काठमाडौं । जापानसँग मैत्रीपूर्ण फुटबल खेलमा पराजित भएपछि ब्राजिलका पूर्वस्टार खेलाडी रोमारियाेले राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोट्टीलाई तत्काल बर्खास्त गर्न माग गरेका छन् । सिंगापुरमा शनिबार भएको मैत्रीपूर्ण खेलमा ब्राजिल जापानसँग ३–२ गोलले पराजित भएको थियो । खेलमा सुरुवाती अग्रता जोगाउन नसक्नु र अन्तिम समयमा गोल खानुले ब्राजिलको प्रदर्शनमाथि प्रश्न उठिरहेका बेला सन् १९९४ को विश्वकप विजेता रोमारियाेले प्रशिक्षक एन्सेलोट्टीप्रति आक्रोश व्यक्त गरेका हुन् । खेलपछि सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै उनले एन्सेलोट्टीलाई ब्राजिलको प्रशिक्षक पद छाडेर क्लब फुटबलमा फर्किन आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘एन्सेलोट्टी, अब अति भयो ! आफ्नो सामान प्याक गर्नुहोस् र बाहिरिनुहोस् । तपाईंको विरासत र उपलब्धिमाथि कसैले प्रश्न उठाएको छैन । तपाईं विश्व फुटबलका महान् प्रशिक्षकमध्ये एक हुनुहुन्छ । तर त्यो सफलता क्लब फुटबलमा थियो । ब्राजिल राष्ट्रिय टोलीमा तपाईंले अझै केही उपलब्धि हासिल गर्नुभएको छैन ।’ खेलमा जापानका ताकेफुसा कुबो र केइटो नाकामुराले पहिलो १९ मिनेटभित्रै गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाएका थिए । तर ब्राजिलका भिनिसियस जुनियरले ३३औँ र ७५औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यद्यपि, खेलको इन्जुरी समयमा तात्सुहिरो साकामोतोले निर्णायक गोल गरेपछि जापान ३–२ ले विजयी भयो । निर्णायक गोलअघि भएको सम्भावित फाउललाई लिएर विवादसमेत भएको थियो । उक्त घटनापछि प्रशिक्षक एन्सेलोट्टी र सब्स्टिच्युट भएर मैदानबाहिर रहेका राफिन्हा दुवैलाई रातो कार्ड देखाइएको थियो । रोमारियाेले ब्राजिल फुटबल महासंघका अध्यक्ष सामिर जुआक्सलाई समेत प्रशिक्षकबारे तत्काल निर्णय लिन आग्रह गरेका छन् । उनले अर्को विश्वकपमा पनि असफलताको जोखिम लिन नसकिने भन्दै अहिले नै कदम चाल्नुपर्ने बताएका छन् । उनले भनेका छन्, ‘अध्यक्षज्यू, अब निर्णय गर्ने समय आएको छ । ब्राजिलको जर्सीलाई हल्का रूपमा लिन मिल्दैन । हामीले पर्याप्त अपमान र निराशा भोगिसकेका छौँ । अर्को विश्वकप पनि गुमाउने जोखिम लिन सक्दैनौँ ।’ यसअघि एन्सेलोट्टीको प्रशिक्षण करार सन् २०३० सम्म थपिएको थियो । तर जापानसँगको हारपछि उनको नेतृत्वलाई लिएर ब्राजिलमा आलोचना बढेको छ । यसैबीच, ब्राजिलले नोभेम्बर १७ मा आयोजक सिंगापुरसँग वर्षको अन्तिम मैत्रीपूर्ण खेल खेल्ने तालिका छ ।
ब्राजिलका विश्वविजेता रोमारियोले एन्सेलोट्टीलाई भने- अब अति भयो, सामान प्याक गरेर फर्क !

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






