काठमाडौं । बेल्जियमका स्टार स्ट्राइकर रोमेलु लुकाकुले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् । ३३ वर्षीय लुकाकुले सोमबार सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुङ्ग्याउने निर्णय सार्वजनिक गरेका हुन् । बेल्जियमका सर्वाधिक गोलकर्ता लुकाकुले राष्ट्रिय टोलीबाट १६ वर्ष खेले । उनले बेल्जियमका लागि १३५ खेलमा ९५ गोल गरेका छन् । उनी विश्वकपमा आठ र युरोपियन च्याम्पियनसिपमा ६ गोल गर्दै दुवै प्रतियोगितामा बेल्जियमका सर्वाधिक गोलकर्ता बनेका छन् । संन्यासको घोषणा गर्दै लुकाकुले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यी १६ वर्षमा मैले राष्ट्रिय टोलीका लागि आफ्नो सबै क्षमता र मेहनत लगाएँ । यस अवधिमा मैले कल्पना गर्न सकिने हरेक भावना अनुभव गरेँ ।’ उनले आफूले असाधारण सहकर्मीसँग खेल्ने अवसर पाएको भन्दै उनीहरूप्रति सधैँ आभारी रहने बताएका छन् । टोलीलाई उत्कृष्ट प्रदर्शन गर्न प्रेरित गर्ने र आफूलाई विश्वास गर्ने सबै प्रशिक्षकलाई पनि उनले धन्यवाद दिएका छन् । बेल्जियमका समर्थकप्रति आभार व्यक्त गर्दै लुकाकुले चार विश्वकप र तीन युरोपियन च्याम्पियनसिपमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउनु गर्वको विषय भएको उल्लेख गरेका छन् । उनले ती क्षणहरू कहिल्यै नबिर्सने र अन्तर्राष्ट्रिय फुटबलबाट बिदा हुने निर्णयमा आफू सन्तुष्ट रहेको बताएका छन् । लुकाकुले बेल्जियमबाट चार विश्वकप र तीन युरोपियन च्याम्पियनसिप खेलेका छन् । उनको संन्याससँगै बेल्जियम फुटबलको एउटा महत्वपूर्ण अध्याय समाप्त भएको छ । यसअघि बेल्जियमका मिडफिल्डर एक्सेल विट्सेलले पनि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका थिए।
बेल्जियमका सर्वाधिक गोलकर्ता रोमेलु लुकाकुले लिए अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






