काठमाडौं। श्रीलंकाको कोलम्बोमा आयोजित बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग प्रयास (बिम्स्टेक) को पहिलो स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाएकी छन्।

बैठकमा मन्त्री मेहताले क्षेत्रीय जनस्वास्थ्य सहकार्य, संक्रामक तथा पशुजन्य रोग नियन्त्रण, एन्टिमाइक्रोबियल प्रतिरोध, जलवायु परिवर्तनको स्वास्थ्यमा परेको प्रभाव, स्वास्थ्य आपत्कालीन पूर्वतयारी तथा सबैका लागि गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित गर्ने विषयमा नेपालको प्राथमिकता र धारणा प्रस्तुत गरेकी छन्।

बैठकका क्रममा बिम्स्टेक सदस्य राष्ट्रका स्वास्थ्य मन्त्री तथा उच्चस्तरीय प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेटघाट र छलफलसमेत भएको थियो। छलफलमा क्षेत्रीय स्वास्थ्य सहकार्य विस्तार, अनुभव तथा प्राविधिक ज्ञान आदानप्रदान र साझा स्वास्थ्य चुनौतीको सामूहिक समाधानका विषयमा विचारविमर्श भएको थियो।

नेपालले क्षेत्रीय स्वास्थ्य प्रणालीलाई थप सबल, समावेशी र उत्थानशील बनाउन सदस्य राष्ट्रबीच आपसी विश्वास, साझा जिम्मेवारी र प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा राखेको छ।

बैठकमार्फत क्षेत्रीय स्वास्थ्य चुनौतीको सामना गर्न सदस्य राष्ट्रबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने तथा स्वास्थ्यसम्बन्धी अनुभव र प्राविधिक ज्ञान आदानप्रदानलाई प्राथमिकता दिने विषयमा जोड दिइएको छ।

बिम्स्टेक स्वास्थ्य मन्त्रीस्तरीय बैठकमा नेपालको स्वास्थ्य प्राथमिकता प्रस्तुत

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार