काठमाडौं । भारतका विदेश सचिव विक्रम मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज (बुधबार) काठमाडौं आउँदै हुनुहुन्छ । प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारी भइरहेको बेला भारतीय विदेश सचिव मिश्री दुईदिने औपचारिक भ्रमणका लागि आज नेपाल आउन लाग्नुभएको हो । नेपाल र भारतले भारतीय विदेश सचिव विक्रम मिस्रीको नेपाल भ्रमणको सोमबार संयुक्त रूपमा घोषणा गरेका थिए । दुई देशबीचको लामो समयदेखिको सम्बन्धलाई थप अघि बढाउने र सहकार्यका प्रमुख क्षेत्रहरूको समीक्षा गर्ने उद्देश्यसहित मिस्री यही कात्तिक १८ र १९ गते काठमाडौंमा रहनुहुने छ । परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री नेपाल आउन लागेका हुन् । उहाँले आफ्ना नेपाली समकक्षी परराष्ट्र सचिव राईसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम तय भएको छ । विदेश सचिव मिश्रीको भ्रमण प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारीका सिलसिलाअन्तर्गत हुन लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपालका परराष्ट्र सचिव राई र विदेश सचिव मिश्रीबीचको द्विपक्षीय वार्तामा नेपाल-भारत सम्बन्धका समग्र पक्षको समीक्षा गर्नुका साथै आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान हुनेछ । काठमाडौं बसाईंका क्रममा मिश्रीले नेपालका उच्च अधिकारी तथा राजनीतिक दलका नेताहरूसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भ्रमणका क्रममा उहाँले प्रधानमन्त्री बालेन्द्र शाहसँग पनि शिष्टाचार भेट गर्ने अपेक्षा गरिएको छ । काठमाडौं र नयाँदिल्ली प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमणको तयारीमा जुटिरहेका बेला हुन लागेको मिस्रीको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । प्रधानमन्त्री शाह मंसिर दोस्रो साताको उत्तरार्द्धमा भारत जाने अपेक्षा गरिएको छ । भ्रमणको मिति औपचारिक रूपमा घोषणा हुन बाँकी छ । तर, भ्रमणको तयारी र सहकार्यका सम्भावित क्षेत्र पहिचान गर्न दुवै देशले कूटनीतिक संवाद तीव्र बनाएका छन् । मिस्रीको भ्रमणमा प्रधानमन्त्री शाहको भारत भ्रमणको कार्यसूची, प्राथमिकता र सम्भावित उपलब्धिबारे छलफल हुने बताइएको छ । यसका साथै द्विपक्षीय सम्बन्धको समग्र समीक्षा र प्रधानमन्त्रीस्तरीय वार्तामा उठ्न सक्ने विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ । भारतीय विदेश मन्त्रालयको वक्तव्यमा भनिएको छ, ‘भारत र नेपालबीच बलियो र मैत्रीपूर्ण सम्बन्ध छ । सहकार्यका विविध क्षेत्रमा उल्लेख्य प्रगति भएको छ । विदेश सचिवको आसन्न भ्रमणले दुई देशबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिनेछ र व्यापक द्विपक्षीय साझेदारीलाई थप सुदृढ बनाउन सहयोग गर्नेछ ।’ गत चैत १३ गते पदभार सम्हाल्नुभएका प्रधानमन्त्री शाहको प्रस्तावित भारत भ्रमण पहिलो औपचारिक द्विपक्षीय विदेश भ्रमण हुनेछ । नयाँ सरकार गठन भएलगत्तै भारतले शाहलाई भ्रमणको निमन्त्रणा दिएको थियो । विदेश सचिवस्तरीय बैठक यसअघि गत जुनमा परराष्ट्रमन्त्री खनालले गरेको भारत भ्रमणपछि हुन लागेको हो । त्यसक्रममा खनालले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नुभएको थियो । दुई मन्त्रीले विकास साझेदारी, सम्पर्क सञ्जाल, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको सम्बन्धमा भइरहेको सहकार्यको समीक्षा गरेका थिए । नवनियुक्त भारतीय राजदूत दलेला जिम्मेवारी सम्हाल्न काठमाडौंमानेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेला पदभार सम्हाल्न मंगलबार काठमाडौं आइपुग्नु भएको छ । भारतीय विदेश मन्त्रालयले गत असोज अन्तिम साता उहाँलाई नेपालका लागि राजदूत नियुक्त गरेको थियो । दलेलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालय र भारतीय राजदूतावासका अधिकारीहरूले स्वागत गरेका थिए । भारतीय विदेश सचिव विक्रम मिश्रीको नेपाल भ्रमणमा अघि नै राजदूत दलेला जिम्मेवारी सम्हाल्न नेपाल आइपुग्नु भएको हो । दलेला यसअघि भारतको विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) का रूपमा कार्यरत हुनुहुन्थ्यो । भारतले नेपालमा विदेश मन्त्रालयको सचिवस्तरको करिअर डिप्लोम्याटलाई राजदूत नियुक्त गरेको सम्भवतः पहिलो पटक हो । २०२५ देखि भारतको विदेश मन्त्रालयमा आर्थिक सम्बन्ध सचिवको रूपमा रहेका दलेला त्यसअघि भुटानका लागि भारतीय राजदूतको रूपमा तीन वर्ष सेवा गर्नुभएको थियो । हाल उहाँले भारतको आर्थिक कूटनीति, ग्लोबल साउथका देशहरूसँग विकास साझेदारी, अफ्रिकासँगको साझेदारी, बहुपक्षीय आर्थिक सम्बन्ध तथा नयाँ र उदाउँदा रणनीतिक प्रविधिसम्बन्धी विषयहरू हेर्दै आउनुभएको थियो । दलेला सन् १९९३ मा भारतीय परराष्ट्र सेवामा प्रवेश गर्नुभएको थियो । उहाँले आफ्नो कूटनीतिक करियर इजरायलको तेल अभिभबाट सुरु गर्नुभएको थियो । भारतीय विदेश मन्त्रालयका अनुसार उहाँले ब्रासिलिया, शिकागो, ढाका, जेनेभा, थिम्पु र वासिंगटन डिसीस्थित भारतीय कूटनीतिक नियोगहरूमा सेवा गर्नुभएको थियो । सन् २००९ देखि २०११ सम्म दलेलाले प्रधानमन्त्री कार्यालयमा निर्देशकका रूपमा काम गर्नुभएको थियो । दलेलाले अमेरिकामा भारतका महावाणिज्यदूतका रूपमा काम गरेको अनुभव पनि छ । वासिंगटन डिसीस्थित भारतीय दूतावासमा सन् २०११ देखि २०१४ सम्म राजनीतिक मामिलाका मन्त्री तथा सन् २०२० देखि २०२२ सम्म सहायक मिसन प्रमुख भएर बस्नुभएको थियो ।
भारतीय विदेश सचिव विक्रम मिस्री आज नेपाल भ्रमणमा आउँदै

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






