काठमाडौं । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका-७ को काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१-००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा केदारस्युँ गाउँपालिका-७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सोही वडाका ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका-६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन् । त्यस्तै, केदारस्युँ गाउँपालिका-७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते भएकी छन् । प्रहरीकाअनुसार बुंगल नगरपालिका-२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो । स्थानीयले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाएका छन् । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, ६ जना घाइते

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






