काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागमती र विष्णुमती नदीलाई सफा बनाउँदै काठमाडौँलाई सुरक्षित र बस्नयोग्य सहरका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। ‘काठमाडौँ जलवायु कार्य सप्ताह’लाई आज सम्बोधन गर्दै काठमाडौँ क्षेत्र नं. ८ का सांसदसमेत रहेका मन्त्री श्रेष्ठले नदी संरक्षण, बाढी नियन्त्रण र सहरी पर्यावरण सुधारका लागि सङ्घीय सरकारका तर्फबाट ठोस कार्ययोजना अघि सारिएको जानकारी दिए। जथाभावी कङ्क्रिटका संरचना निर्माण हुँदा खेत, पोखरी र खुला जमिन मासिएको, सहरको तापक्रम बढेको तथा वर्षाको पानी जमिनमा सोसिने ठाउँ घट्दा बाढीको जोखिम बढेको उनले बताए। धुलो र धुवाँका कारण शताब्दीयौँ पुराना मन्दिर तथा सम्पदासमेत प्रभावित भइरहेको उनको भनाइ थियो। जलवायु परिवर्तनले जोखिम थप बढाएको उल्लेख गर्दै श्रेष्ठले छोटो अवधिमै विभिन्न नदी करिडोरमा ठूला ढुङ्गा र गेग्रानसहितको बाढी आउनु, हिमपहिरो जानु र हिमनदी पग्लिनु गम्भीर चेतावनी भएको बताए। पछिल्ला चार वर्षमा लोप हुने अवस्थामा पुगेका पुराना ढुङ्गेधारा (हिटी) र राजकुलो पुनर्जीवित गरी भूमिगत जलभण्डार संरक्षणमा भूमिका खेलेकामा उनले काठमाडौँ महानगरपालिका, कार्यवाहक प्रमुख र वडाध्यक्षहरूको प्रशंसा गरे। मन्त्री श्रेष्ठका अनुसार बाढीको पूर्वसूचना र हिमनदी अनुगमन प्रणाली जडान गर्ने योजना अघि सारिएको छ। बाढी आउनुअघि नै वडा र घरपरिवारले जानकारी पाउने व्यवस्था मिलाउन जल तथा मौसम विज्ञान विभागमार्फत वर्षा मापन, सहरी बाढीको पूर्वानुमान र पूर्वसूचना प्रणालीमा महानगरपालिका तथा अन्य सहरसँग सहकार्य गरिने उनले बताए। नवीन प्रविधिमा युवाको सक्रियताको प्रशंसा गर्दै उनले कक्षा १२ का विद्यार्थीले मोबाइल नेटवर्कबिनै विपद्को सूचना पठाउन सक्ने सञ्चार प्रणाली तयार पारेको उदाहरण दिए। कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका श्रेष्ठले रूखले भरिएका शीतल सडक, १५ मिनेट पैदल हिँडेर पुग्न सकिने ऐतिहासिक टोल र बहाल, चोरी भएका मूर्ति फिर्ता, साइकल लेन तथा चराचुरुङ्गीको चिरबिरसहितको सफा बागमती–विष्णुमती करिडोर निर्माणको परिकल्पना सुनाए। काठमाडौँ वरिपरिका जङ्गल र राष्ट्रिय निकुञ्जको पारिस्थितिक सन्तुलन कायम गर्ने योजनासमेत रहेको उनले बताए। पार्कमा ज्येष्ठ नागरिकले घाम ताप्न, चोकमा बालबालिकाले सुरक्षित रूपमा खेल्न र हरियालीयुक्त आधुनिक व्यावसायिक केन्द्र सञ्चालन गर्न सकिने उल्लेख गर्दै उनले सुन्दर काठमाडौँ निर्माणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए। कार्यक्रममा काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोललगायत सहभागी थिए।
बागमती र विष्णुमती सफा र सुरक्षित बनाउने मन्त्री श्रेष्ठको प्रतिबद्धता

Read Complete Original Article
Published originally on नेपालन्युज




-97693035-7679-4600-b457-b09e4a232298.jpg&w=1200&q=75)

