आग्रह छ । देशहरू ठूला होलान्, साना होलान्, आकार, जनसङ्ख्या र अर्थतन्त्रको हिसाबले फरक होलान् । तर वार्ताको टेबुलमा बस्दा दुईवटा सार्वभौम राष्ट्रका प्रधानमन्त्रीहरू बस्छन् । त्यसबारेमा कुनै पनि हीनताबोध नगरिकन दरिलो आत्मविश्वासका साथ प्रस्तुत हुन जरुरी हुन्छ ।’ नेपाल–भारतबीचका समस्या लुकाएर वा पन्छाएर सम्बन्ध बलियो नहुने भन्दै उहाँले सीमा विवादलगायतका विषय स्पष्ट रूपमा उठाउनुपर्ने बताउनुभयो । समस्या समाधानका लागि यसअघि नै तय भएका कूटनीतिक संयन्त्रलाई सक्रिय बनाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो । ज्ञवालीका अनुसार सीमा समस्याबारे छलफल गर्न दुवै देशका परराष्ट्र सचिवस्तरीय संयन्त्र बनाउने निर्णय सन् २०१४ मै भएको थियो । त्यस्तै, सन् १९५० को सन्धिका कतिपय प्रावधान संशोधन गर्नुपर्ने र वाणिज्य सन्धि पुनरावलोकन गर्नुपर्ने विषय पनि लामो समयदेखि उठ्दै आएका छन् । यी विषयमा बनेका संयन्त्रलाई सक्रिय बनाएर समाधानतर्फ अघि बढ्नुपर्ने उहाँको सुझाव छ । त्यसैगरी, प्रधानमन्त्रीको भारत भ्रमण विगतका विवाद र समस्यामा मात्रै केन्द्रित हुन नहुने ज्ञवालीको धारणा छ । नेपाल र भारतबीच भविष्यमा बलियो आर्थिक साझेदारी कसरी निर्माण गर्न सकिन्छ भन्ने विषयलाई पनि भ्रमणको प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो । उहाँले पञ्चेश्वर परियोजना तीन दशकदेखि अघि बढ्न नसकेको तथा पश्चिम सेती, अपर कर्णाली, पोकेट कर्णाली र तल्लो अरुणजस्ता जलविद्युत् परियोजनामा अपेक्षित प्रगति हुन नसकेको विषय पनि उठाउनुपर्ने बताउनुभयो । पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझावलाई समेट्दा प्रधानमन्त्रीको भारत भ्रमणमा राष्ट्रिय स्वार्थमा आधारित कूटनीतिक संवाद, द्विपक्षीय समस्याको समाधान, राष्ट्रिय सहमति, आपसी विश्वास अभिवृद्धि र आर्थिक साझेदारीका नयाँ सम्भावनाको खोजी मुख्य प्राथमिकताका रूपमा देखिएका छन् । -मनिषा बस्नेत, नेपाल न्यूज बैंक

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता
Latest NewsJust now

उर्जामन्त्री श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख सिस्लेनबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ र विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनबीच भेटवार्तामा भएको छ । भेटमा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन तथा प्रसारण र वितरण प्रणालीको सुधारलाई प्राथमिकता दिनुपर्ने बताएका हुन् । उनले सम्भावित विपद्बाट ऊर्जा पूर्वाधार सुरक्षित राख्न जोखिममा आधारित योजना, पूर्वसूचना प्रणाली, जलवायु जोखिम मूल्यांकन र विपद् व्यवस्थापन क्षमता बढाउन ...

कर्पोरट खबर
एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड
Latest NewsJust now

एआई प्रयोगमा व्यवसायलाई जिम्मेवार बनाउँदै न्युजिल्यान्ड

वेलिङ्टन । न्युजिल्यान्डको कमर्स कमिसनले व्यवसायमा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्दा प्रतिस्पर्धा तथा उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्था कसरी लागू हुन्छ भन्ने विषयमा नयाँ निर्देशिका जारी गरेको छ । कमर्स कमिसनकी उपाध्यक्ष एनी क्यालिननले बुधबार जारी गरेको विज्ञप्तिमा एआईले व्यवसाय सञ्चालनको शैलीमा परिवर्तन ल्याए पनि यसले व्यवसायको कानुनी दायित्वमा कुनै परिवर्तन नगर्ने बताएका छन् । उनका अनुसार निर्णय मानिसले गरे पनि, ...

केन्द्रबिन्दु
शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव
Latest NewsJust now

शिशुको मृत्यु भएपछि अस्पतालमा तनाव

दिपक गौतम वीरगञ्ज (पर्सा), मङ्सिर २ गते । उपचारका क्रममा १५ दिने नवजात शिशुको मृत्यु भएपछि वीरगञ्जमा रहेको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल तनावग्रस्त बनेको छ ।शिशुको मृत्यु चि... ...

गोरखापत्र
जलवायु वित्त अनुदानमा आधारित सहज पहुँच हुनुपर्छ : मन्त्री चौधरी
Latest NewsJust now

जलवायु वित्त अनुदानमा आधारित सहज पहुँच हुनुपर्छ : मन्त्री चौधरी

जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको विपद्पछिको पुनः स्थापना र पुनर्निर्माणका लागि पाँच अर्ब अमेरिकी डलर आवश्यक रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदायसँग जलवायु वित्तमा सहज पहुँचको व्यवस्था हुनुपर्ने बताएकी छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play