Friday, October 16, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/बहसमा बेनी बजार : सदरमुकाम सार्ने कि संरक्षण गर्ने ?

बहसमा बेनी बजार : सदरमुकाम सार्ने कि संरक्षण गर्ने ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
बहसमा बेनी बजार : सदरमुकाम सार्ने कि संरक्षण गर्ने ?

म्याग्दी । कालीगण्डकी नदीको कटान र पहिरोको जोखिम बढ्दै गएपछि म्याग्दीको सदरमुकाम बेनी बजारको भविष्यबारे बहस सुरु भएको छ । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री एवं म्याग्दीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य महावीर पुनले जोखिम न्यूनीकरणका लागि बजारको संरक्षण गर्ने वा सदरमुकाम नै सुरक्षित स्थानमा स्थानान्तरण गर्ने विषयमा छलफल गर्न प्रस्ताव गर्नुभएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीमा शुक्रबार (आज) आयोजित जनप्रतिनिधि तथा कार्यालय प्रमुखहरूसँगको छलफलमा मन्त्री पुनले प्राकृतिक विपद्को उच्च जोखिममा रहेका बस्तीको दीर्घकालीन सुरक्षाका लागि वैकल्पिक उपाय खोज्नुपर्ने बताउनुभयो । “अब सदरमुकाम कहाँ सार्ने भनेर छलफल गर्नुपर्‍यो,” उहाँले भन्नुभयो, “प्रोटेक्सन गर्ने कि सार्ने, त्यो छलफल गरौँ।”जोखिमयुक्त स्थानमा संरचना निर्माण र संरक्षणका काम गरे पनि प्राकृतिक विपद्को जोखिम पूर्ण रूपमा हटाउन नसकिने उल्लेख गर्दै उहाँले बेनी बजारको सुरक्षाबारे दीर्घकालीन दृष्टिकोण बनाउनुपर्ने धारणा राख्नुभयो । जोखिम हो की त्रास मात्र ? असोज ८ देखि ११ गतेसम्म परेको निरन्तर वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले बेनी नगरपालिका–८ गणेशटोल क्षेत्रमा निर्माण गरिएको पक्की तटबन्ध भत्काएको छ । त्यस्तै, बेनी बजारको कुनातर्फ रहेको भिरालो पाखामा जमिन चर्किएर पहिरो खस्न थालेपछि बजार क्षेत्रको सुरक्षाबारे चिन्ता बढेको छ । बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नदी कटान र पहिरोबाट भएको क्षतिबारे जानकारी गराउँदै सदरमुकामलाई सुरक्षित राख्न सङ्घीय र प्रदेश सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो । उहाँका अनुसार नदी कटानसँगै भिरालो जमिनमा पहिरो जाने क्रमले जोखिम थपिएको छ । भूगर्भविद्हरूले पनि जोखिमका सङ्केत देखाएको उल्लेख गर्दै उहाँले आगामी वर्षायामअघि नै रोकथामका उपाय अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो । “सदरमुकामको बस्ती र यहाँका बैंक अर्को वर्षायाममा यहाँ नरहने अवस्था आउन नदिन मानसिक र भौतिक रूपमा रोकथाम गर्न सकिने बजेटका लागि माथिल्लो सरकारसँग अपेक्षा राखेका छौँ,” नगरप्रमुख केसीले भन्नुभयो । पुनर्निर्माण र पुनःस्थापनाका लागि सङ्घीय सहयोग मन्त्री पुनले कालीगण्डकी, भोटेकोशी र बुढीगण्डकी नदी बेसिनमा बाढीपहिरोबाट क्षति पुगेका निजी आवास तथा भौतिक संरचनाको पुनर्निर्माण र पुनःस्थापनाका लागि सरकारले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत काम अघि बढाएको जानकारी दिनुभयो । प्रभावित क्षेत्रको वास्तविक अवस्था पहिचान गर्न तथ्याङ्क सङ्कलन र तीनै तहका सरकारबीच समन्वय आवश्यक रहेको उहाँको भनाइ थियो ।“तीनै तहका सरकारको साझेदारी र सहकार्यमा पुनर्निर्माण र पुनःस्थापनाको काम अघि बढाएका छौँ । सङ्घीय सरकारले उपलब्ध स्रोतसाधन परिचालनमा विभेद र कन्जुस्याइँ गर्दैन,” मन्त्री पुनले भन्नुभयो । उहाँका अनुसार पछिल्लो विपद्बाट प्रभावित स्थानीय तहलाई पहिलो चरणमा तीन वर्गमा विभाजन गरी क्रमशः २० लाख, ३० लाख र ४० लाख रुपैयाँका दरले बजेट पठाउने निर्णय भइसकेको छ । बर्खाअघि काम सक्न स्रोत परिचालनमा जोड गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली र हरिबहादुर भण्डारीले विपद् प्रभावित क्षेत्रको पुनर्निर्माण तथा जोखिम न्यूनीकरणका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोगका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँहरूले स्पष्ट कार्ययोजना बनाएर आगामी वर्षायामअघि नै आवश्यक काम सम्पन्न गर्ने गरी स्रोतसाधन परिचालन गर्न सङ्घीय सरकारले अग्रसरता लिनुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी गणेश गैरेले विपद्को समयमा गरिएका पूर्वतयारी, राहत वितरण र उद्धारका गतिविधिबारे जानकारी गराउँदै अब पुनर्निर्माण तथा पुनःस्थापनाका लागि पर्याप्त बजेट जुटाउनु प्रमुख चुनौती बनेको बताउनुभयो । छलफलमा म्याग्दीमा क्रियाशील राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि तथा सरकारी कार्यालयका प्रमुखहरूले हालसम्म भएका काम र आगामी योजनाबारे सुझाव प्रस्तुत गरेका थिए । बाढी र पहिरोको जोखिम बढिरहेका बेला बेनी बजारलाई सुरक्षित बनाउने विषयमा तत्कालीन रोकथामका उपायसँगै दीर्घकालीन रणनीति आवश्यक देखिएको छ । सदरमुकामलाई हालकै स्थानमा संरक्षण गर्ने वा अन्यत्र स्थानान्तरण गर्ने भन्ने विषयमा भने विस्तृत अध्ययन, जोखिमको मूल्याङ्कन र सरोकारवालाबीचको छलफलबाट निर्णय लिनुपर्ने देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

बाढीले सडक र पुल बगाएपछि  स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै
ताजा खबरJust now

बाढीले सडक र पुल बगाएपछि स्थानीय जनश्रमदानबाट काठेपुल निर्माण गरिँदै

रसुवा । बाढीले स्याफ्रुबेँसीको पुल र सडक बगाएपछि यातायात अवरुद्ध हुँदा रसुवाको उत्तरी भेगका स्थानीयवासी जनश्रमदानबाट अस्थायी काठेपुल निर्माणमा जुटेका छन् । आमाछोदिङ्मो गाउँपालिकाका स्थानीयवासी र सुरक्षा निकायको संयुक्त सहभागितामा असोज... ...

रातोपाटी
झापामा चाडपर्व सुरक्षा रणनीति: भीडभाडमा ड्रोनबाट निगरानी गरिने
ताजा खबरJust now

झापामा चाडपर्व सुरक्षा रणनीति: भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा । चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग गरिने भएको छ । जिल्ला सुरक्षा समितिले चाडपर्व लक्षित एकीकृत सुरक्षा योजना सार्वजनिक गर्दै सुरक्षा संवेदनशीलता हेरी मेला, महोत्सव... ...

रातोपाटी
लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक
ताजा खबरJust now

लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ सार्वजनिक

काठमाडौँ । पत्रकार तथा लेखक जनकराज सापकोटाको नयाँ उपन्यास ‘मगनी मरिक’ काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा लोकार्पण गरिएको छ । कार्यक्रममा मधेशको डोम समुदायकी छात्रवृत्तिमा कक्षा १२ मा अध्ययनरत १८ वर्षीया अञ्जु कुमारी मरिक, डा. रामजी राम र स्वयं लेखक सापकोटाले संयुक्त रूपमा पुस्तकको विमोचन गरे । जातीय संरचनाको सबैभन्दा पिँधमा रहेर दैनिक जीवनका अप्ठ्यारा र सङ्घर्षसँग जुधिरहेको ‘मगनी मरिक’ पात्रलाई केन्द्रमा ...

नेपालन्युज
दसैंको मुखमा मुसहरलाई लालपुर्जाको खुसी
ताजा खबरJust now

दसैंको मुखमा मुसहरलाई लालपुर्जाको खुसी

२०५५ सालयता सरकारले विभिन्न चरणमा भूमिहीन र अव्यवस्थित बसोबासी १० हजार १ सय १७ जनालाई लालपुर्जा वितरण गरेको छ, तीमध्ये १ सय ८० जनालाई २०८३ मा लालपुर्जा दिइएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play