दमौली। पर्यटकीय नगरी बन्दीपुर भ्रमणमा आएका १४ जना चिनियाँ पर्यटकले नेपाली भाइटीका लगाएर तिहार मनाएका छन्। बन्दीपुर गाउँपालिका-१ की सिर्जना बरुवाल र विपना छिमालले उनीहरूलाई सप्तरङ्गी टीका र फूलको माला लगाइदिएका हुन्। मङ्गलबार बन्दीपुर आइपुगेका ती पर्यटकले नेपाली चाडपर्व र संस्कृतिबारे चासो राखेपछि स्थानीय बसन्त पौडेलले भाइटीकाको धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्वबारे जानकारी गराएका थिए। टीकाको महत्त्व र विधिबारे बुझेपछि पर्यटकहरूले पनि टीका लगाउने इच्छा व्यक्त गरेका थिए। स्थानीय पौडेलले भने, ‘उहाँहरू बन्दीपुर घुम्न आउनुभएको थियो। नेपालीको भाइटीका पर्वबारे जिज्ञासा राख्नुभयो। त्यसपछि मैले भाइटीकाको महत्त्व र सांस्कृतिक पक्षबारे जानकारी गराएँ। जानकारी पाएपछि उहाँहरूले पनि टीका लगाउने इच्छा देखाउनुभयो। स्थानीय दिदीबहिनीले टीका लगाइदिएपछि उहाँहरू निकै खुसी हुनुभयो।’ नेपाली परम्पराअनुसार टीका र माला लगाएपछि चिनियाँ पर्यटकहरू खुसी देखिएका थिए। उनीहरूले फरक देशको संस्कृति र परम्परालाई नजिकबाट अनुभव गर्न पाएको भन्दै खुसी व्यक्त गरे। स्थानीयवासी पनि पर्यटकलाई नेपाली चाडपर्वको अनुभव गराउन पाउँदा उत्साहित भएका छन्।
बन्दीपुरमा १४ चिनियाँ पर्यटकले मनाए भाइटीका

Read Complete Original Article
Published originally on नेपालन्युज






