म्याग्दी। हालैको भीषण बाढीबाट क्षतिग्रस्त बेनी खानेपानी आयोजनाको पूर्वाधार पुनःनिर्माण प्रक्रिया सुरु भएको छ। सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय, कास्कीले आगामी बर्खाअघि नै पुनःनिर्माण सम्पन्न गर्ने लक्ष्यसहित ठेक्का आह्वान गरेको छ। बेनी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष रमेश गिरीका अनुसार अन्नपूर्ण गाउँपालिका–८ स्थित रिठाखर्क र डाँडाखर्कका मुहानबाट बेनी बजारमा पानी ल्याउने १४ किलोमिटर पाइपलाइन पुनःनिर्माणका लागि १३ करोड रुपैयाँको ठेक्का आह्वान गरिएको हो। बाढीका कारण असोज ११ गतेदेखि खानेपानी आपूर्ति अवरुद्ध भएको थियो। करिब डेढ महिनापछि अस्थायी पाइपलाइन मर्मत गरी कात्तिक २७ गतेदेखि पानी वितरण सुरु गरिएको अध्यक्ष गिरीले बताए। “कात्तिक ५ गते म्याग्दी आउनुभएका पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसमक्ष पुनःनिर्माणको प्रस्ताव राखेका थियौँ। उहाँको पहलपछि सम्बन्धित निकायले सर्वेक्षण र लागत अनुमान तयार गरी ठेक्का प्रक्रिया अघि बढाएको हो,” उनले भने। संस्थाले तत्कालीन योजनाका लागि १४ करोड ७० लाख रुपैयाँ र दीर्घकालीन योजनाका लागि ७० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरेको थियो। सोही लागत अनुमानसहित संस्थाले खानेपानी तथा ढल व्यवस्थापन विभागमा प्रस्ताव पेस गरेको थियो। पहिलो चरणमा तत्काल आवश्यक पुनःनिर्माणका लागि ठेक्का आह्वान गरिएको हो। बेनी नगरपालिकाका वडा नं. २, ७ र ८ का एक हजार दुई सय घरपरिवारका करिब २५ हजार बासिन्दालाई प्रतिसेकेन्ड २० लिटर खानेपानी आवश्यक पर्ने संस्थाले जनाएको छ। रिठाखर्क र डाँडाखर्कका मुहानबाट प्रतिसेकेन्ड २२ देखि २५ लिटरसम्म पानी आपूर्ति हुँदै आएको थियो। बाढीले ती मुहानबाट पानी ल्याउने पाइपलाइनमा क्षति पुर्याएपछि आपूर्ति बन्द भएको थियो।
बेनीको खानेपानी आयोजना पुनःनिर्माण गर्न १३ करोडको ठेक्का

Read Complete Original Article
Published originally on नेपालन्युज






