काठमाडौं। भाइटीकाको अवसरमा काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिर बुधबार बिहानैदेखि भक्तजनका लागि खुला गरिएको छ। दिदीबहिनी वा दाजुभाइ नहुने व्यक्तिहरूले वर्षमा एकपटक मात्र खुल्ने यस मन्दिरमा पूजा तथा दर्शन गरी टीका लगाउने परम्परा छ। काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार मन्दिर खुला गर्न आवश्यक सम्पूर्ण तयारी पूरा गरिएको थियो। संस्कृतिविद् एवं गुठी संस्थानका अध्यक्ष डा गोविन्द टण्डनका अनुसार विसं २०३५ अघिसम्म रानीपोखरीमा हामफालेर मन्दिर प्रवेश गर्ने समस्याका कारण मन्दिर बन्द गरिन्थ्यो। त्यस समयमा जयवागेश्वरीस्थित खञ्जनेश्वर महादेव मन्दिरमा भक्तजनहरू भेला हुने गर्थे। विसं २०३५ पछि बालगोपालेश्वर मन्दिर नियमित रूपमा खुल्न थालेको हो। विसं २०७२ को भूकम्पले मन्दिर क्षतिग्रस्त भएपछि विसं २०७७ सम्म भक्तजनहरू खञ्जनेश्वर महादेव मन्दिरमा नै पुग्ने गरेका थिए। पुनर्निर्माणपश्चात् विसं २०७७ देखि बालगोपालेश्वर मन्दिर पुनः खुला गरिएको छ। यसैबीच, नेवार समुदायले भाइटीकालाई किजापूजाका रूपमा मनाउँदै आएका छन्। कुल परम्पराअनुसार कतिपयले अघिल्लो दिन र कतिपयले भाइटीकाकै दिन किजापूजा गर्छन्। भक्तपुरका नेवार समुदायले तलेजु मन्दिरका पुजारी र ज्योतिषीको निर्णयअनुसार मंगलबार नै किजापूजा सम्पन्न गरेका छन्।
बालगोपालेश्वर मन्दिरमा भक्तजनको भीड

Read Complete Original Article
Published originally on नेपालन्युज


_Oju6PSYFK0.webp)



