काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका विभिन्न मन्त्री र राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन् । नोभेम्बर ४ र ५ (कात्तिक १८ र १९) मा भएको भ्रमणका क्रममा नेपाल–भारत सम्बन्धका विविध पक्ष, द्विपक्षीय सहकार्य र आगामी दिनमा सहयोग विस्तारका विषयमा छलफल भएको छ । नेपालका परराष्ट्र सचिव अमृतबहादुर राईको मैत्रीपूर्ण निमन्त्रणामा नेपाल आएका भारतीय विदेश सचिव मिस्रीले प्रधानमन्त्री बालेन्द्र शाहसँग शिष्टाचार भेट गरेका थिए । भेटका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना प्रधानमन्त्री शाहलाई सुनाएका थिए । उनले नेपाल–भारतबीच विभिन्न क्षेत्रमा भइरहेको सहकार्य र समग्र प्रगतिबारे जानकारी गराउँदै प्रधानमन्त्री शाहको आगामी भारत भ्रमणका क्रममा हुन सक्ने उपलब्धि तथा नयाँ पहलका विषयमा पनि छलफल गरेका थिए । भ्रमणका क्रममा मिस्रीले अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र पूर्वाधार विकासमन्त्री सुनील लाम्सालसँग पनि छुट्टाछुट्टै भेटवार्ता गरेका थिए । ती भेटमा दुई देशबीचका विभिन्न क्षेत्रमा भइरहेको सहकार्य र आपसी सम्बन्धलाई थप बलियो बनाउने विषयमा कुराकानी भएको थियो । नोभेम्बर ४ मा नेपाल र भारतका परराष्ट्र सचिवबीच प्रतिनिधिमण्डलस्तरीय वार्ता भएको थियो । वार्तामा दुवै देशबीच विभिन्न क्षेत्रमा जारी सहकार्यको समीक्षा गर्दै पारस्परिक लाभका आधारमा साझेदारीलाई थप सुदृढ बनाउने उपायबारे छलफल गरिएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ । भारतीय विदेश सचिव मिस्रीले नेपाल–भारत संसदीय मैत्री समूहका सदस्य तथा प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्यसहित सांसदहरूसँग पनि अन्तरक्रिया गरेका थिए। उक्त छलफलमा दुई देशबीचको सम्बन्ध र संसदीय तहमा आपसी सहकार्यका विषयमा विचार आदानप्रदान भएको थियो । भ्रमणका क्रममा नेपाली नेतृत्वले रसुवा–भोटेकोशी बाढीपछि भारतले तत्काल उपलब्ध गराएको मानवीय तथा प्राविधिक सहयोगप्रति आभार व्यक्त गरेको थियो। दुवै पक्षले पछिल्लो समय द्विपक्षीय सहकार्यका परम्परागत क्षेत्रहरूमा बढ्दै गएको सक्रियताप्रति सन्तुष्टि जनाएका छन् । व्यापार तथा वाणिज्य, विकास साझेदारी, जलविद्युत्, भौतिक पूर्वाधार तथा सम्पर्क सञ्जाल, सीमा व्यवस्थापन, ऊर्जा र जनस्तरको सम्बन्धलाई थप विस्तार गर्ने विषयमा दुवै पक्षले जोड दिएका छन् । त्यसैगरी, नयाँ सहकार्यका सम्भावित क्षेत्रका रूपमा नवप्रवर्तनमा आधारित उद्यम, डिजिटल सम्पर्क सञ्जाल, कृत्रिम बुद्धिमत्ता र खेलकुदलाई पनि अघि बढाउने विषयमा छलफल भएको छ । दुवै देशले नेपाल–भारत साझेदारीलाई सबै क्षेत्रमा थप उन्नत बनाउने प्रतिबद्धता दोहोर्याएका छन् । भारतीय विदेश सचिवको यो भ्रमणले नेपाल र भारतबीच नियमित रूपमा हुँदै आएका उच्चस्तरीय भ्रमण तथा संवादको परम्परालाई निरन्तरता दिएको संयुक्त प्रेस विज्ञप्तिमा उल्लेख छ। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र सहकार्यलाई थप अघि बढाउन भ्रमण महत्त्वपूर्ण रहेको दुवै पक्षको निष्कर्ष छ । The post भारतीय विदेश सचिवको नेपाल भ्रमण सम्पन्न, संयुक्त विज्ञप्तिमा के भनियो ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
भारतीय विदेश सचिवको नेपाल भ्रमण सम्पन्न, संयुक्त विज्ञप्तिमा के भनियो ?

Read Complete Original Article
Published originally on कर्पोरट खबर






