काठमाडौं । नेपालमा बालविवाह अन्त्यका लागि कडा कानुनी व्यवस्था भए पनि बालबालिकालाई नै कसुरदार बनाउने कानुनी प्रावधानमाथि प्रश्न अधिकारकर्मीले प्रश्न उठाएका छन् । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) र इक्वालिटीद्वारा मंगलबार आयोजित बालविवाह सम्बन्धी नीतिगत छलफलमा उक्त विषय उठाइएको हो । बालविवाहमा बालबालिका स्वयं पीडित हुने भए पनि उनीहरूलाई नै अपराधीका रूपमा मुद्दा चलाउने प्रवृत्तिले कानुनी व्यवस्थामै विरोधाभास देखिएको छलफलमा सहभागी कानुनविद्हरूले बताएका छन् । नेपालको संविधानले बालविवाहलाई दण्डनीय मानेको छ भने बालबालिकाको संरक्षण र पीडितलाई क्षतिपूर्तिको हकसमेत सुनिश्चित गरेको छ । तर, व्यवहारमा बालविवाहमा संलग्न बालबालिकालाई नै कसुरदार मानेर मुद्दा चलाउने गरिएको छ । यसले बालबालिकाको हित र संरक्षणको संवैधानिक व्यवस्थामाथि प्रश्न उठेको कानुनविद् सबिन श्रेष्ठले बताए । ‘मुलुकी अपराध संहिताले विवाह गर्ने उमेर २० वर्ष तोकेको छ । २० वर्ष नपुगी विवाह गर्न वा गराउन नपाइने व्यवस्था छ । कानुन उल्लंघन गरी बालविवाह गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । यस व्यवस्थाले विवाह गर्ने व्यक्तिसँगै विवाह गराउनेलाई समेत कानुनी दायरामा ल्याउँछ’ उनले भने । श्रेष्ठका अनुसार बालविवाहसम्बन्धी कानुनमा स्वतः विवाह हुने अवस्थासम्बन्धी व्यवस्था पनि छ । तर, पहिले नै विवाहित रहेको अवस्था, हाडनाताभित्र पर्ने सम्बन्ध तथा विवाहका लागि कानुनले तोकेको उमेर नपुगेको अवस्थामा जन्मिएको सन्तानका आधारमा स्वतः विवाह कायम नहुने अपवादसमेत रहेका छन् । प्रहरीको वार्षिक तथ्याङ्कअनुसार बालविवाहसम्बन्धी मुद्दा दर्ता हुने क्रम घट्दै गएको देखिए पनि देशका विभिन्न जिल्लामा यस्ता घटना अझै भइरहेका छन् । विशेषगरी मधेश र कोशी प्रदेशका विभिन्न क्षेत्रमा बालविवाहका घटना बढी देखिने गरेका छन् । बालविवाहबाट प्रभावित हुनेमा बालिकाको संख्या बढी रहेको तथ्याङ्कले देखाएको छ । बालविवाहमा संलग्न बालबालिकालाई अपराधीका रूपमा भन्दा संरक्षण आवश्यक भएका बालबालिकाका रूपमा हेर्नुपर्ने श्रेष्ठको तर्क छ । बालविवाहसम्बन्धी कानुनलाई परिमार्जन गरी बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा, पुनस्र्थापना र क्षतिपूर्तिको सुनिश्चितता गर्नुपर्ने उनले बताएका छन् । बालविवाह अन्त्यका लागि कानुनी कारबाहीसँगै सामाजिक सचेतना अभिवृद्धि र बालबालिकाको अधिकार संरक्षणमा जोड दिनुपर्ने आवश्यकता देखिएको छ ।
बालविवाहका घटनामा पीडित नै बनिरहेका छन् कसुरदार

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






