काठमाडौँ । प्रहरी निरीक्षक भएको नक्कली परिचय दिएर मुद्दा मिलाइदिने बहानामा दुई लाख रुपैयाँ असुल्न खोज्ने पाँच जना काठमाडौँमा पक्राउ परेका छन्। आफूहरू प्रहरी निरीक्षक भएको बताउँदै सोधपुछका लागि प्रहरी कार्यालय बोलाइएका व्यक्तिलाई मुद्दा नचलाई छुटाइदिने प्रलोभन देखाएर उनीहरूले रकम मागेको प्रहरीले जनाएको छ। कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित वीरेन्द्र चोकबाट पक्राउ पर्नेमा ओखलढुङ्गाका ३४ वर्षीय टेकराज श्रेष्ठ, रामेछापका २९ वर्षीय इन्द्रबहादुर भुजेल, पाल्पाका ३३ वर्षीय धिरज रानाभाट, सिन्धुपाल्चोकका २५ वर्षीय खेलबहादुर मगर र सिन्धुलीका ३० वर्षीय हर्कसिंह भोलन रहेका छन्। प्रहरीका अनुसार तीन दिनअघि एक व्यक्तिलाई सोधपुछका लागि प्रहरी प्रभागमा बोलाइएको थियो। उनलाई भेट्न पुगेका भाइसँग आरोपितहरूले आफूहरू प्रहरी निरीक्षक भएको परिचय दिएका थिए। त्यसपछि दाजुविरुद्ध मुद्दा नचलाउने गरी छुटाइदिने भन्दै दुई लाख रुपैयाँ व्यवस्था गर्न दबाब दिएका थिए। उनीहरूले रकम माग्नुका साथै होटलमा भएको खर्चसमेत तिर्न लगाएको प्रहरीले जनाएको छ। पीडितले रकम दिन अस्वीकार गरेपछि आरोपितहरूले फोन र सन्देशमार्फत विभिन्न किसिमका धम्की दिएका थिए। यसबाट पीडित मानसिक तथा आर्थिक तनावमा परेको प्रहरीले जनाएको छ। प्राप्त सूचनाका आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको टोलीले पाँचै जनालाई नियन्त्रणमा लिएको हो। काठमाडौँ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेकाहरूविरुद्ध अभद्र व्यवहार गर्न नहुने कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
मुद्दा मिलाइदिने भन्दै दुई लाख माग्ने पाँचजना नक्कली इन्स्पेक्टर पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






