काठमाडौं । नेपालमा विश्वप्रसिद्ध भारतीय प्राविधिक शिक्षण संस्था आईआईटीको शाखा स्थापना हुने भएको छ । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रतिष्ठित भारतीय शैक्षिक संस्थाको क्याम्पस स्थापना प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटीको शाखा स्थापना हुने घोषणा गरेका थिए । प्रधानमन्त्री शाहले यसले नेपाललाई प्राविधिक शिक्षाको केन्द्र बनाउन सहयोग पुग्ने र भविष्यमा भारतीय विद्यार्थीसमेत नेपालमा अध्ययन गर्न आउने वातावरण बनाइने बताएका थिए । भारतसँगको शैक्षिक सहकार्यअन्तर्गत नेपाली विद्यार्थीका लागि कानुन, प्रविधि र कृत्रिम बौद्धिकताजस्ता विषयमा छात्रवृत्ति तथा तालिमका अवसर विस्तार गरिनेछ । दुई देशका शैक्षिक संस्थाबीच प्राध्यापक र विज्ञ आदानप्रदानलाई पनि प्रोत्साहन गरिनेछ । प्रधानमन्त्री शाहको भारत भ्रमणका अवसरमा जारी संयुक्त दृष्टिकोण पत्रमा शिक्षा तथा सीप विकासका अन्य महत्वपूर्ण विषयहरू पनि समेटिएका छन्। संयुक्त दृष्टिकोण पत्रअनुसार हाल सञ्चालनमा रहेका छात्रवृत्ति योजनाहरूलाई विस्तार गर्दै अब नेपाली विद्यार्थीहरूका लागि कानुन (ल), प्रविधि (टेक्नोलोजी) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक तथा नयाँ विषयहरूमा थप छात्रवृत्ति र तालिमका अवसरहरू प्रदान गरिनेछ। यसैगरी, दुई देशका शैक्षिक तथा तालिम संस्थाहरूबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै प्राध्यापक (फ्याकल्टी) र विज्ञहरूको आदानप्रदानलाई प्रोत्साहन र संस्थागत गरिने बताइएको छ। नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्न भारतको सहयोगमा एक व्यावसायिक तालिम केन्द्र (भोकेसनल ट्रेनिङ इन्स्टिच्युट) स्थापना गरिने भएको छ। उक्त केन्द्रमार्फत नेपाली युवाहरूलाई उत्पादन (म्यानुफ्याक्चरिङ), सेवा (सर्भिसेज) र उद्यमशीलताका क्षेत्रमा आवश्यक व्यावहारिक सीप तथा तालिम प्रदान गरिनेछ। त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘नालन्दा केन्द्र’ स्थापना गरी नालन्दा विश्वविद्यालयसँग सहकार्य गरिने, नेपालमा आईसीएआर (ICAR) सेन्टर अफ एक्सिलेन्स स्थापना गर्दै दुई देशका कृषि विश्वविद्यालयहरूबीच सम्बन्ध विस्तार गरिने तथा प्रमुख मेडिकल संस्थानहरूबीच विद्यार्थी र प्राध्यापक आदानप्रदानलाई प्रोत्साहन गरिने उल्लेख छ। The post भारतसँगको शैक्षिक सहकार्यमा के-के भए ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
भारतसँगको शैक्षिक सहकार्यमा के-के भए ?

Read Complete Original Article
Published originally on कर्पोरट खबर






