म्याग्दी। बाढीपहिरोले खानेपानीको मुख्य पाइपलाइन क्षतिग्रस्त बनाएपछि डेढ महिनादेखि प्रभावित बनेको म्याग्दीको बेनी बजारमा खानेपानी आपूर्ति पुनः सुरु भएको छ। बेनी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट अस्थायी पाइपलाइन निर्माण गरी बेनी बजारमा पानी आपूर्ति थालेको हो। करिब १४ किलोमिटर लामो मुख्य पाइपलाइन मर्मतपछि मङ्गलबार साँझदेखि पानी सञ्चालनको परीक्षण सफल भएको संस्थाका अध्यक्ष रमेश गिरीले जानकारी दिए। उनका अनुसार प्रतिसेकेन्ड आठ लिटरका दरले पानी आपूर्ति गर्न सकिने गरी परीक्षण गरिएको छ। राहुपारे–गलेश्वर र डल्लेपिपल–बेनी खण्डमा अस्थायी तथा वैकल्पिक पाइपलाइन निर्माण गरिएको छ। बेनीस्थित खोरिया र खरेनीको पाखोमा पहिरो जान थालेपछि पाइपलाइनको मार्ग परिवर्तन गरी डल्लेपिपल–कालीपुल–बेनी चक्रपथ–दरवाङ बसपार्क क्षेत्रमा करिब तीन किलोमिटर नयाँ पाइपलाइन विस्तार गर्नुपरेको अध्यक्ष गिरीले बताए। विपद्पछि कोप्रेको मुहानबाट प्रतिसेकेन्ड तीन लिटर, वैकल्पिक अम्रेनी मुहानबाट तीन दशमलव चार लिटर र राहुपारेबाट चार लिटर पानी ल्याएर आलोपालो प्रणालीमा वितरण गरिएको थियो। वैकल्पिक मुहान सुक्न थालेपछि पुनः रिठाखर्क र डाँडाखर्ककै मुहानबाट पानी आपूर्ति गर्न थालिएको संस्थाले जनाएको छ। संस्थाका उपाध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार बेनी बजारमा प्रतिसेकेन्ड २० लिटरभन्दा बढी पानी आवश्यक पर्छ। संस्थामार्फत बेनी नगरपालिकाका वडा नं २, ७ र ८ का एक हजार २०० घरधुरीमा बसोबास गर्ने करिब २५ हजार जनसङ्ख्यालाई खानेपानी वितरण हुँदै आएको छ। प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति गर्न सकिने डाँडाखर्क र रिठाखर्कका मुहानबाट पानी ल्याउने पाइपलाइन विपद्पछि अवरुद्ध भएको थियो। अन्य विकल्प तत्काल उपलब्ध नभएकाले बेनी–जोमसोम सडकको किनारैकिनार अस्थायी पाइपलाइन विस्तार गरी तिहारअघि राहुपारेबाट पानी ल्याउने तयारी गरिएको संस्थाका सचिव केशवप्रसाद रेग्मीले बताए। उनका अनुसार बेनीमा खानेपानी आपूर्ति सहज बनाउन तत्कालीन योजनाका लागि १४ करोड ७० लाख रुपैयाँ र दीर्घकालीन योजनाका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने लागत अनुमानसहित खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरिएको छ।
बेनी खानेपानीको पाइप लाइन मर्मत

Read Complete Original Article
Published originally on नेपालन्युज






