बझाङ । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ काँडाचौरका २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले जानकारी दिए । दुर्घटनामा केदारस्युँ गाउँपालिका–७ का ४५ वर्षीय प्रेमबहादुर धामी, ३२ वर्षीय रमेश धामी, २६ वर्षीय रमेश धामी, दुर्गाथली गाउँपालिका–६ की ४२ वर्षीया शारदा धामी जाग्री र सोही ठाउँका ४२ वर्षीय रामकुमार धामी गम्भीर घाइते भएका छन् । त्यस्तै, केदारस्युँ गाउँपालिका–७ की २२ वर्षीया रेखा धामी मध्यम घाइते भएकी छन् । घाइतेहरूलाई स्थानीयले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाएका छन् । प्रहरीका अनुसार बुगल नगरपालिका–२ का करिब ३१ वर्षीय मोहन धामीले चलाएको उक्त जिप भित्री सडकखण्डमा ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल खसेको थियो । घटनास्थल पुग्न प्रहरीलाई करिब तीन घण्टा लाग्ने डीएसपी जोराले बताए । उनका अनुसार प्रहरी टोली घटनास्थलतर्फ गइसकेको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।
बझाङमा जिप दुर्घटना : दुई जनाको मृत्यु, पाँच जनाको अवस्था गम्भीर

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






