काठमाडौँ । पशुपति क्षेत्रमा मङ्सिर २१ गते मनाइने बाला चतुर्दशी पर्वको तयारी सुरु गरिएको छ। पर्वलाई व्यवस्थित, सुरक्षित र मर्यादित रूपमा सम्पन्न गर्न पशुपति क्षेत्र विकास कोषले सम्बन्धित सुरक्षा निकायका प्रतिनिधिसँग सुरक्षा व्यवस्थापनसम्बन्धी बैठक गरेको छ। कोषका सदस्य सचिव तीर्थ श्रेष्ठका अनुसार पर्वका अवसरमा पशुपति क्षेत्रमा आउने भक्तजनको सहज दर्शन, भीड व्यवस्थापन, शान्ति सुरक्षा तथा आवश्यक सुरक्षा प्रबन्ध मिलाउने विषयमा बैठकमा छलफल भएको छ। पर्व व्यवस्थापनका लागि सम्बन्धित निकायबीच समन्वय गरी आवश्यक तयारी अघि बढाइएको कोषले जनाएको छ। बाला चतुर्दशीका अवसरमा मार्गशीर्ष कृष्ण त्रयोदशीको साँझ दिवङ्गत पितृका नाममा बत्ती बाल्ने र रातभर जाग्राम बस्ने परम्परा छ। भोलिपल्ट चतुर्दशीका दिन बिहान पशुपति क्षेत्रमा शतबीज छरेर पर्व मनाइन्छ। यस वर्ष मङ्सिर २० गते आइतबार साँझदेखि नै पशुपति क्षेत्रमा पितृका नाममा बत्ती बाल्ने भक्तजनको घुइँचो लाग्ने अपेक्षा गरिएको छ। पशुपति क्षेत्रका साथै देशका विभिन्न भागमा रहेका शिवालयमा पनि बत्ती बाल्ने र शतबीज छर्ने परम्परा रहेको छ।
बाला चतुर्दशीका लागि पशुपति क्षेत्र विकास कोषले थाल्यो तयारी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु





