काठमाडौं। सशस्त्र प्रहरी बल नेपालले तिहारको भाइटीकाको दिन काठमाडौं उपत्यका र भक्तपुरमा सर्वसाधारणका लागि निःशुल्क बस सेवा सञ्चालन गरेको छ। सार्वजनिक यातायातका साधन न्यून सञ्चालन हुने भएकाले यात्रुको सहजताका लागि तीनवटा बसमार्फत यो सेवा प्रदान गरिएको हो। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार यो निःशुल्क सेवा बिहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म सञ्चालन हुनेछ। चाडपर्वका समयमा सार्वजनिक यातायातको अभाव झेल्नुपर्ने बाध्यतालाई कम गर्न सशस्त्र प्रहरीले विगतदेखि नै यस्तो सेवा दिँदै आएको छ। सेवा अन्तर्गत पहिलो बस सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट निस्किएर बालाजु, नयाँ बसपार्क, कोटेश्वर, सातदोबाटो र बल्खु हुँदै विभिन्न स्थानमा पुग्नेछ। दोस्रो बस प्रधान कार्यालयबाटै निस्किएर सीतापाइला, कलंकी, बल्खु, कोटेश्वर र नयाँ बसपार्क हुँदै सेवा दिनेछ। तेस्रो बस स्वयम्भूबाट भक्तपुरका लागि सञ्चालन हुनेछ। यो बस स्वयम्भू, कलंकी, बानेश्वर, कोटेश्वर, पेप्सिकोला, सानोठिमी, पुरानोठिमी, सल्लाघारी र लोकन्थली हुँदै पुनः बानेश्वर, कलंकी र स्वयम्भूसम्म पुग्ने व्यवस्था मिलाइएको छ।
भाइटीकाका दिन काठमाडौं र भक्तपुरमा सशस्त्र प्रहरीको निःशुल्क बस सेवा

Read Complete Original Article
Published originally on नेपालन्युज





