काठमाडौं । नेपाल बैंकर्स संघको अध्यक्षमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेन्द्रराज रेग्मी निर्विरोध निर्वाचित भएका छन्।संघको शुक्रबार सम्पन्न साधारणसभाले रेग्मीलाई अध्यक्षमा निर्वाचित गरेको हो। उनी यसअघि संघको उपाध्यक्ष थिए। संघको उपाध्यक्षमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल निर्विरोध चयन भएका छन्। यसअघि कार्यसमिति सदस्य रहेका खनाल उपाध्यक्षमा बढुवा भएका हुन्। पछिल्लो समय संघमा उपाध्यक्षलाई नै अध्यक्ष बनाउने अभ्यास रहँदै आएको छ। सोही परम्पराअनुसार रेग्मी अध्यक्षमा निर्विरोध चयन भएका हुन्। संघको कार्यसमितिमा निवर्तमान अध्यक्षसहित १० जना रहने व्यवस्था छ। निवर्तमान अध्यक्षमा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला छन्। प्रमुख कार्यकारी अधिकृत पदबाट अवकाश पाएपछि संघको सदस्यता पनि स्वत: समाप्त हुने भएकाले लक्ष्मी सनराइज बैंकबाट अवकाश पाएका अजयविक्रम शाहको कार्यसमिति सदस्य पद रिक्त भएको छ। त्यस्तै, लगातार दुई कार्यकाल कार्यसमिति सदस्य रहेका एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पनि कार्यसमितिबाट बाहिरिएका छन्। उनको स्थानमा सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत पवनकुमार आचार्य र शाहको स्थानमा सिद्धार्थ बैंकका रामेश्वरप्रसाद बस्याल कार्यसमितिमा आउने भएका छन्। नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे भने एक कार्यकाल पूरा गरेपछि दोस्रो कार्यकालका लागि पनि कार्यसमिति सदस्यमा दोहोरिने भएका छन्। खनाल उपाध्यक्षमा चयन भएपछि उनले छाडेको कार्यसमिति सदस्य पदमा नयाँ कार्यसमितिले सदस्य नियुक्त गर्नेछ। शुक्रबार आज साँझ आयोजना हुने विशेष कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उनलाई सम्मान गर्ने कार्यक्रम रहेको संघले जनाएको छ। The post बैंकर्स संघको अध्यक्ष बन्दै ग्लोबल आईएमईका रेग्मी, उपाध्यक्षमा कुमारीका रामचन्द्र खनाल appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
बैंकर्स संघको अध्यक्ष बन्दै ग्लोबल आईएमईका रेग्मी, उपाध्यक्षमा कुमारीका रामचन्द्र खनाल

Read Complete Original Article
Published originally on कर्पोरट खबर






