त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब २२ करोड रुपैयाँ मूल्य बराबरको साढे ५ किलो सेतो हेरोइन बरामद गरेको छ। थाइल्यान्डबाट काठमाडौं ल्याइएको उक्त लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराका अनुसार शनिबार बिहान शङ्का लागेर गरिएको जाँचका क्रममा भारतीय नागरिकको लगेजबाट सेतो हेरोइन बरामद भएको हो। पक्राउ पर्नेमा भारतको महाराष्ट्र घर भएका ५२ वर्षीय रेवराज टिघारे रहेका छन्। उनले बिरालो र खरायोको खानाको प्याकेटभित्र लुकाएर साढे ५ किलो सेतो हेरोइन ल्याएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बरामद हेरोइनको अवैध बजार मूल्य करिब २२ करोड रुपैयाँ पर्छ। अनुसन्धान अधिकृतहरूका अनुसार सेतो हेरोइन प्रतिग्राम ४० हजार रुपैयाँका दरले कारोबार हुने गरेको छ। प्रहरी अनुसन्धानका क्रममा पक्राउ परेका टिघारेको अन्तर्राष्ट्रिय यात्रा विवरणसमेत शङ्कास्पद देखिएको छ। उनी यसअघि दुई पटक लाओसबाट काठमाडौं आएर भारत गएको खुलेको छ। त्यस्तै, उनले जिम्बाब्वे, सुडान, बङ्गलादेश र कम्बोडियाको भ्रमण गरेको यात्रा विवरणमा देखिएको छ। एसएसपी बोहराका अनुसार उनी लागुऔषध कारोबार गर्ने अन्तर्राष्ट्रिय सञ्जालका मुख्य व्यक्तिमध्ये एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनको साथबाट मेकानिकल इन्जिनियरको प्रमाणपत्रसमेत बरामद भएको प्रहरीले जनाएको छ। लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार सेतो हेरोइनको कारोबारमा संलग्नलाई १५ वर्षदेखि जन्मकैदसम्मको कैद र ५ लाखदेखि २५ लाख रुपैयाँसम्म जरिवाना हुने कानुनी व्यवस्था छ। पक्राउ परेका टिघारेमाथि सोही ऐनअनुसार थप अनुसन्धान भइरहेको एसएसपी बोहराले जानकारी दिए।
बिरालो र खरायोको खानाभित्र लुकाएर ल्याइएको साढे ५ किलो हेरोइनसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

Read Complete Original Article
Published originally on पर्दाफास






